दुर्घटना न्यूनिकरण गर्न ‘रिफ्लेक्टर’ टाँस्दै बाँके ट्राफिक

दुर्घटना न्यूनिकरणका लागि बाँकेमा ट्राफिक सचेतनाका विभिन्न पहल र प्रयास थालिएका छन् । त्यसक्रममा मंगलवार नेपालगन्जको धम्बोझी चोकमा सवारी साधनहरुमा ‘रिफ्लेक्टर’ टाँस गरिएको छ ।


‘जाडोयामको सुरुवातसंगै बाक्लो हुस्सुले अगाडी नदेखिने समस्याको समाधानका लागि यसखालको प्रयास गरिएको हो,’ सवारी साधनको व्याक लाइट नहुँदा हुने सवारी दुर्घटना जोखिम न्युनिकरणका लागि पनि ‘रिफ्लेक्टर’ले सहयोग पुग्ने जानकारी दिंदै जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दैनिक नेपालगन्जसँग भने ।


जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अटो रिक्सा, ट्याक्टर, साइकल, तथा रातको समयमा स्पष्ट नदेखिनेखालका विभिन्न तीनसय साधनहरुमा रिफ्लेक्टर टाँस गरिएको थियो ।


‘नम्बर प्लेट अस्पष्ट भएका सवारी साधनको सोही स्थानमा २५ वटा सवारी साधनको नम्वर लेखाई सुधार गरी जनचेतनामुलक कार्यक्रम गरिएकोे छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक सुवेदीले भने ।


अभियानका रुपमा शुभारम्भ गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान कार्यालयका बाँकेका उप–अनुसन्धान निर्देशक मोहन कुँवर लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।


जिल्ला ट्राफिकले भदौ यतामात्रै ३५ हजारबढी नागरिकलाई ट्राफिक सचेतनामा सहभागी गराउँदै विभिन्न गतिविधि गरेको छ । ‘आजको अभियानपनि यसैको निरन्तरता हो,’ ट्राफिक प्रहरी निरीक्षक सुवेदी भन्छन्, ‘दण्ड सजाय र सचेतनालाई सँगसँगै अगाडी बढाएका छौं ।’


चालु आर्थिक वर्षयता बाँकेमा ट्राफिक नियमको उल्लंघन गर्दै चलेका ११ हजार ८६८ सवारीसाधनलाई कारबाही गरिएको तथ्यांक दिइएको छ ।

‘ठाउँठाउँमा स्पीड कन्ट्रोल मेकानिजम बनाइएका छन्,’ जेब्रा क्रसिङका लागि गरिएका प्रयास समेतले सार्थकता पाइरहेको जानकारी दिंदै जिल्ला ट्राफिक प्रमुख सुवेदीले लामो दूरीका सवारी साधनमा अनिवार्य राख्नुपर्ने दुई चालकको व्यवस्थालाई बाध्यात्मक गरिएको बताए । ‘अटेरी गर्ने ७७ गाडी कारबाहीमा परेका छन्,’ सुवेदीले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया