गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुस (बर्रा)को आक्रमणबाट १० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीयका अनुसार दुई दिनको अवधिमा सो संख्यामा व्यक्तिहरू आक्रान्त भएका हुन्।
घाइतेमध्ये केही प्रदेश अस्पताल गोरखामा उपचाररत छन् भने केही उपचारपछि घर फर्किएका छन्। स्थानीय कुमार अम्गाईका अनुसार तेह्रकिलो–छेवेटार सडकखण्डमा हिँड्नेहरूलाई सिंगुसले समूहमा आक्रमण गर्ने गरेको छ। विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकहरू बढी प्रभावित भएका छन्।
लगातारको आक्रमणपछि उक्त क्षेत्रमा त्रासको वातावरण बनेको छ। सिंगुसको गोलो पहिचान हुन नसकेको र नियन्त्रणका लागि प्रहरी तथा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ। समस्या समाधानका लागि उनीहरूले वन कार्यालय र प्रशासनसँग हस्तक्षेपको माग गरेका छन्।


