एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो । आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ ।

खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैँ घन्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताउनुभयो । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पू्रा भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको रु ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको रु ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ ।

ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया