नेपालगन्जमा अब निःशुल्क एम्बुलेन्स

सार्वजनिक स्वास्थ्य सेवामा महत्वपूर्ण सेवा सञ्चालन गर्दै नेपालगन्ज उपमहानगरपालिकाले आज सोमबारदेखि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म निःशुल्क पुर्याउने उद्देश्यले सेवा सुरु गरिएको हो ।


सेवा सुरु गर्दै नगर प्रमुख प्रशान्त विष्टले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको बताए ।

“अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,” उनले भने–“चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि विरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।”


उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताए ।


स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युुदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रमको संचालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले गरेका थिए । हाल नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहनेछन् । नेपालगन्जमा २० वटा एम्बुलेन्स संचालनमा छन् ।
निःशुल्क एम्बुलेन्स सेवाका लागि मोवाइल नम्बर ः९८०८८६४८८९; ९८०८८६५०९९ मा सम्पर्क गरेर सेवा लिन सकिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया