राजीनामा माग्दै नेपालगन्जमा पुत्ला दहन
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाईमा नेपालगन्जको त्रिभुवन चोकमा विहीवार गरिएको प्रदर्शनमा मन्त्री किरातीको पुत्ला दहन समेत गरिएको थियो ।
राप्रपाले देशभर विरोध जनाएको बताइएको छ । मन्त्री किरातीले बुधबार दिएको अभिव्यक्तिले एउटा धर्मलाई मात्र प्रोत्साहन गरेको भन्दै आपत्ति जनाएको राप्रपाका कार्यकर्ताले मन्त्री किरातीका अभिव्यक्तिप्रति कडा शब्दले विरोध जनाएका छन् ।
मन्त्री किरातीले बुधबार क्रिसमस फेस्टिभलमा बोल्दै ‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्तिले अन्य धर्म मान्नेहरुको अपमान भएको तर्क गर्दै राप्रपाले आपत्ति जनाएको हो ।
मन्त्रीको त्यो भनाइले एउटा धर्मलाई प्रोत्साहन भएको तर्क गर्दै राप्रपाले सनातन धर्म र अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने जिकिर गरेको छ । विरोध प्रदर्शनपछिको सभामा राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, युवा नेता हुकुम केसी लगायतले बोलेका थिए ।
विहीवारनै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरि मन्त्रीको भनाइ गैरसंवैधानिक, सामाजिक सद्भाव विथोल्ने, असहिष्णु र विभाजनकारी भएको बताएका छन् ।
श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन, त्यसर्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ ।’
मन्त्री किरातीलाई पदबाट बर्खास्त गर्न माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन गरिएका छन् ।