ठेलाका आडमा दैनिक दशौं लाखको अबैध कारोबार मौलाउँदै

सिमापारि रुपैडिहाबाट एकाबिहानै फलफुल तरकारी बोलेर आउने, दिनभर नेपालगन्जका विभिन्न चोक र गल्लीमा पसल थापेर कारोबार गर्ने साँझ घर फर्किने सडक व्यापारीहरुको संख्या कति होला ?

नेपालगन्ज उपमहानगर परिसरमा राखिएका अबैध ठेलाहरु । मनपरी ठेला व्यापारलाई कडाई गर्न शुरु गरेको उपमहानगरले उनीहरुलाई पहिलो चरणमा सामान्य जरिवाना शुरु गरेको हो । तस्विरः दैनिक नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिकाको अनौपचारिक अध्ययन उद्धृत गर्दै नगर प्रमुख प्रशान्त विष्ट भन्छन्, कम्तिमा चारसय ठेला त्यसरी निर्वाध नेपालगन्ज आएर काराबार गरेर फर्किन्छन् ।’ दैनिक एउटा ठेलाबाट कतिको कारोबार हुन्छ होला ? त्यसको कुनै लेखाजोखानै छैन ।

सिमा क्षेत्रमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, कम्तिमा एक हजार ठेला तथा साइकलमा दैनिक फलफुल र तरकारी लिएर हरेक दिन नेपालगन्ज आउने भारतीयहरु दिनभर कारोबार गरेर फर्किन्छन् । ‘सरदर एउटाले दैनिक पाँच हजार रुपियाको लिएर फर्किन्छ,’ ती अधिृकत भन्छन्, ‘त्यसबाहेक नेपालीहरुले क्यारिङ गर्ने, ठेलामा व्यापार गर्नेहरुको संख्या पनि उल्लेख्य छ ।’

ती अधिकृतको कुरा पुष्टि हुन्छ, नगर प्रमुखको अनौपचारिक तथ्यांकबाट पनि । नगर प्रमुख विष्टका अनुसार, ठेलामा गरिने सडक व्यापारलाई व्यवस्थि तगर्न थालिएको प्रयासका क्रममा पाइएका चारसयबढी ठेलामा १९२ जनाले दर्ताका लागि सम्पर्कमा आएका छन् । १०७ जनाले इजाजत, परिचयपत्र र क्यूआरकोड लिएर व्यापारमा सक्रिय भैसकेका छन् । अन्य दुईसयबढी ठुला कानुनी दायरामा आउन चाहेनन् ।

किन ? नगरप्रमुख विष्ट भन्छन्, ‘पहिलो चरणमा हामीले नेपाली नागरिकताका आधारमा ठेलालाई कानुनी दायरामा ल्याउन लागेका छौं, नागरिकता नहुनेहरु त्यसरी बाहिरै बस्न चाहेको हुनसक्छ ।’ विष्टका अनुसार, नेपालगन्जमा कुनैपनि ठेला व्यापारलाई इजाजत बिना कारोबार गर्न दिइने छैन ।

इजाजत लिएका उनीहरुलाई भने व्यापारको ‘टेरिटोरी’ पनि दिइने छ । ‘राजस्व तिरेर व्यवसाय गरिरहेकाहरुको कारोबारलाई बाधा पुग्नेगरि, सडक कब्जा गरेर व्यापार गर्न कहाँ पाइन्छ ? विष्टले भने, ‘विभिन्न ठाउँ विशेषको व्यवस्थापन गरेर ठेला लगाउने ठाउँ निर्दिष्ट गरिनेछ ।’

‘भोलि हुने घटना दुर्घटना वा कुनै अपराधमा संलग्नताको अवस्थामा कसरी थाह पाउने की को के हो ?’ नेपालगन्जभित्र कारोबार गर्ने जो कसैलाईपनि कानुनी दायरामा नआएर व्यवसाय गर्ने छुट नदिइने प्रष्ट पार्दै नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘नागरिकता नभएकाहरुको हकमा कसरी, कुन प्रमाणका आधारमा इजाजत दिने भन्ने टुंगो पछि लगाइनेछ, पहिले नागरिकको हकमा सोच्ने हो ।’

कानुनी दायरमा नआएर मनपरी गर्ने ठेला व्यापारमा नेपालगन्ज उपमहानगरपालिकाले कडाई थालेको छ । त्यसक्रममा इजाजत नलिएरै सडकमा व्यापार गर्नेहरुलाई समात्न र पहिलो चरणमा जरिवाना लगाउन थालिएको हो । ‘तपाईहरु फेरिपनि विना इजाजत सडकमा कारोबार गरिरहेको भेटिनुभयो भने, अब ठेला र मालसामान जफत गरिनेछ,’ उपमहानगर परिसरमा ल्याइएका गैरकानुनी ठेला सञ्चालकहरुसँग नगरप्रमुख विष्टले दिइएको म्यादभित्र १०७ जनालेमात्रै इजाजत लिएको प्रष्ट पार्दै भने ।

ठेला व्यवस्थापनपछि उपमहानगरपालिकाले साइकलमा घरघर गएर फलफुल तरकारी बेच्नेहरुको अभिलेखिकरण पनि अघि बढाउने जनाएको छ । ‘कम्तिमा कस–कसले घरघरै गएर कारोबार गरिरहेको छ भन्ने तथ्यांक स्थानीय सरकारसँग हुनुपर्छ,’ नगरप्रमुख विष्टले दशकौंदेखि भइरहेको मनपरी कारोबारलाई कानुनी दायरामा ल्याउँदा समय लाग्ने तर्क गर्दै भने, ‘हामी यो काम गरेरै छाड्नुपर्नेछ ।’

नेपालगन्जमा फलफुल तथा तरकारीका लागि औपचारिक बजार, रानीतलाउ सब्जीमण्डीका अनुसार, दैनिक ६ ट्रक फलफुल तथा तरकारी यसरी ठेला तथा साइकलमा अनौपचारिक बाटो भएर नेपालगन्ज भित्रिन्छ ।

‘हामीलाई भन्सारमात्रै सहजीकरण गरिदिने हो भने त्यसरी आउने अबैध सामानभन्दा सब्जीमण्डीबाट बेचिने फलफुल तरकारी सस्तो दिन सकिन्छ,’ सिमामा खटिएका प्रहरी, भन्सार कर्मचारी, घुमुवा, सशस्त्र प्रहरी लगायतलाई नजराना तिरेर भन्सार छलेर आउने अनौपचारिक बजार बारे व्यापारी भन्छन् ।

भन्सारको समस्या के हो ? सब्जीमण्डीका व्यापारी भन्छन्, ‘सर्भर र ल्याब टेष्टका नाममा १२ देखि २४ घण्टासम्म भन्सारमा ट्रक अल्झाइदिंदा भन्सार छलेर सेटिङमा आउने सामानले बजार पाइसकेको हुन्छ, व्यापारीको लगानी बढिरहेको हुन्छ ।’

व्यापारीहरु बरु कर बढाइयोस्, विषादी टेष्टका लागि ल्याब भन्सारमै राख्ने, सर्भरमा समस्या नआउने कुराको सुनिश्चितता चाहन्छन् । ‘कि त कर्मचारी २४ घण्टा बस्ने व्यवस्था हुनुप¥यो,’ १० बजेपछि आउने कर्मचारी फलफुल तथा तरकारी बजारका लागि घातक बनिरहेको गुनासो करदाता व्यापारीहरुको छ ।

प्रतिक्रिया

प्रतिक्रिया