नरैनापुर : १७ करोड लागतमा अत्याधुनिक अस्पताल

स्वास्थ्य उपचार क्षेत्रमा पछि परेको नरैनापुर गाउँपालिकामा अत्याधुनिक सुविधायुक्त अस्पताल निर्माण अन्तिम चरणमा छ ।


प्राथमिक उपचार बाहेक शल्य चिकित्सा सुविधा उपलब्ध नरहेको र भारतीय क्षेत्र तथा नेपालगन्जका विभिन्न अस्पतालको सहारा लिँदै आएको नरैनापुर क्षेत्र अब अति सघन उपचार बाहेक नरैनापुर बाहिर जाने बाध्यता हटने भएको छ ।


बाँके नरैनापुर ४ दौलतपुर नजिक १७ करोडको लागतमा निर्माण भइरहेको अत्याधुनिक सुविधा सहितको पालिका स्तरीय अस्पताल निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।


केन्द्र सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको १५ शैयाको अस्पताल निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले सम्झौता अवधि भन्दा ४ महिना अघिनै निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । सर्जरी सुविधा, पोस्टमार्टम, आँखा, प्रसुति, छाला सहित जनरल सुविधा हुने उक्त अस्पतालमा २ जना एमडी, ३ जना एमबीबीएस, १५ जना नर्सबाट सेवा प्रवाह हुने प्रशासकीय अधिकृत खरालले जानकारी दिए ।


अस्पताल भित्र एमआरआई, एक्स रे, भिडियो एक्स रे, ल्याब तथा मोडुलर ल्याब जाँच सम्बन्धी सबै सुविधा उपलब्ध हुनेछ । नरैनापुरको कुनैपनि विरामी बाहिरी अस्पतालमा जान नपरोस भन्ने लक्ष्य सहित अस्पताल निर्माण थालिएको हो, नरैनापुरका लेखापाल तथा उजुरी प्रशासक प्रकाश अधिकारीले भने, अस्पताल संचालनमा आएपछि नरैनापुरले स्वास्थ्य सुविधाको प्रभावकारी लाभ पाउनेछ ।


अस्पतालमा कर्मचारी आवास, क्यान्टिन, पोस्टमार्टम ब्लकहरु अलग अलग बनाइएको छ । अपांगता मैत्री समेत रहेको अस्पताल भवनमा सबै कक्षमा एसी सुविधा जडान हुनेछ । नरैनापुर गाउँपालिका क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नहुँदा अहिले सम्म भारतीय क्षेत्र र नेपालगन्जमा औषधी उपचारका लागि जानु पर्ने बाध्यता छ ।


नरैनापुरमा हालै निर्माण सम्पन्न भएको रंगशाला छेउमै अस्पताल रहेकोले खेलकुदका दौरान हुन सक्ने संभावित घटना दुर्घटनामा समेत तत्काल अस्पतालको लाभ मिल्ने अनुमान गरिएको छ ।


आगामी ३ महिना भित्र विधिवत रुपमा अस्पताल संचालनको तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया