भक्तपुरको मनोहरा क्षेत्रस्थित सुकुमवासी बस्ती हटाउन डोजरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।
हिजो बस्ती भत्काउने प्रयासका क्रममा स्थानीयवासीको विरोधपछि स्थिति तनावपूर्ण बनेको थियो। सो क्रममा ढुंगामुढा हुँदा केही सुरक्षाकर्मी घाइते भएका थिए। त्यसपछि डोजरसहितको टोली अस्थायी रूपमा फर्किएको थियो।
आज बिहान भने सोही टोली पुनः मनोहरा क्षेत्रमा पुगेको छ। अहिले बस्ती वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसअघि शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँका सुकुमवासी बस्तीमा पनि डोजर प्रयोग गरी हटाउने कार्य गरेको थियो। मनोहरा क्षेत्रको बस्ती हटाउने प्रक्रिया पनि सोही निरन्तरता अन्तर्गत अघि बढाइएको हो।


