यसपटक तीन वटा नयाँ क्षेत्र पनि समावेश
बाँके/बर्दियामा ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६’ मा सुरु भएको छ । तथ्याङ्क कार्यालय नेपालगन्जले दुई जिल्लाको गणना सुरु गरेको हो । सरकारले २०२२ बाट औद्योगिक गणना र २०२९ बाट औद्योगिक सर्वेक्षण गर्दै आएको छ । यसअघि १०÷१० बर्षमा औद्योगिक गणना र ५/५ बर्षमा सर्वेक्षण गरिंदै आएपनि यसपटक भने दुवै एकसाथ गरिन लागेको हो ।
यसअघिको भन्दा यसपटकको औद्योगिक सर्वेक्षण तथा गणना फरक रहेको तथ्यांक कार्यालय नेपालगन्जका प्रमुख दानबहादुर ऐरीले बताएका छन् । औद्योगिक क्षेत्रका चारमध्ये थप तीनओटा क्षेत्रलाई पहिलोपटक समावेश गरिएको हो । ‘यसअघि उत्पादन मूलक उद्योगलाई मात्रै गणना गरिन्थ्यो’, उनले भने, ‘यसपटक तीन वटा क्षेत्र थपिएको छ ।’ ऐरीले औद्योगिक वस्तु उत्पादन, खानी तथा उत्खनन्, विद्युत उत्पादन, प्रसारण र वितरण, पानीको आपूर्ति, ढल निकास र फोहर व्यवस्थापन गर्ने सेवामूलक उद्योगहरुको सर्वेक्षण तथा गणना हुने जानकारी दिएका छन् । औद्योगिक क्षेत्रको रूपमा विश्वव्यापी मान्यता पाइसकेका ‘खानी तथा उत्खनन, विद्युत् उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति, ढल निकाबहस, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप’ जस्ता क्षेत्रलाई नेपालले पहिलोपटक औद्योगिक सर्वेक्षणमा समावेश गरेको हो । सर्वेक्षणमा पहिला नसमेटिएका तीन क्षेत्रहरूमा विस्तारै लगानी, रोजगारी सृजना बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान दिन सक्ने सम्भावनामूलक क्षेत्र भएकाले सर्वेक्षणमा समेटिएको हो ।
सर्वेक्षणमा प्रतिष्ठानको नाम, ठेगाना, दर्ता भएको निकाय, प्रतिष्ठान संचालन मिति, प्रतिष्ठानको प्रमुख कार्यहरू, लिंगको आधारमा स्वामित्व, बौद्धिक सम्पत्ति उपयोगको अबस्था, पुँजी लगानीको आकार, प्रतिष्ठानको सांगठानिक ढाँचा, प्रतिष्ठानले सिर्जना गरेको रोजगारी, बिदेशी जनशक्ति उपयोगको अबस्था, जनशक्तिको प्रकृतिको तथ्यांक लिइनेछ ।
इन्धन उपयोग अबस्था कच्चा पदार्थ खरिद तथा उपयोगको अबस्था, उत्पादित बस्तु बिक्री बितरणको अबस्था, कर भुक्तानी बिबरण, स्थायी सम्पत्ति विवरण, अनुसन्धान तथा विकास कार्य, उत्पादन क्षमता उपयोग, वातावरण तथा फोहोर ब्यवस्थापन आदि कुराहरू प्रतिबेदनमा उल्लेख गरिनेछ ।
तथ्यांक कार्यालय नेपालगन्जका प्रमुख ऐरीले साढे दुई महिनाभित्र सर्वेक्षण संकलन लक्ष्य निर्धारण गरेको बताएका छन् । केन्द्रीय तथ्यांक विभागले प्राप्त तथ्यांकहरुको प्रशोधन गरी ६ महिना भित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कार्यालय प्रमुख ऐरीले औद्योगिक गणना तथा सर्वेक्षणबाट आएको तथ्याङ्कले सरकारलाई औद्योगिक नीति निर्माणमा गर्नका लागि सहयोग हुने बताएका छन् । ‘तथ्यांकले उद्योगी, व्यवसायीलाई औद्योगिक क्षेत्रका अवसर र चुनौतीका बारेमा जानकार बनाउन मद्दत पुग्छ’, उनले भने । तथ्यांक ऐन, २०१५ अनुरुप ब्यक्तिगत गोपनियता कायम गरिने बताउँदै ऐरीले ढुक्क भएर सही तथ्यांक उपलब्ध गराएर सहयोग गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् ।
बाँकेमा ३ सय १९ र बर्दियाको १ सय ७३ वटा उद्योगको सर्वेक्षणका लागि विभागबाट सूचि उपलब्ध भएको तथ्यांक कार्यालय प्रमुख ऐरीले बताए । ‘गणनाका लागि ४ जना गणक खटाइएको छ’, उनले भने । तथ्यांक १० वा सो भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको औद्योगिक प्रतिष्ठानको मात्र सर्वेक्षण गर्नेछ । यसअघि भएको आर्थिक गणनाबाट सर्वेक्षणका लागि उद्योगहरु सूचिकृत गरिएको हो ।








