आज मंगलबार हरितालिका तिज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तिज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।
तिजको अवसर पारेर नेपालगन्ज, कोहलपुर तथा खजुरामा विभिन्न तिज नृत्य कार्यक्रम हुँदैछन् । नेपालगन्जको कारकाँदो बाइसापमा रहेको राधाकृष्ण मन्दिरमा तिजको अवसरमा तिजको विशेष कार्यक्रम आयोजना हुने मन्दिर व्यवस्थापन समिति सदस्य ऋतु रिजालले बताइन् । ‘तिज कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको छ’, उनले भनिन् । नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर लगायतका विभिन्न धार्मिक स्थलहरुमा तिजको अवसरमा पुजाआजा तथा तिज नृत्यका लागि प्रत्येक बर्ष महिलाहरु भेला हुने गर्दछन् ।
अघिल्लो दिन राति दर खाएकाहरूले तिजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष तिजमा कुनै भीडभाड थिएन । यो बर्ष कोरोनाको त्रास नरहेकाले तिजका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन् ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तिजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ ।