यस्तो परीक्षा दुस्मनसँग पनि नलेउ भगवान !

भारतको श्रावस्तीमा कार दुर्घटनामा पर्दा नेपालगन्जका छ जनाको मृत्युपछि बेहाल परिवार

शोकाकुल नेपालगन्जः परिवारलाई समवेदना दिन पुगेका नेपालगन्जवासी शवयात्रामा आइतवार । (तस्विरः नमस्कार शाह)

दश जनाको परिवार थियो, सबैजना हाँसी खुशी रमाइलो थियो । एकाएक नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका घरमा बज्रपात भयो ।


पहिले बुवा, अनि आमा अहिले एकसाथ २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनितीको शनिवार दुर्घटनामा ज्यान गयो । आइतवार सन्तोषलाई सान्त्वना दिन पुगेकाहरु भन्दै थिए, ‘भगवानले तिम्रो परीक्षा लिइरहेका छन् ।’ आफ्नो वंशनाश हुने गरि शनिवार भएको दुर्घटनाबाट भावविव्हल सन्तोषका दाजुभाइसँग कुनै शब्द थिएन, रुँदै यतिमात्रै भनिरहे, ‘यस्तो परीक्षा दुस्मनसँग पनि नलेउ भगवान !’


नजिकै सन्तोषका सहोदर काका, दिनेश गुप्ता अर्धचेत अवस्थामा एकोहोरो रोइरहेका थिए । मात्रै भनिरहन्थे, ‘मेरो त सर्वस्व गयो, मेरा सबै जना गए ।’ उनलाई आफन्तले सहारा दिइरहँदा छेवैमा दुई नातिनि छ महिनाकी श्रेया र दुई तीन वर्षीया डल्लु गुप्ताको दाहसंस्कार हुँदै थियो । आफ्न्त ‘मिट्टी’ दिंदै थिए । अर्काेतिर दिनेशका एक्ला छोरा ३५ वर्षीय बैभव गुप्ता, बुहारी ३२ वर्षीया दिपीका गुप्ताको दाहसंस्कारका लागि चिता बनाइदै थियो ।


यो दुई परिवारको वंश विनाश हुने गरि भएको दुर्घटनालाई लिएर नेपालगन्ज आइतवार दिनभर शोकमग्न रह्यो । साँझमात्रै शब नेपालगन्ज ल्याइएपछि त्रिभुवनचोकमा हजारौंको भिड गुप्ता परिवारलाई समवेदना दिन पुगेको थियो । हिन्दु श्मशानघाटमा साँझ भएको सामुहिक दाहसंस्कारमा थामिनसक्नु भिड थियो ।


भारतको श्रावस्ती जिल्लामा शनिवार भएको सवारी दुर्घटनामा परी नेपालगन्जका यी दुई परिवारका छ जनाको मृत्यु भएको हो ।


भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिवार राति नीलगाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।


दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, छ महिनाकी छोरी श्रेया र तीन वर्षीया डल्लु गुप्ता, त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।


भारतीय प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको परिवारले जनाएको छ । ‘छोराछोरीसँगै आउन खोजेकी आमा रोकिएकी थिइन्,’ सन्तोषले दैनिक नेपालगन्जसँग भने, ‘उनलाई आज नेपालगन्ज बोलाइयो ।’


दुर्घटनाको खबर आएसँगै नेपालगन्ज शोकमग्न रह्यो । त्रिभुवनचोक क्षेत्रमा शनिवाररातीदेखिनै आफन्त पुगेका थिए । त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर नसुतेर गुप्ताको घरमा पुगेका थिए । आफन्तजन र स्थानीयवासीको भीड आइतवार अबेररातीसम्म उस्तै थियो ।


स्थानीय ब्राइटल्यान्ड कलेजमा बिबीएस दोस्रो वर्षमा अध्ययनरत सुनितीको निधनको खबरले आइतवार शोकमा कलेज बन्द गरिएको जानकारी दिंदै बिआइएम अध्ययनरत विद्यार्थी सजल गैरेले विद्यार्थी सबै शोकमग्न भएको बताइन् ।


मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका बाँके प्रशासनको समन्वयमा कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यसहितका परिवार, आफन्त पुगेका थिए । ‘आवश्यक प्रक्रियाका लागि बाँके प्रहरी र प्रशासनको सकारात्मक भूमिकाले सहज बन्यो,’ अध्यक्ष बैश्यले भने ।


स्थानीय प्रहरीका अनुसार, भारतको उत्तरप्रदेशमा पर्ने इकौना श्रावस्ति स्थित वुद्धपथमा ७ जना सवार गाडी शनिबार बेलुका दुर्घटना हुन पुगेको थियो ।


इकौना भारतीय प्रहरीका अनुसार, गाईले बाटो काटन लाग्दा बचाउने क्रममा गाडी रुखमा ठक्कर खाएर पल्टिएको हो । तिब्र गतिमा रहेको गाडी नियन्त्रणमा आउन नसक्दानै दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनापछि गाडी पानीमा डुब्दा ठुलो मानवीय क्षति भएको प्रहरी अनुमान छ ।

प्रतिक्रिया

प्रतिक्रिया