बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेपछि त्यसको तटीय वस्ती जोखिममा परेको छ ।
निरन्तर पानी परेपछि राप्ती नदीको सतह बढेको । शनिवार अपरान्हको रेकर्ड अनुसार, पानीको सतह ७.९० मिटर पुगेको छ । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले डुबानको जोखिम बढेकाले उद्दारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।
ईलाका प्रहरी कार्यालय कुसुमका ईन्चार्ज दोर्णबहादुर खड्काले राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्याएको जानकारी दिए ।
आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताएका छन् । उनी भन्छन्, नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता नगर्न आग्रह गरिएको छ ।
राप्ती नदीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गंगापुर, कुदरबेटवा, सोनबर्षा लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका केही घरमा राप्तीको पानी पसेको बताइएको छ ।
त्यसैबीच, दाङको लमहीको वडा नंं. ७ हस्नापुरमा राप्ती नदीमा आएको बाढीले एक जनालाई बेपत्ता बनाएको छ । सोही बाढीमा फसेका अन्य दुई जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको जनाइएको छ ।
शनिवार बिहान लमहीमा दुध बिक्री गर्न गएका राजपुर गाउँपालिका–२ का १८ वर्षीय राजकुमार यादवलाई घर फर्किने क्रममा राप्ती नदीको बाढीले बेपत्ता बनाएको दाङ प्रहरीले जानकारी दिएको छ ।