राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठक दिउँसो करिब सवा ४ बजेबाट प्रारम्भ भएको हो।
बैठकमा सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल भइरहेको छ।
मुख्य रूपमा केन्द्रीय पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधानमा आवश्यक संशोधनका विषयमा गम्भीर छलफल हुने सह–महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार बैठक संगठन सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारमा केन्द्रित छ। साथै, हालै सार्वजनिक भएका केही विषयहरूबारे पनि बैठकमा छलफल हुने भएको छ।
विशेषगरी पार्टीका सांसद तथा गृहमन्त्री सुधन गुरुङको व्यापारी दीपक भट्टसँग सेयर लगानी रहेको भन्ने विषय उठेपछि त्यसबारे पनि स्पष्टता खोजिने बताइएको छ।
“प्रश्न उठेपछि पार्टीले त्यसको जवाफ दिनुपर्छ। गृहमन्त्रीसँग सम्बन्धित विषयमा के कति सत्य हो भन्नेबारे केन्द्रीय समितिमा छलफल हुनेछ,” आचार्यले भने।
यसअघि आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गर्ने, समानुपातिक सांसदहरूको जिम्मेवारी तोक्ने तथा प्रवास विभाग प्रमुखमा सचिवालय सदस्य दीपक बोहरालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो।




