साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंकले घटेर २८२५ अंकमा झरेको छ। कारोबार सुरु भएको केवल ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन आजको उच्चतम विन्दु रह्यो।
अघिल्लो कारोबार दिन नेप्से ५ अंकले बढेको थियो भने आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आज यो घटेर ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो। आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घट्यो र ६ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेको छ भने अन्य सबै समूहका सूचकहरू घटेका छन्। बैंकिङ समूह ०.८४ प्रतिशत, विकास बैंक ०.१६ प्रतिशत र फाइनान्स समूह ०.७० प्रतिशतले घटेका छन्।
त्यस्तै, हाइड्रोपावर ०.२३ प्रतिशत, लगानी ०.८४ प्रतिशत, जीवन बीमा ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत, माइक्रोफाइनान्स ०.४९ प्रतिशत, निर्जीवन बीमा ०.११ प्रतिशत, अन्य ०.४० प्रतिशत र व्यापार समूह ०.३३ प्रतिशतले घटेका छन्। घटेका सबै समूहगत सूचकहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
आजदेखि कम्पनीहरूको सेयर मूल्य अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था लागू भएसँगै ४ कम्पनीहरूको मूल्य १५ प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेका छन्।
यसैगरी, झापा इनर्जीको सेयर मूल्य ११.८८ प्रतिशत, रिजलाइन इनर्जीको १०.९९ प्रतिशत र सुपर खुदी हाइड्रोपावरको ५.३५ प्रतिशतले बढेको छ। उता, दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले घट्दा एसियन हाइड्रोपावरको मूल्य ४.५० प्रतिशतले घटेको छ।
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।




