प्रदेश नीतिमा बाँकेः जडिबुटी उद्योग स्थापना गरिने

निजी क्षेत्रसँगको साझेदारीमा बाँकेमा जडिबुटी संकलन र प्रशोधन भण्डार उद्योग स्थापना गरिने भएको छ । शुक्रवार लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा प्राथमिकतासाथ राखिएको हो ।


सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रममा कृषितर्फ बाँकेमा आँप बर्दियामा तोरी र मुसुरो खेतीका लागि समेटिएको छ । भने, पशुपपंछीतर्फ बाँकेमा भैसी र माछापालन, बर्दियामा भैंसी र बंगुरपालन कार्यक्रम प्रस्ताव गरिएको छ ।


बाँकको नौवस्ता औद्योगिक क्षेत्र विकासका लागि सबै सरोकारवालाहरुसँग समन्वय गरिने सरकारले नीति लिएको छ । निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्र जग्गा विवाद र अतिक्रमणले अपेक्षित गति लिन सकिरहेको छैन ।


बबई, सिक्टाको प्रभाव क्षेत्रमा बाली चक्रमार्फत वाली सघनता वृद्धि गर्ने नीति लिएको सरकारले प्रदेशभरिका विभिन्न ठाउँमा २ हजार हेक्टर वाली वृद्धि गर्ने कार्यक्रम प्रस्ताव गरेको छ ।


बर्दियामा रोजगारी सिर्जनाका लागि बेसार प्रशोधन उद्योग स्थापना गरिने भएको छ । भने, सबैतिर समस्या सिर्जना गरिरहेको बाँदर नियन्त्रणका लागि संघ रस्थानीय तहसँग समन्वय गरिने सरकारले भनेको छ । गाउँतिर खेतवारीमात्रै नभइ अहिले सहर बजारमा समेत बाँदर आतंक छ ।


कालिज र बँदेलको व्यवसायिक घरेलु पालनका लागि बाँके बर्दियालाई पाइलटिङ गर्न संघसँग समन्वय गर्ने जनाएको छ ।
बाँके, बर्दिया र दाङमा स्थानीय आलु उत्पादन, प्रशोधन र बजारीकरणमा सरकारी सहयोग व्यवस्था गर्ने नीति सरकारले लिएको छ । त्यस्तै लुम्बिनी प्राविधिक विश्वविद्यालयमा प्रयोगशाला स्थापनाका लागि सहयोग गर्ने, बर्दिया जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने, बर्दिया ठाकुरबाबा मन्दिरमा साँस्कृतिक डबली स्थापना गर्ने नीति सरकारले घोषणा गरेको छ ।


दुई वर्षमा दुई लाख उत्पादनशील रोजगारी सिर्जना गर्न बाँके, बर्दियासहित प्रदेशका सबै ९८३ वटै वडामा सामाजिक परिचालन गरिने । त्यसका लागि विकास साझेदार, निजी क्षेत्र र स्थानीय तहसंग समन्वय गरिने पनि सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया