आर्थिक विकासमा टेवा दिने क्षेत्र पहिचान गर्दै नेपालगन्ज


नेपालगन्ज उप–महानगरपालिका क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख क्षेत्रहरु र आर्थिक क्षेत्रका मूल्य श्रृंखलाहरुको पहिचान गरिएको छ । प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण कार्यक्रममार्फत आर्थिक विकासमा टेवा दिने प्रमुख क्षेत्रहरु पहिचान गरिएको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिए ।
विष्लेषणले स्थानीय अर्थव्यवस्था र सम्भाव्यताको लेखाजोखा गर्नुका साथै स्थानीय अर्थव्यवस्थालाई उत्प्रेरित गर्ने क्रियाकलापहरुको पहिचान गर्ने उपमहानगरपालिकाको भनाइ छ । नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको एउटा कार्यक्रममा बुधवार नगर प्रमुख डा. धवल शम्शेर राणाले नेपालगन्जको आर्थिक विकास व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य र पर्यटन खम्बाको रुपमा रहेको बताए ।
‘नेपालगन्जको आर्थिक विकासका लागि सबैभन्दा बढि लाभदायक क्षेत्रको पहिचान गर्न अति आवश्यक छ’, नगर प्रमुख डा. राणाले भने, ‘यसखालका कार्यक्रमले भविष्यको बाटो निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।’
नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा जर्मन सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना अन्तर्गत् पहिलो चरणको कार्य प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण कार्यक्रम सम्बन्धी सूचनामूलक प्रारम्भिक गोष्ठीमा आर्थिक क्षेत्रको पहिचान गरिएको हो । स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुको साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु रहेको छ । यो परियोजना प्रदश ५ का ३ सहित देशका ११ स्थानीय तहमा कार्यान्वयनमा छ ।

कार्यक्रममा उपप्रमुख मगरले प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषणले नेपालगन्जको आर्थिक विकासको स्पष्ट मार्गचित्र कोर्नेमा बिश्वस्त भएको बताइन् ।
स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाका सल्लाहकार क्रिस्टियनले विभिन्न देशहरुको अनुभवको आधारमा स्थानीय स्रोत, साधनको कुशलतापूर्वक परिचालन गर्नका लागि यो विधी महत्वपूर्ण हुने धारणा राखे ।

प्रतिक्रिया

प्रतिक्रिया