२० दिन भित्रै सहरमा ‘ट्राफिक एक्सन’

अनियमित सवारी, फुटपाथ कब्जा, जथाभावी पार्किङ विरुद्ध सचेतना र कारवाहीको तयारी
समाचारदाता
दैनिक नेपालगन्ज

अनियन्त्रित सवारी साधन चलाउने प्रवृति, जथाभावी पार्किंङ, फुटपाथ कब्जा र ओभरलोडमा संलग्न ब्यक्तिहरुलाई बाँके ट्राफिक प्रहरीले आगामी २० दिन पछि सख्त कारवाही अघि बढाउने भएको छ । पटक पटकको प्रयासपछि पनि नेपालगन्जको सवारी, फुटपाथ कब्जा र ओभरलोड ब्यवस्थित हुन नसकेपछि २० दिने सचेतना अभियान पछि सशक्त कारवाही अघि बढाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 
‘नेपालगन्जमा खासगरि ईरिक्सा, ठेला, ट्याक्टर, मोटरसाइकल र फुटपाथ कब्जा गर्ने पसल संचालक कारवाहीको दायरामा आउने भएका छन्’, दैनिक नेपालगन्जसँग कुरा गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायले भने, ‘पुरानो शैलीमा सहरको ब्यवस्थापन सम्भव नभएकोले केहि फरक परिवर्तन गर्ने हिसाबको तयारी छ ।’

 
नेपालगन्ज उपमहानगरपालिका, विभिन्न यातायात ब्यवयासी संगठन, विद्यालय, गैरसरकारी संस्था लगायत संग समन्वकारी भूमिकामा सक्रिय रहेका प्रमुख रोकाय, नेपालगन्जमा ट्राफिक ब्यवस्थापनको अवस्था चुनौती र जोखिमपूर्ण रहेको बताएका छन् । ‘खासगरि अहिले म आफै विभिन्न क्षेत्रको लोकेसन अध्ययनको क्रममा छु’, प्रमुख रोकायले भने, ‘नेपालगन्जमा देखिएको अहिलेको ट्राफिक ब्यवस्थापन कुनैपनि हालतमा सन्तोषजनक छैन ।’

 
‘सहरमा ब्यवसायिक ब्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई अनुरोध गरिएको छ’, रोकायले भने, ‘उपमहानगरपालिकाको सहयोगमा विस्तारै २० दिन भित्र विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तयारीका साथ पहिलो र अन्तिम प्रयास हुँदैछ ।’ त्यसपछि कानून बमोजिम कारवाहीको विकल्प छैन, उनले भने, सहज र सर्वसुलभ तरिकाले सुधारका लागि उपमहानगरपालिकालाई समन्वयकारी भूमिका राखिएको छ ।

 
नेपालगन्ज क्षेत्रमा यसअघि पनि जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले संयुक्त रुपमा कारवाही गरि फुटपाथ कब्जा नियन्त्रण र कारवाही गर्दै आएको छ । कारवाही गरेको स्थानमा दोस्रो दिन नै पुनः कब्जा भेटिएपछि उपमहानगरपालिका निरीक्षण शाखा कर्मचारीको मिलोमतोमा सहरमा अतिक्रमण हुने गरेको तथ्यलाई प्रहरीले ठम्याएको थियो ।

 
‘कारवाही मात्रै समाधान होइन, अवैध र कानून विपरीत काम गरिरहेका ब्यक्तिहरुलाई कानून बमोजिम काम गर्न आग्रह गर्नु प्राथमिकताको विषय हो’, प्रमुख रोकायले भने, ‘त्यसपछि पनि सुधार भएन भने कानून अनुसार कारवाही अन्तिम विकल्प हो ।’ नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न संचार माध्यमबाट ट्राफिक ब्यवस्थापन सम्बन्धी सचेतना बारे सूचना प्रवाह गर्ने, ट्राफिक प्रहरीले विद्यालय लगायत सार्वजनिक स्थलमा सचेतना मूलक कार्यक्रम गर्ने सहितको योजना २० दिन भित्र संचालन हुनेछन् ।

सचेतना कार्यक्रमबाट सुधारको अपेक्षा उत्पन्न भएको खण्डमा सोही अनुसार हुनेगरि ट्राफिक प्रहरीले नेपालगन्जको अस्तब्यस्ततालाई सुधार गर्न पहल चाल्ने तयारी गरिरहेको छ । ट्राफिक प्रहरीले नेपालगन्जको गनापुर चोक, भुजईगाउँ चोक र संघीय प्रहरी इकाई कार्यालय अगाडीको चोकलाई दुर्घटनाको हिसाबले संवेदनशील स्थानको रुपमा तोकेको छ ।
त्यसैगरि यातायात ब्यवस्था कार्यालय भेरीमा दर्ताका लागि आवेदन दिएका ७५० ईरिक्सालाई कानूनी रुपमा निकास दिन ट्राफिक प्रहरीले उत्तिकै सक्रियता देखाएको छ । ‘नेपालगन्जको कतिपय सडक वन वे गर्नु पर्ने देखियो’, नेपालगन्जको ट्राफिक ब्यवस्थापन बारे चिन्ता ब्यक्त गर्दै प्रमुख रोकायले भने, ‘आम नागरिकको भूमिका ट्राफिक ब्यवस्थापनमा उत्तिकै आवश्यक छ ।’

 
‘यो २० दिनका दौरान ट्राफिक प्रहरीले पैदल यात्री समेतलाई नियम बमोजिम सडकमा हिड्ने तरिका सिकाउने छ’, रोकायले भने, ‘त्यसपछि कुनै खालको गुनासोको स्थान रहँदैन ।’ नेपालगन्जको सहर र त्यसमा देखिएका अवस्थाको अध्ययनमा सक्रिय रहेका ट्राफिक प्रमुख रोकायलाई त्रिभुवन चोक सदरलाइन लगायतको क्षेत्र ब्यवस्थापकीय हिसाबले चुनौतीपूर्ण देखा परेको छ ।

 
‘मुख्य ट्राफिक हुने स्थानका लागि फरक किसिमले रणनीति बनाएर ट्राफिक प्रहरीले काम गर्नेछ’, रोकायले भने, ‘अहिले हामी समस्याग्रस्त क्षेत्रको पहिचानको सिलसिलामा अघि बढिरहेका छौं ।’ ग्रामीण क्षेत्रबाट सहरमा जोडिएका नाकाहरुलाई मुख्य प्राथमिकतामा राखेर काम अघि बढाउने योजना अनुरुप ट्राफिक प्रहरीले अहिले नेपालगन्ज र आसपास क्षेत्रमा हुने समस्या पहिचानको सिलसिला सुरु गरेको छ ।

 
ट्राफिक प्रहरीले दुर्घटनाहरुलाई अध्ययन गर्दै नयाँ योजनाका साथ ट्राफिक ब्यवस्थापनमा सक्रियता अघि बढाएको हो । ट्राफिक प्रहरीका अनुसार, साउन २०७४ देखि बैशाख २०७५ सम्म २८ वटा बस दुर्घटना, २१ ट्रक, २६ वटा जिप कार, ११० मोटरसाइकल, ३ टेम्पु दुर्घटनामा परेको तथ्यांक छ ।

प्रतिक्रिया

प्रतिक्रिया