साइबर अपराधबारे विद्यार्थी र शिक्षकलाई सचेतना

बढ्दो साइबर अपराधबाट बालबालिकादेखिनै सचेतना आवश्यक भएको भन्दै नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ ले पहल थालेको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा उक्त वडाले विद्यालयमा अध्ययनरत विद्यार्थी मार्फत साइबर अपराध न्यूनीकरण पहल लिएको हो ।


त्यसका लागि सूचना प्रविधि क्षेत्रमा क्रियाशील डटवक्र्स टेक्नोलोजीजसँग सहकार्य गरेको नेपालगन्ज –१८ मा बुधवार ‘साइबर अपराध सचेतना’ कार्यक्रम गरिएको छ ।

‘नेपालगन्जका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम गरिएको हो,’ यसखालको कार्यक्रम नगरभरि सञ्चालन गर्न नगर प्रमुख र अन्य वडासँग सरोकार राखिने जानकारी दिंदै वडाध्यक्ष दिपककुमार वर्माले भने ।


शिक्षकमार्फत विद्यार्थी र उनीहरुमार्फत अभिभावक हुँदै समुदायसम्म साइबर अपराधबारे सचेतना फैलाउने आफ्नो उद्देश्य रहेको वडाध्यक्ष बर्माको भनाइ छ । ‘यसरी जाँदा समाजमा साइबर अपराध न्यूनीकरण गर्न सकिन्छ भन्ने अपेक्षा हो,’ वडाध्यक्ष बर्माले भने ।


साइबर अपराध सचेतनाको उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले इन्टरनेटको प्रयोगका हिसाबले पनि युवाहरु बढि देखिएको भन्दै साइबर अपराध नियन्त्रणका लागि युवाको महत्वपूर्ण भूमिका रहने बताए । ‘सचेतनाका लागि वडाले गरेको यो पहल सबैतिर पुग्नुपर्ने देखिन्छ,’ प्रजिअ आचार्यले साइबर अपराध न्यूनीकरणमा सचेतनानै मुख्य पक्ष रहेको धारणा राख्दै भने ।


बाँके प्रहरी प्रमुख, सन्तोषसिंह राठौरले आफ्ना सन्तानका काममा निगरानी गर्न अभिभावकलाई सुझाव दिए । ‘सामाजिक सञ्जालमा छोराछोरी रमाउन थालेका छन् भने निगरानी गर,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख राठौरले कार्यक्रममा भने, ‘अपराधको कानुनी उपचार भन्दा सचेतनानै महत्वपूर्ण हुन्छ ।’

प्रहरी उपरीक्षक राठौरले ब्यक्तिहरु अञ्जानवस वा जानकारीको अभावमा पनि साइबर अपराधमा फँसेको भन्दै न्यूनीकरणमा प्रहरीले सबैको साथ र सहयोग खोजेको बताए ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को सहयोगमा डटवक्र्स टेक्नोलोजीज नेपालगन्जले विद्यार्थी बालबालिका लक्षित साइबर अपराध सचेतना कार्यक्रममा आयोजना गरेको हो ।

मीडीया पार्टनर दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले सहजीकरण गरेको कार्यक्रममा आयोजक डटवक्र्सका प्रबन्ध निर्देशक इन्जिनियर अर्शद कमल सिद्दीकी र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नरेश विकले सूचना प्रविधिको विकासक्रमदेखि साइबर अपराधसम्मका घटनाक्रमको विश्लेषण गर्दै न्यूनीकरणका लागि अपनाउनुपर्ने सचेतनाबारे प्रस्तुतिकरण गरेका थिए ।

‘तपाई आफ्ना बाबुआमालाई सामाजिक सञ्जालको पासवर्ड दिनुस्,’ प्रहरी निरीक्षक बिकले प्रस्तुतिका क्रममा विद्यार्थीहरुसँग भने, ‘अरु कसैलाई आफ्नो पासवर्ड नदिनुस् ।’ अभिभावकले पनि आफ्ना सन्तानका साइबर गतिविधिलाई निगरानी गर्न उनले सुझाव दिए ।


इन्जिनियर सिद्दीकीले सूचना प्रविधिमा पहुँचको अवस्था, बढ्दो साइबर अपराधबाट जोगिन अपनाउनुपर्ने सजगता, साइबर अपराध रोकथामका उपाय लगायतका तमाम विषयमा आफ्नो प्राविधिक प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया