इटहरीमा ६० हजारभन्दा बढी लागुऔषध ट्याब्लेटसहित एक जना पक्राउ

सुनसरीको इटहरीमा ठूलो मात्रामा लागुऔषधसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–११ बाट २९ वर्षीय मोहमद सहनेवाजलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनी सोही स्थानस्थित शारदा बिकको घरमा डेरा गरी बस्दै आएको खुलेको छ। उनी भारतको बिहार राज्य, नरपतगञ्जका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा सहनेवाजको कोठामा छापा मार्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो। उनको कोठाबाट ट्रामाडोलका ५० हजार ५४० क्याप्सुल र डाइक्लोमिनका ९ हजार ५ सय ट्याब्लेट बरामद गरिएको छ। बरामद भएको कुल लागुऔषधको संख्या ६० हजार ६० ट्याब्लेट तथा क्याप्सुल रहेको प्रहरीले पुष्टि गरेको छ।

यस घटनालाई हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामदमध्ये एक मानिएको छ। प्रहरीले उक्त लागुऔषध कहाँबाट ल्याइएको हो, कसलाई आपूर्ति गरिँदै थियो र यसको नेटवर्क कति ठूलो छ भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु गरेको छ।

पक्राउ परेका सहनेवाजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। उनलाई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

प्रहरीले यस्ता अवैध कारोबार नियन्त्रणका लागि नियमित निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

प्रतिक्रिया