व्यवसायी भन्छन्, ‘राज्यको गलत नीतिका कारण बढ्यो तस्करी’

राज्यको गलत नीतिका कारण चोरी, निकासी बढेको भन्दै त्यसको नियन्त्रणका लागि नेपालगन्जका व्यवसायीहरूले नेपालगन्ज उद्योग वाणिज्य संघको भूमिका खोजेका छन् ।

शनिबार नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघको तेस्रो अधिवेशन उद्घाटन सत्रमा नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै व्यवसायीहरूले खुला सीमाना र बढ्दो तस्करी नै आफ्नो व्यवसाय धराशयी हुनुको कारण रहेको औंल्याए ।


‘संघले तत्तत् सम्बद्ध निकायहरूसँग समन्वय गरी अवैध आयात नियन्त्रणको प्रभावकारी भूमिका खेल्न सक्यो भने मात्रै हाम्रो व्यवसाय जोगिन्छ, अर्थतन्त्र ट्रयाकमा फर्किन्छ’, नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघका संस्थापक अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले मञ्च तर्फ फर्किदै भने, ‘त्यसका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमिति जिम्मेवार ढंगले लाग्नुपर्छ ।’ आफै पनि चुनावी मैदानबाट फर्किएका श्रेष्ठले अनुभवी पदाधिकारी र ऊर्जाशिल युवा कार्यसमिति बनेकाले आशा गर्ने ठाउँ रहेको धारणा राख्दै भने, ‘तपाईहरूले पनि गर्न सक्नु भएन भने नेपालगन्ज बजार धराशयी हुनसक्ने अवस्थामा पुगिसकेको छ ।’


बैंकको दादागिरी र सहकारीप्रतिको अविश्वासले व्यवसायीलाई थप समस्या सिर्जना गरेको भन्दै वक्ता व्यवसायीहरूले नेपाल उद्योग वाणिज्य महासंघको भूमिकाको आलोचना गरे । ‘महासंघले देशभरका उद्योगी, व्यवसायीहरूको विश्वास गुमाएको छ’, नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघका सल्लाहकार टेक बहादुर खड्काले भने, ‘महासंघको भूमिकालाई ठिक ठाउँमा ल्याउन आन्दोलन आवश्यक देखिएको छ ।’ खड्का नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव हुन् ।


कार्यक्रममा जुत्ता, चप्पल उद्योगका प्रतिनिधिहरूले नेपाली उत्पादनलाई प्राथमिकता दिन व्यवसायीहरूलाई आग्रह गरे । ‘नेपाली जुत्ता, चप्पलले बजारलाई आत्मनिर्भर बनाइसकेको छ’, गोल्ड स्टार जुत्ता कम्पनीका प्रतिनिधि सुनिल रसाइलीले सीमापारीबाट अवैध रूपमा जुत्ता, चप्पल नल्याउन व्यवसायीहरूको ध्यानाकर्षण गराउँदै भने, ‘चोरी निकासी रोक्नुस्, सीमा कडाई गर्नुस्, नेपालका लागि अब जुत्ता, चप्पल बाहिरबाट ल्याइराख्नु पर्दैन ।’ उनले नेपालको अर्थतन्त्र जोगाउन पनि स्वदेशी उत्पादन प्रयोग आवश्यक भएको औंल्याए ।


वक्ताहरूले स्वदेशी जुत्ता, चप्पल उद्योगलाई गुणस्तर बढाउँदै अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धात्मक बनाउँदै अगाडि बढाउन सुझाव पनि दिए । जुत्ता, चप्पल व्यवसायी संघका अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुलराज संञ्यालले गरेका थिए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष टंक धामी, उपाध्यक्ष चिरञ्जीवि ओली, खुद्रा व्यवसायी संघ बाँकेका अध्यक्ष हिमनाथ पौडेल, कोहलपुर जुत्ता चप्पल व्यवसायी संघका उपाध्यक्ष पुण्य प्रसाद तिवारी लगायतले बोलेका थिए ।


कार्यक्रममा पछिल्लो बर्ष आगलागीबाट क्षति ब्यहोरेका विभिन्न व्यवसायिक फर्मका सञ्चालकहरूलाई नगद राहत रकम पनि संघका तर्फबाट प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया