लुम्बिनी अपराधको यस्तो ग्राफ

हिमाल गैरे
पछिल्लो समयमा लुम्बिनी प्रदेशमा अपराधको ग्राफ घट्दो देखिनु सकरात्मक देखिए पनि बाँकेमा भने बढ्दो देखिएको छ । 
पछिल्लो ३ आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्ने हो भने सबैभन्दा बढी रुपन्देहीमा १ हजार २ सय ५५, दाङ्गमा १ हजार ९९ र बाँकेमा ८ सय ५८ अपराधका घटना भएको पाइएको छ । 


लुम्बिनी प्रदेशमा ५७ प्रतिशत आत्महत्याका घटना घट्दा १८ प्रतिशत लागुऔषध र १७ प्रतिशत करणी संबन्धी कसुर भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । त्यसैगरी बाँकेमा क्रमशः आ.व २०७७/०७८ र २०७८/०७९ मा २ सय ८३ रहेकोमा यस वर्षको जेठ मसान्तसम्म मात्रै २ सय ९२ अपराधका घटना दर्ता भएको लुम्बिनी प्रदेश प्रहरीबाट प्राप्त तथ्याङ्कले देखाउँछ भने दाङ्गमा आ.व २०७७/०७८ मा ३ सय ९० र २०७८/०७९ मा ३ सय ९२ र यस आ.वको जेठ मसान्त सम्म ३ सय १७ अपराधका घटना दर्ता भएका छन् ।


बाँकेमा आर्थिक अपराधका घटना सतहमा बढी आइरहेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौंर बताउँछन् । आत्महत्याका घटनापनि बढिरहेका छन्र, प्रहरी उपरीक्षक राठौंरले दैनिक नेपालगन्जसँग भने, कारणहरु खोजी गर्दै जाँदा तमाम सामाजिक, आर्थिक, पारिवारिक पृष्ठभूमिहरु पाइएका छन् ।


प्रहरी उपरीक्षक राठौंरका अनुसार, घरेलु हिंसाका घटना, साइबर क्राइम र बैंकिङ्ग कसुर (चेक अनादर) का घटना बढिरहेका छन् । 


प्रहरीको सहज पहुँचमा पीडितहरु आउन सक्ने अवस्थाको सिर्जना पनि अपराध ग्राफ उकालो चढ्नुको एउटा कारण हो । प्रहरी उपरीक्षक राठौंर अपराधका घटना मात्रै बढेको नभई कानुनी उपचारमा आउनेहरुको संख्या बढेकोले अवस्था यस्तो देखिएको हुनसक्ने औंल्याउँदै भन्छन् । उनका अनुसार, लागुऔषधका घटनामा पनि बढोत्तरी उस्तै छ ।


अधिवक्ता पदम पाण्डेका अनुसार समाजमा पछिल्लो समयमा अपराध बढ्नुमा महत्वकांक्षी स्वभाव, सामाजिक स्ट्याटस म्यान्टेन गर्न, राजनैतिक वितृष्णा, आर्थिक मन्दीको प्रभाव, प्रविधीको दुरुपयोग, मानसिक विचलन लगायतका कारण अपराध बढ्दै गएको बताउँछन् ।


“आवश्यकता धेरै भयो, क्रय शक्ति कमी आए पछि अपराधीकरणमा लागेको वा गलत बाटोमा लागेको पाउँछु ।” राजनैतिक आड र दण्डहिनताका कारणले गर्दा पनि अपराधलाई बल प्रदान गरेको अधिवक्ता पाण्डेको तर्क छ । 


महामारी कोभिड–१९ पछिको महामारी भए पछि बढ्दो बेरोजगारीले समेत अपराध तर्फ आकर्षण गरेको विज्ञहरु बताउँछन् ।


भेरी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. लिला देवकोटा बेरोजगारीले मानिसहरु तनाव व्यवस्थापन गर्ने बहानामा वा अन्य तरिकाले मादक पदार्थ वा लागुपदार्थको दुव्यर्सनीमा लागेको पाईएको बताइन् । 


मानिस एकैपटक नभई चरणबद्ध रुपमा अपराधीकरणमा लागेका पाइन्छ । उदाहरणका लागि कोभिडले बेरोजगारीको श्रृुजना गर्यो, त्यसले मानसिक विचलन ल्यायो र मानिस कुलतमा लागे, फलस्वरुप विभिन्न हिंसात्मक घटना वा अपराधमा मानिसहरु लाग्दै गए । 


विषम परिस्थीति वा तत्पश्चात मानसिक स्वास्थ्यमा कसरी ख्याल गर्ने भन्नेमा सचेतनामुलक फैलाउनु र अपराध न्यूनिकरणका लागि सोको कारण पहिचान गर्नुका साथै समाधानका लागि सबै सरोकारवाला निकाय गम्भिर हुनुपर्ने हुन्छ । डा. देवकोटाको सुझाव थियो ।


लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण बहादुर पल्ली मगरका अनुसार वैदेशिक रोजगारी, सामाजिक संजालको दुरुपयोग, बसाई वा शहरीकरणबाट लागुपदार्थको दुव्र्यसनीका घटना बढ्दै छ ।


मानसिक स्वास्थ्य समस्याका कारणले आत्महत्या हुने भएता पनि आत्महत्या दुरुत्साहनका कारणले समेत व्यक्तिले आत्महत्या गर्ने गरेकाले पनि नेपालको कानुनले आत्महत्यालाई अपराधको रुपमा उल्लेख गरिएको कानुन व्यवसायीहरु बताउँछन् । 


अपराधका घटनाको न्यूनिकरण गर्न प्रहरी वा सुरक्षाकर्मी मात्रै नभई सबै समुदाय र जनतासंगै मिलेर लागिरहेको प्रवक्ता पल्ली मगरले दैनिक नेपालगन्जलाई बताए । 


“अहिले हामीलाई आत्महत्या रोकथाम र न्युनिकरण निकै चुनौतीपुर्ण बनेको छ । आत्महत्याको घटना कुनै एक पक्ष वा कारणले गर्दा नहुने भएका कारण सोको रोकथामका निम्ती सबै गम्भिर भई लाग्नुपर्दछ, ” प्रवक्ता पल्ली मगरले सुझाए ।


नेपालमा अपराध घट्नुका कारण विभिन्न सामाजिक, आर्थिक, राजनैतिक संगै मनोवैज्ञानिक लगायत पक्ष भएता पनि यथेष्ट अनुशन्धान र खोजको अभावले अपराध घट्नुका कारण र सो न्यूनिकरणका लागि चाल्नुपर्ने रणनीतिको अभाव हुने गरेको विज्ञहरुको भनाई छ । 

प्रतिक्रिया

प्रतिक्रिया