नेपाल भारतसँग १३२ रनले पराजित

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले ५३ बलमा दुई चौकासहित ३३ रन बनाए भने दुर्गेश गुप्ताले अविजित २९ बनाए ।

साथै ओपनरद्वय अर्जुन कुमालले २६ र दीपक बोहोराले २२ रन बनाए भने आकाश चन्दले १८ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।

भारतको जीतमा सौम्य पाण्डेले चार र असरिन कुलकर्णीले दुई विकेट लिए । साथै राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकले एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनाएको थियो । उसका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए ।

उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे । —rssnews

प्रतिक्रिया

प्रतिक्रिया