जथाभावी फोहर फाल्दै हो ? १५ हजार जरिवाना तिरिएला नि !

नेपालगन्जका सडकमा जथाभावी फोहोर फालेमा अब १५ हजार रुपिया तत्काललै जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने नगर प्रमुख प्रशान्त विष्टले बताएका हुन् ।


नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको छ । त्यसका लागि नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ ।


जिल्ला प्रशासन, वडा अध्यक्षहरु, होटल व्यवसायी, सरसफाई अभियन्ता, नगर प्रहरीसहित बुधवारदेखि सडकमै उत्रिएर नेपालगन्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको हो ।


नगर प्रमुख विष्टका अनुसार, पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पतरु होटलसम्म सचेतना अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ । घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो ।


‘नगरबासीलाई सचेत बनाउन हिंडेका छौं, पटक पटक यो कुरा भन्दै आएका छौं, अब यो अन्तिम पटक हो, अबदेखि जथाभावी फोहोर फालेमा कारबाही गर्छौं, हाम्रो ऐन अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ,’ नगर प्रमुख विष्टले भने ।


अटेर गरे पसल व्यवसाय समेत बन्द गरिदिने चेतावनी दिइएको छ । पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएपछि नेपालगन्ज उपमहानगरपालिकाले ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको हो ।


नगरबासी आफैं सचेत र जागरुक हुनुपर्नेमा पटक पटक भनिरहँदा पनि जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि सचेतनासंगै कारबाहीको नीति अख्तियार गर्नुपरेको नगर प्रमुख विष्टको भनाइ छ ।


घरदैलोमा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताए ।


उपमहानगरपालिका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले पहिलो चरणमा नमूनाको रुपमा चारबाहिनीदेखि कल्पतरुलाई रोजिए पनि नगरभरि नै अभियान सञ्चालन गरिने बताएका छन् । ‘अब पनि अटेर गरे कारबाहीको दायरामा ल्याउँछौं,’ डिसीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया