किन हुँदैन, मदरसामा शिक्षक दरबन्दी ?

शाहिदा बानो शाह 

समयः करीब दिनको सवा ११ बजे । स्थानः मदरसा दारुल उलूम गुलशने मदीना नूरी मस्जिद  । प्राधानाध्यापकः मौलाना नसीरुद्दीन अन्सारी ।

अन्सारी आफिसमा रजिस्टर, डायरी र क्याल्कुलेटर अगाडि टेबलमा राखेर हिसाब किताब गर्न व्यस्त थिए । उनको मुख अलि मलिन र निधारमा टेन्शनले गर्दा खिचिएका रेखा प्रष्ट देखिन्थ्यो ।

विषयगत शिक्षक दरबन्दी नहुदाँको छट्पटी र पीडा उनले सुनाउन खोजे । टेबलमा फिजाइएका ती सबै कुरा साइडमा राख्दै उनले भने– ‘यो समस्या मलाई मात्र होईन् म जस्तै मदरसा चलाउने सबै संचालकहरुलाई छ ।’ अनुदान रकम कम र खर्च बढी भएपछि यस्तै जोड घटाउ गरेर बस्नु पर्ने बाध्यता आइलागेको उनको बुझाई छ । 

विषयगत शिक्षक दरबन्दी नहुँदा र अनुदान रकम कम आउँदा वर्षभरी के कसरी व्यवस्थापन गर्ने होला भन्ने चिन्ताले उनलाई सताइरहन्छ । उक्त मदरसा २०४८ साल देखि संचालनमा छ तर अहिले सम्म एउटा शिक्षक पनि दरबन्दी हुन सकेको छैन् ।

त्यही मदरसाको माथिल्लो कोठामा शिक्षिका नसरीन शेख बच्चाहरुलाई आफ्नो विषय पढाइरहेकी थिईन् । विद्युत लाईन गएकोले गर्मी भइरहेको थियो । इन्टरवलको घण्टी लागिसकेपछि उनी आफ्नो कक्षाबाट दोपट्टाले पसिना पुछ्दै बाहिर आइन् । कुराकानीको क्रम बढेपछि उनले गुनासो गरिन् – १५ वर्ष देखि न्युनतम तलबमा  मदरसामा पढाइरहेकीछु । शिक्षक दरबन्दी र अनुदान रकम प्रयाप्त नहुनाले मिहेनत अनुसारको पारिश्रमिक पाएकी छैन । नसरिनसँग कुरा गरिरहदा शिक्षक जाकिर हुसैन खान पनि टुपलुक्क आइपुगे ।

अरवी पढाउने शिक्षक खानले आफुले कुरा राख्ने इशाराले संकेत गरेपछि कुराकानी अघि बढ्यो । खानले आफनो अध्यापन र पारिश्रमिकबारे बारेमा खुलेर भने – ‘७ वर्ष देखि पढाइरहेकोछु । ज्यालादारी गर्ने मजदूरहरुको भन्दा पनि कम तलब छ ।  हामीले आफुलाई बालबालिकाको  भविष्य कोर्न योगदान  र सेवा दिइरहेका छौं भन्ने सम्झिनु पर्ने हुन्छ । ’

मस्जिदसँगै एउटा घरको पर्खाल जोडिएको छ । त्यही घरमा बस्ने २३ वर्षीय मोहम्मद शोएब भन्छन् – मुस्लिम बाहुल्य क्षेत्रमा मदरसा शिक्षाको महत्व रहेपनि सरकारको व्यवहार राम्रो छैन । मदरसामा पढ्न आउने बालबालिकाहरुको संख्या र  उनीहरुको उत्साह हेर्छु खुसी लाग्छ । तर  व्यवस्थापन र र सेवासुविधामा भने लापरबाही।  

मदरसा शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन के गर्नु पर्ला भन्ने सन्दर्भमा मदरसा दारुलउलूम फैजुन्नबी जामा मश्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजा मदरसा शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले मदरसाका डिग्रीलाई मान्यता दिनुपर्ने सुझाउँछन् ।

उच्च स्तरीय मदरसा शिक्षा संचालन गरियो भने बाहिर देशबाट पनि नेपाल पढ्न आउने, अरबी लगायतका भाषाका विज्ञ भइ विदेशमा नेपालको ख्याति बढाउने उनको विश्वास छ । 

यस्तै मदरसाको सञ्चालक समेत रहीसकेका दारुल उलूम जुमा गरीब नवाजका प्राधानाध्यापक कौसर अली राई भन्छन्– ‘मेरो मदरसा २०६६ मा दर्ता भएको छ । तर अहिले सम्म एउटा शिक्षक दरबन्दी छैन् । यहाँ पाच जना स्टाफ र दुई सय १६ जना विद्यार्थीहरु रहेका छन् ।

कहिले काहीँ मदरसाका अन्य खर्च व्यवस्थापन गर्ने क्रममा एक त तलब दैनिक मजदूर भन्दा नि कम, त्यसमा पनि समयमा दिन नसक्दा शिक्षकहरुलाई पढाउन नछोड्नुस् भनी हात जोडेर बिन्ती गर्ने अवस्था पनि आउँछ ।’

नेपालगञ्ज उपमहानगरपालिकाले हरेक मदरसामा कक्षा अनुसार शिक्षक दरबन्दी , पीयन र कम्प्यूटरको साथै अरु पालिकाहरु सरह अनुदान रकम बढायो भने मदरसा शिक्षा संचालन गर्न सहज हुने र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उनको तर्क छ ।  

मदरसा शिक्षामा योगदान दिदै आएकी आमनालिल बनातकी प्राधानाध्यापक जैनब खातुन मदरसाहरुमा विषयगत शिक्षक दरबन्दी नरहेमा विद्यार्थीहरु गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्ने हुनाले विषयगत शिक्षक दरबन्दी अति आवश्यक रहेको बताउँछिन् ।  डाटा इन्ट्री र अपडेट गर्नका लागि सो विषयका दक्ष प्राविधिक व्यक्ति र कम्तीमा एउटा ल्यापटपको व्यवस्था गरिन्छ भने मदरसाका डाटाहरु समयमा अपडेट हुने उनको भनाई छ । 

नेपालगञ्ज उपमहानगरपालिकाले मदरसा, गुरुकुल, सरकारी स्कुल र बोर्डिङ स्कुलहरुको गुणस्तरीय शिक्षाका लागि पहल गर्दै आइरहेको बताइरहेको छ । तर के कस्तो सहजीकरण गरिरहेको छ त ? उपमहानगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र बहादुर शाही मदरसा शिक्षालाई आधुनिक शिक्षासँग  जोडनुपर्नेमा जोड दिन्छन् ।

मदरसाहरुको आवश्यकता अनुसार उपमहानगरपालिकाले आर्थिक र भौतिक रुपमा सहयोग गरेपनि मदरसा संचालकहरु पनि परिवारवादबाट मुक्त भई जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउँछन् । मदरसा शिक्षालाई सबैको साझा पहल र सहकार्यले मात्रै व्यवस्थित र गुणस्तरीय बनाउन सकिने शाहीको भनाई छ । 

‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भनी शैक्षिक सत्र २०८० को नारा रहेको छ । नारामा गुणस्तरीय शिक्षा सबैको अभियान भनिए पनि मुस्लिम समुदायको शैक्षिक अवस्था पछाडि रहेको मुस्लिम समुदायका अगुवाहरु नै स्वीकार्छन् ।  मुस्लिम समुदायद्वारा संचालित मदरसाहरुको स्थिति दयनीय छ ।  

 हाल नेपालगञ्ज उपमहा नगरपालिकामा ४० वटा धार्मिक शैक्षिक संस्थाहरु सञ्चालनमा छन् । जस मध्ये एउटा गुरुकुल र ३९ वटा मदरसाहरु रहेका छन् । ३९ मदरसामा जम्मा २५ शिक्षक दरबन्दी मात्र रहेको छ । जबकि डाटा हेर्ने हो भने ३९ मदरसाहरुमा करिब  सात हजार पाच सय  विद्यार्थी पढ्दैछन् । तर आनलाईनमा ३६ मदरसाहरुले मात्र डाटा अपडेट गरेका छन् । जसमा जम्मा छ जहजार ९१ विद्यार्थी मध्य छात्र दुई हजार एकसय ९४ जना र छात्रा तीन हजार आठ सय ९७ जना रहेका छन् । जुन मदरसाहरुमा एउटा पनि शिक्षक दरबन्दी छैन् ।

त्यहाँ वार्षिक अनुदानबाट दिवाखाजा र होस्टेल बस्ने विद्यार्थीहरुका लागि खाना बनाउने भान्छे एक जना, चर्पी सफाइ गर्ने सरसफाईकर्मी एक जना , तीन  जना शिक्षिका, दुई जना मौलाना शिक्षक, एक जना इमाम र एक जना प्राधानाध्यापक गरी ९ जना स्टाफलाई परिचालन गर्न निकै गाह्रो हुन्छ । अनुदान स्वरूप वार्षिक रुपमा दुई लाख ४१ हजार रकम प्राप्त हुन्छ । जब कि कतिपय मदरसामा स्टाफहरुको तलबमा मात्र मासिक ७५ हजार सात सय  र वार्षिक नौ लाख आठ हजार चार सय  खर्च हुन्छ ।

मदरसा सञ्चालकका अनुसार, मदरसाको  होस्टलमा बस्ने बच्चाहरुको खाना, बस्न, विद्युत , बच्चाहरुको उपचार खर्च, संचार खर्च, पाहुना सत्कार खर्च, स्टेशनरी, धारा र टंकी मर्मत खर्च सबै व्यवस्था गर्नुपर्छ । यसका साथै लेखा परिक्षण गराउँदा  लाग्ने १० देखि १२ हजार सम्म त्यो पनि व्यवस्था आफैं गर्नुपर्छ । 

कुन मदरसामा कति कक्षा सम्म पढाइ हुन्छ, विद्यार्थी संख्या र शिक्षक दरबन्दी कहाँ कति छ ?

आइशा मदरसा तुल बनात बालिकाहरुको लागि संचालित मदरसा हो । यहाँ कक्षा १० सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या छ सय ७६ छात्राहरु रहेकाछन् । यहाँ जम्मा पाच शिक्षक दरबन्दी रहेको छ ।  ऐदारा मिस्बाहिया गुल्शने दानिशमा चार शिक्षक दरबन्दी रहेको छ । यहाँ कक्षा ६ सम्म पढाइ हुन्छ ।

विद्यार्थी संख्या जम्मा एक सय चार जना मध्ये छात्रा ५३ जना र छात्र ५१ जना रहेका छन् । दारुल उलूम बरकातियामा तीन शिक्षक दरबन्दी रहेको छ । यहाँ कक्षा १० सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा सात सय दुई  जना मध्ये छात्रा तीन सय ७९ र छात्र तीन सय २३ जना रहेका छन् ।

जामिया ईस्लामिया रजाए मुस्तफामा दुई शिक्षक दरबन्दी रहेकोछ । यहाँ कक्षा चार सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय ६१ जना मध्ये छात्रा ९२ जना  छात्र ६९ जना रहेकाछन् ।  जामिया मोईनिया बदरुल उलूममा २ शिक्षक दरबन्दी रहेको छ । यहाँ कक्षा तीन सम्म पढाइ हुन्छ । जम्मा विद्यार्थी संख्या एक सय १३ जसमध्ये छात्रा ८० र छात्र ३३ जना रहेकाछन् ।

शिक्षक दरबन्दी नरहेका मदरसाहरुका बारेमा संक्षिप्त जानकारी 

. मदरसा जामिया आरफिया दानिसुल उलूममा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा दुई सय दुई जना जसमध्ये छात्रा एक सय ९ जना र छात्र ९३ जना रहेकाछन् । . मदरसा नुरानीया इस्लामियामा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा दुई सय ४४  जना मध्ये छात्रा एक सय ३८ जना र छात्र एक सय ६ जना रहेकाछन् ।

मदरसा जामिया चिश्तीया रहमतुल उलूममा कक्षा दुई सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा  एक सय ३८ जना मध्ये छात्रा ७१  जना र छात्र ६७ जना रहेका छन् । मदरसा हुसैनी गाजिउल उलूममा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय १८ जना मध्ये छात्रा ५० जना र छात्र ६८ जना रहेका छन् । 

 मदरसा अल्फा एकेडमीमा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ७९ जना मध्ये छात्रा २४ जना र छात्र ५५ जना रहेका छन् । . मदरसा यतिमखाना कादरिया अकबरुल उलूममा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय तीन जना मध्ये छात्रा ७३ जना र छात्र ३० जना रहेका छन् ।.

मदरसा मिस्बाहिया चिश्तीयामा कक्षा दुई सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा  एक सय ८५ जना मध्ये छात्रा  एक सय १२ जना र छात्र ७३ जना रहेका छन् ।. मदरसा कादरिया गुलशने रजामा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा  एक सय ७६ जना मध्ये छात्रा एक सय १२ जना र छात्र ६४ जना रहेकाछन् । दारुल उलूम जुमा गरीब नवाजमा कक्षा एक  सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा दुई ३९ जना मध्ये छात्रा एक सय ३१ जना र छात्र र्एकसय ८ जना रहेका छन् ।

मदरसा दारुल उलूम आरफियामा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ८७ जना मध्ये छात्रा ३५ जना र छात्र ५२ जना रहेकाछन् ।  मदरसा दारुल उलूम गौसे आजममा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ७५ जना जसमध्ये ३३ छात्रा र छात्र ४२ जना रहेका छन् ।

यतीमखाना दारुल उलूम फैजाने मुफ्तीए आजममा कक्षा तीन  सम्म पढाइ हुन्छ । मदरसा जामिया हबिबिया दारुल रजामा कक्षा पाच सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय १६ जना जसमध्ये छात्रा ६३ जना र छात्र ५३ जना रहेकाछन् ।  जामिया अरबिया मिफताउल उलूममा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा दुई सय ४४ जना मध्ये छात्रा एक सय १७ जना र छात्र एक सय २७ जना रहेका छन् । 

मदरसा चिश्तीया गरीब नवाजमा कक्षा एक सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय ७६ जना जसमध्ये छात्रा एक सय ४ जना र छात्र ७२ जना रहेका छन् ।  मदरसा अहयाउल उलूममा कक्षा दुई सम्म पढाइ हुन्छ । दारुल उलूम गुलशने रजामा कक्षा २ सम्म पढाइ हुन्छ ।

विद्यार्थी संख्या जम्मा एक सय ७६ जसमध्ये छात्रा एक सय १२ र छात्र ६४ जना रहेका छन् । मदरसा गुलशने वारसिया तालिमुल कुरानमा कक्षा दुई सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय २५ जना मध्ये छात्रा ६८ जना र छात्र ५७ जना रहेका छन् । दारुल उलूम गुलशने मदीना नूरी मश्जिदमा कक्षा पचा सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा  एक सय ७३ जना मध्ये छात्रा ९२ जना र छात्र ८१ जना रहेका छन् ।

दारुल उलूम गुलशने मदारिया जियाउल हबिबमा कक्षा दुई  सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय ५५ जना मध्ये छात्रा ७४ जना र छात्र ८१ जना रहेकाछन् । दारुल उलूम अताय मुस्तफामा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १०७ जसमध्ये छात्रा ६४ र छात्र ४३ जना रहेकाछन् ।

दारुल उलूम वदिउदिनिया गुलशने इब्राहिममा कक्षा दुई  सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ८३ जना मध्ये छात्रा ५५ जना र छात्र २८ जना रहेका छन् । मदरसा अहेमदिया दारुल इस्लाममा कक्षा दुई सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ८७ जसमध्ये छात्रा ५९ छात्र २८ जना रहेका छन् ।

मदरसा इस्लामिया फैजुल उलूममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा एक सय ए जना जसमध्ये छात्रा ६८ जना र छात्र ३३ जना रहेका छन् । मदरसा आमना लिल बनातमा कक्षा तीन सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा दुई सय १२ जना छात्रा रहेका छन् । (दैनिक नेपालगन्ज पत्रिकाबाट)

प्रतिक्रिया

प्रतिक्रिया