त्यतिबेला युवा युवतिहरु बिच प्रेमपत्र पठाउने चलन हुन्थ्यो महिनौ दिन लाएर उत्तर आउथे अहिले जस्तो एक क्लिकमा च्याटिङ्ग कहाँ हुन्थ्यो र ?
सतिश निरौला
सतिश निरौला
आज बिश्व हुलाक दिवस रहेछ, हुलाक सङ्ग मेरो घनिष्ठता सानो छदा देखिनै हो किनकी मेरो बाल्यकाल र किशोरावस्था मा सूचना र प्रबिधि ले यति ठुलो फड्को मारेको नै थिएन । जागीरे बुबा सङ्ग चिट्ठी पत्र आदानप्रदान हुन्थ्यो भने अन्य आफन्तजनहरुको सन्चोबिसन्चो आदिको खबर लिने माध्यम पनि चिट्ठी पत्र नै थियो।
बुवा को जागिर रुकुम हुँदा चाहिँ मैले आबा सेटमा बसेर सन्देश आदानप्रदान गर्थे कपासबिकास समितिमा रेडियो कक्ष थियो त्यहाभित्र पसेपछि बडा रमाइलो लाग्थ्यो मलाई मैले रेडियो सेट को रिसिभर मा भएको बटन दाबेर मुसिकोट नेपालगन्ज मुसिकोट नेपालगन्ज भनेर बटन छोड्नासाथ उताबाट उत्तर आइहाल्थ्यो नेपालगन्ज मुसिकोट भन्दै त्यो रुकुम को कृषि कार्यलयमा भएको आवासेट बाट धेरै पटक मैले बुवालाइ घर को खबर छोडेको छु अनि त्यहाँ रेडियो अन हुनासाथ देशभर भएका आवाका गफ सुन्न पाइन्थ्यो खुब रमाइलो लाग्थ्यो म घन्टौंसम्म रेडियोकक्षमा हुन्थे। म कक्षा 8 मा पढ्दै गर्दा मलाई टिकट संकलन को रहर लाग्यो उबेला अहिले का केटाकेटी ले पबजी र फ्रीफायर मा रमाएको भन्दा प्रीय सोख थियो मेरो टिकट जम्मा पार्नु एउटा नयाँ टिकट फेला पर्दा यति खुशी हुन्थे कि कुरै नगरौं अझ बिदेशी टिकट फेला पर्नु त मेरालागि अद्भुत नै हुन्थ्यो। त्यतिबेला म दिनभरि पनि फुर्सद हुनासाथ इलाका हुलाक कार्यलय खजुरामा बस्थे चिनेजानेकाको चिठी आएको र छ भने आफै पुर्याइदिएर टिकट लिएर आउथे भने चिनजान नभएका कतिपय हुलाक आएर चिठी बुझ्नेसङ्ग मागेर लिन्थे टिकट भने धेरै पटक हुलाक कर्मचारी ले थाहा नपाउने गरि हुलाक मा आएर थन्किएका चिठी खोजेजस्तो गरेर टिकट निकालेर टाप कसिन्थ्यो।
त्यो २०४९/२०५० सालतिर को कुरा हो। त्यतिबेला पत्रमित्रता अहिले को फेसबुक भन्दा नि तगडा थियो ओहो सम्झिदा नि अच्मै पो लाग्छ, हाम्रो एकनम्बर मा त्यतिबेला मिना मल्ल भन्ने एउटा दिदी थिइन् उनी धेरै फेमस उ बेला पत्रमित्रतामा उनका हजारौं फलोअर्स अर्थात साथी थिए एकैदिन ४००/५०० सय चिठी आउथे खाटभरी चिठी थुपारेर पढ्न भ्याइनभ्याइ हुन्थ्यो उनलाई म गएर खाम बाट चिठी निकाल्न सघाइदिन्थे अनि सबै खाम बटुलेर घर ल्याउथे अनिफेरी पानीमा भिजाउदै खाम बाट टिकट निकल्थे मैले । सायद अहिले को जस्तो ईन्टरनेट को दुनियाँ र सामाजिक संजाल हुन्थे भने त मिना दिदी का लाखौं फलोअर्स हुन्थे होलान् अनि उनी ट्रेन्डिङ्ग्मा पर्थिन होला ।पत्रमित्रता गर्नेहरु मा बाके जिल्ला मै धेरै चिठी आउने सम्भवत उनी पहिलो थिइन। आज हुलाक र चिठी एकादेश का कथा भएका छन् , सरकारी कामकाज का मात्र अत्यावश्यक पत्रहरु हुलाक बाट पठाउने र आउने गर्छन् ।
उ बेला गाउँ मा हुलाकी आउँदा कम्ती खुशी हुन्थेनन मानिसहरु, समाचार र सूचना बोकेर आउने हुलाकीहरु को छुट्टै मान थियो उ बेला । प्राय लाउर गएकाहरुका चिट्ठी आउथे अनि चिठी पढ्न जान्नेको पनि ठुलै पो सम्मान हुन्थ्यो । त्यतिबेला युवा युवतिहरु बिच प्रेमपत्र पठाउने चलन हुन्थ्यो महिनौ दिन लाएर उत्तर आउथे अहिले जस्तो एक क्लिकमा च्याटिङ्ग कहाँ हुन्थ्यो र ? सूचना र प्रबिधिमा आएको क्रान्ति ले अहिले हुलाक अनि चिठिपत्र बेकामे भए, ईन्टरनेट को बिकास र प्रयोग ले अहिले सन्सार लाई एउटै गाउँ अर्थात ग्लोबल भिलेज बनाएको छ तर उबेला चिठिपत्र, हुलाक र हुलाकी सङ्ग को मानिसको सम्बन्ध बेग्लै थिए अहिले को पुस्ता लाई न हुलाक थाहा छ न त हुलाकी नै तर पनि आजभोलि पनि एउटा का कुरा अर्को लाई लगेर सुनाउने लाई हुलाकी वा खबरिलाल भन्ने चलन चाहिँ छ नै, बिश्व हुलाक दिवस को शुभकामना !