सरकारले हवाई क्षेत्रका प्रमुख संस्थाहरूमा नेतृत्व चयन प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने निर्णय गरेको छ। यसअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका कार्यकारी तहका पदहरू खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ (१) बमोजिम प्राधिकरणको कार्य सञ्चालनका लागि पहिलोपटक खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। यसअघि प्राधिकरणको नेतृत्व राजनीतिक निर्णय तथा सहमतिका आधारमा चयन हुँदै आएको थियो। यसपटक भने योग्यता, क्षमता र अनुभवलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक विधिबाट नियुक्ति गरिने मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार प्रतिस्पर्धाका सबै चरण पारदर्शी र निष्पक्ष हुनेछन्। सरकारी सेवा वा प्राधिकरणमा कार्यरत योग्य उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव लगायतका मापदण्डका आधारमा छनोट प्रक्रिया अघि बढाइएको छ। हाल प्राधिकरण विगत पाँच महिनादेखि महानिर्देशकविहीन अवस्थामा रहेको छ।
त्यसैगरी, मन्त्रालयले नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य पदहरू पनि खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने निर्णय गरेको छ। नेपाल वायुसेवा निगम ऐन, २०१९ अनुसार हाल रिक्त रहेका तीन पद र आगामी छ महिनाभित्र रिक्त हुने एक पद गरी कुल चार सदस्य खुला प्रतिस्पर्धामार्फत नियुक्त गरिनेछ।


