‘टूर प्याकेज’ बनाउन व्यवसायीको क्षमता अभिवृद्धि

सजल गैरे

आकर्षक गन्तव्य पहिचान गरि ‘टूर प्याकेज’ बनाउन अग्रसर नेपाल एशोसियसशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले व्यवसायीहरुलाई त्यसका लागि क्षमता अभिवृद्धि गरेको छ ।

पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पुर्याउने उद्देश्यले पाँच दिनसम्म व्यवसायीका प्रतिनिधिहरुलाई ‘डिजिटल क्यापसिटी विल्डिङ ट्रेनिङ’ सञ्चालन गरिएको हो । ‘धेरै हदसम्म यसले हामीलाई व्यवसायिक बनाउन सहयोग पुर्याएको छ,’ तालिम समापनपछि नाट्टा बाँकेका सचिव भागीराम ओलीले दैनिक नेपालगन्जसँग भने ।

बाँकेका होटल, पर्यटन क्षेत्रका प्रतिनिधिहरुलाई जीविकोपार्जन पूनरुत्थानको लागि दिगो पर्यटन परियोजना अन्तर्गत आइतबार प्रशिक्षित गराइएको हो ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार, युएनडिपी, नेपाल पर्यटन बोर्डको सहयोग सञ्चालित तालिमका सहभागीहरुले तालिम अवधिमा आफनो व्यवसायिक योजनालाई सफल बनाउन प्राविधिक रुपमा चाहिने क्षमता अभिवृद्धि गर्न सफल भएका छन् । ‘तालिमले पश्चिम नेपालको पर्यटन प्रर्वद्धन गर्नको लागि नयाँ योजना बनाउन सहयोगी बन्नेमा आशावादी छौं,’ उनले भने ।

तालिमको समापन गर्दै नाट्टा केन्द्रीय सचिव, तालिम संयोजक युविका भण्डारीले प्रविधिले पर्यटन क्षेत्रको विकास र व्यवसाय बढाउन सहयोग गर्ने बताइन् । नेपाल पर्यटन व्यवसायमा विश्वमै सम्भावना बोकेको मुलुक भएपनि सिमित क्षेत्रमा मात्र ध्यान दिएकाले अपेक्षित उपलब्धी लिन नसकेको तालिम संयोजक भण्डारीले बताइन् । उनले पाँच दिनसम्म प्रशिक्षणको सहजीकरण गरेकी हुन् ।

बुधवार तालिम समापन कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, होटल एशोसियसन अफ नेपाल (हान) बाँके अध्यक्ष दिवाकर खनाल, होटल व्यवसाय संघ बाँके नेपालगन्जका अध्यक्ष रंग बहादुर खड्का, पर्यटन प्रर्वद्धन मञ्च बाँके अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नाट्टा बाँकेका उपाध्यक्ष डिल्लीराज रेग्मीलगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया