महिला तथा बालबालिकालाई विशेष लक्षित गरि नेपालगन्जमा शुक्रवारदेखि आइसोलेसन केन्द्र संचालनमा ल्याइएको छ । बाँके जिल्ला संकट ब्यवस्थापन समितिले २५ बेडको आइसोलेसन केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नेपाल औद्योगिक विकास निगमको भवनमा सञ्चालनमा ल्याइएको हो । बाँके जिल्ला संकट ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा ल्याइएको जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, सेना तथा प्रहरीका उच्च अधिकारीहरुले शुक्रवार केन्द्रको अनुगमन गरि आवश्यक जानकारी लिएका थिए ।
महिला तथा बालबालिकामैत्री आइसोलेसन केन्द्र बनाउन खोजिएको हो, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, बाँके जिल्ला संकट ब्यवस्थापन समितिको मातहत रहने गरी प्रदेश ५ मै पहिलोपटक यस्तो खालको आइसोलेसन केन्द्र संचालनमा ल्याइएको हो । केन्द्रमा अन कल डाक्टर, स्वास्थ्यकर्मी, ल्याव सेवा, वाईफाई, टेलिभिजन, योगा लगायतको सुविधाको व्यवस्था गरिंदैछ ।












