नेपालगन्जमा करोडबढी लागतको बन्दै ‘ पम्प ट्रयाक’

नेपालगन्जमा दक्षिण एसियाकै ठूलो ‘पम्प ट्रयाक’ बनाइने भएको छ । त्यसका लागि बाँके जिल्ला साइक्लिङ संघले पहल थालेको हो । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा जग्गाको टुंगो लागिसकेको छ ।


‘योजना अनुसार काम अगाडी बढ्यो भने अबको एक महिना भित्र नेपालगन्जमा पम्प ट्रयाक बनिसक्ने छ,’ बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगनसिंह थापाले दैनिक नेपालगन्जसँग भने, ‘स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पीस परियोजना अन्तर्गत नेपालमा दोस्रो पम्प ट्रयाक नेपालगन्जमा बनाउन लागेको हो ।’


स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौं र बाँके जिल्ला साइक्लिङ संघले आपसमा त्रिपक्षीय सम्झौता गरी नेपालगन्जमा पम्प ट्रयाकको परियोजना सञ्चालन गरेको हो । ‘भेलोसोलुसनको प्रविधिमा बन्ने पम्प ट्रयाक अस्फाल्ट प्रविधिमा बन्ने छ ,’ परियोजनाको पहलमा सक्रिय साइक्लिङ अभियन्ता थापाले भन्छन्, ‘विश्वका ३० भन्दा धेरै देशमा सञ्चालित यो परियोजना नेपालगन्जमा आउनु आफैमा गौरबको कुरा हो ।’ थापाका अनुसार, यसअघि नेपालमा राजधानी काठमाडौमा मात्रै यसखालको पूर्वाधार बनाइएको छ ।


अभिन्यता थापाका अनुसार, कन्सल्टेन्सी सहित जमीन छाडेर लगभग १ करोड ३५ लाखमा पुरा हुने यो परियोजनाको लागि १ करोड भेलोसोलुसनले खर्च गर्ने छ । ‘५ लाख जति जनश्रमदान बाँके जिल्ला साइक्लिङ संघ र स्थानीय टोलबासी तथा उपभोक्ता समितिले गर्ने छ,’ थापाले भने, ‘५ लाख बजेटसँगै आवश्यक मेसिनरी सहयोग नेपालगन्ज उपमहानगरपालिका गर्ने भएको छ ।’


यस परियोजनाका लागि नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ ले नेतृत्वदायी भूमिका खेलेको छ । ‘वडाध्यक्ष प्रमोद रिजालले आयोजनाको अपनत्व लिएर हौसला दिइरहनुु भएको छ,’ जमिनको २० वर्षे मुआब्जा तथा स्थानीय सहजीकरण गरिरहेको जानकारी दिंदै थापाले भने । धम्बोझीमा फुटबल प्रशिक्षणका लागि बनाइएको खेल मैदान नजिकै साइकलका लागि पनि ‘पम्प ट्रयाक’ बनाउन लागिएको हो ।


त्यससँगै लुम्बिनी प्रदेश सरकारले पनि सहयोगको प्रतिबद्धता जनाएको छ । ‘खेल पर्यटनका लागि यो महत्व्पूर्ण पूर्वाधार हो,’ पहिलो चरणमा प्रदेश सरकार लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले १० लाख सहयोगको प्रतिबद्धता जनाएको जानकारी दिंदै नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले त्यसका लागि आफुले सक्दो सहयोग गर्ने आश्वासन दिए ।


आगामी जनवरी ८ तारिखबाट भेलोसोलुसनका इन्जिनियर तथा प्राविधिक टोली पूर्वाधार निर्माणमा जुट्ने निश्चित भएको छ । ‘त्यसका लागि आवश्यक पहल भइसकेको छ,’ साइक्लिङ अभियन्ता रमेश मल्लको नेतृत्वमा निर्माण समितिसमेत बनाइसकेको जानकारी दिंदै थापाले भने, ‘सबै निर्माणका काम उहाँकै नेतृत्वमा रहेको समितिले गर्नेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया