हुलाकी सडक निर्माणमा अवरोध

बाँके नरैनापुर गाउँपालिका वडा नं.५ मटेहियामा निर्माण भइरहेको हुलाकी सडक नक्सा विपरीत रहेको भन्दै मंगलवार स्थानीय बासिन्दाले निर्माण कार्यमा अवरोध गरेका छन् ।

स्थानीयबासी बाबुलाल यादवका अनुसार हुलाकी सडक आयोजनाले नक्सामा अधिग्रहण गरेको जग्गामा सडक निर्माण नगरी अन्तै काम थालेपछि अवरोध गरिएको हो । मटेहिया देखि स्थानीय सर्फराजपुर गाउँ सम्म हाल कायम रहेको सडक निजी जग्गामा रहेको र सडकका लागि आयोजनाले छुट्टै खेत अधिग्रहण गरेको विषयमा विवाद उत्पन्न भएपछि सडकमा अवरोध उत्पन्न भएको हो ।

बाँके राप्तीपारिका बासिन्दाहरुका लागि विकासको मुख्य मेरुदण्ड मानिएको हुलाकी सडक एक महिना देखि निर्माण कार्य सुरु भएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईया सम्म ४४.६ किलोमिटर रहेको सडकको मुख्य केन्द्रविन्दु राप्ती सोनारी गाउँ पालिका वडा नं.७ फत्तेपुरबाट कन्स्टूक्सन कम्पनीले पूर्व पश्चिम दुबै तर्फ एकै साथ निर्माण सुरु गरेको हो ।

निर्माण कार्य मटेहिया पुगेपछि प्राविधिक रुपमा गडबडी देखिएपछि स्थानीयहरुले सडक निर्माणमा अवरोध उत्पन्न गरेको बताएका छन् । सडकमा जग्गा अधिग्रहण भएका स्थानीय बासिन्दा युनुस शेषले सरकारले मुआब्जा दिएको स्थानबाट नै सडक लैजानु पर्ने अडान राखे ।

‘नक्सामा एकतिर र सडक अर्कैतिर बनाउन मिल्दैन’, शेषले भने । यसअघि पटक पटक हुलाकी राजमार्ग आयोजनालाई नक्सा सच्याउन अनुरोध र निवेदन गर्दा समेत समस्या समाधान नभएकोले अवरोध गर्नु परेको उनले बताए ।

सडक निर्माण कार्य अवरोध भएपछि हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख सुमन योगस मंगलवार मटेहिया पुगेर स्थलगत रुपमा देखिएको समस्या बारे जानकारी लिएका छन् । ‘समस्या के कसो भएको हो भन्ने विषयमा बुझिएको छ’, उनले भने, ‘स्थानीय जग्गाधनीहरुलाई बुधवार(आज) छलफल गरि निकास खोज्ने हिसाबले बोलाइएको छ ।’
‘नेपालगन्जको पुष्पलाल चोकदेखि सुईया सम्म दुबै तर्फ काम सुरु भएको हो’, प्रमुख सुमनले भने, ‘सरकार संग सम्झौता भएलगत्तै गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीले काम सुरु गरेको हो ।’
‘स्थानीय जग्गाधनीहरुका अनुसार सरकारले सडक निर्माण गर्ने गरी जग्गा अधिग्रहण गरेको मटेहिया ५क र ९क मा विवाद देखिएको हो’, आयोजनाले प्राविधिक विवादको विषयलाई सोही अनुसार सुधार गरि निर्माण कार्य अघि बढाउने जनाएको छ ।

यद्यपि करिब २ सय मिटर सडकमा विवाद देखिएपछि सो क्षेत्रलाई छाडेर अन्य स्थानमा काम भइरहेको निर्माण कम्पनीका ठेकेदार तुलसीराम भण्डारीले भने, विवादको विषय टुंगो लगाउन आयोजना प्रमुखलाई अनुरोध गरिएको
छ ।

२.५ वर्षमा निर्माण सक्ने गरि ठेक्का लिएको निर्माण कम्पनीले अवरोध र विवाद चाँडै समाधान गर्ने पहल थालेको जनाएको छ । अवरोध र विवाद उत्पन्न भएको स्थानमा काम गर्न ढिलाई हुने भएकोले आयोजना प्रमुख आफै उपस्थित भएर समाधानको पहल थालेका हुन् ।
फाल्गुन ४ गते सम्झौता गरेको निर्माण कम्पनीले डोजर र स्क्याभेटर ल्याएर काम थालेको जनाएको छ । फत्तेपुरबाट नेपालगन्ज तर्फ र त्यहाँबाट सुईया दुबै तर्फ एकै पटक काम थालेपछि चाँडै सडक निर्माण हुने स्थानीयहरुले आपेक्षा ब्यक्त गरेका छन् ।

५.५ मिटर कालो पत्रे सहितको सम्झौता गरि पुरानो संरचना भत्काएर नयाँ संरचनाबाट अघि बढ्ने निर्माण कम्पनीको तयारी रहेको भण्डारीले बताए । गुणस्तर र सम्झौता अवधिलाई ध्यानाकर्षणगरि वर्षायाम अघिनै राहत हुने किसिमको काम गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया