शुक्रवार देखि परेको अविरल वर्षा र राप्तीनदी सहित विभिन्न स्थानीय खोलामा आएको बाढी पछि बाँके नरैनापुरका दर्जन बढि गाउँ डुबानमा परेका छन् ।

नरैनापुर गाँउपालिका वडा नं.६ को शोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजपुर, वडा नं.५ को भगवानपुर, नेवाजी गाउँ, मटेहियाको दक्षिणी किनारका घरहरु राप्तीको बाढीका कारण डुबानमा परेको नरैनापुर उपशाखाका सभापति विक्रम बर्माले बताएका छन् ।
गाउँको चारै तर्फ बाढीको पानी जमेकोले एकगाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन, दैनिक नेपालगन्ज संग कुरा गर्दै सभापति बर्माले भने, अझै निरन्तर पानी परिरहेकोले बाढीको सतह कम नभए सम्म यकिन विवरण लिन सक्ने अवस्था छैन ।
यद्यपि उद्दार र राहत कार्यका लागि रेडक्रस उपशाखा नरैनापुर युनिट तयारी अवस्थामा रहेको जानकारी दिँदै बर्माले भने, बाढीको अवस्थाका कारण घरमा भएको क्षति विवरण संकलन कार्य अघि बढ्न सकेको छैन ।
वर्षापछि खहरे खोलामा आएको बाढीका कारण नरैनापुर वडा नं.१ महतिनिया, बनियागाउँ, कटकुईंया, नरैनापुर २ रोशनपुरवा, गंगापुर, लक्ष्मणपुर, वडा नं.३ को बालापुर, कोटिया, बहाउपुरवा, रेतैहा, जनतापुर, वडा नं.४ को घोडदौरिया, नौसहरा, नरैनापुर लगायत गाउँमा समेत डुबान भएको विपद ब्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्राले बताए ।
नरैनापुरका अधिकाँश गाउँमा जलभरावको अवस्था छ, दैनिक नेपालगन्जसंग कुरागर्दै ईलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले भने, यद्यपि हामी निरन्तर निगरानी गरिरहेका छौं । जोखिमयुक्त बस्तीको हरेक स्थानमा प्रहरी निगरानी बढाएका छौं, उनले भने, अझै सम्म कुनै मानवीय क्षति हुन पाएको छैन ।
जोखिमयुक्त स्थानहरुमा सशस्त्र प्रहरीले समेत अनुगमन बढाएको छ । बिओपी गंगापुर, नरैनापुर र कटकुईंया बाढी प्रभावित क्षेत्रमा संभावित अवस्थाका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
नरैनापुरमा शुक्रवार देखि निरन्तर बर्षा जारी रहेको छ । अहिले राप्तीनदीको सतह घट्नथाले पनि निरन्तर वर्षाका कारण पुनः बाढी आउन सक्ने जोखिम कायम रहेको मौसम विज्ञान विभागले जनाएको समाचार दैनिक नेपालगन्जमा प्रकाशित छ ।