नेपालगन्जको विद्युत समस्या: माग र आपूर्तिको सन्तुलनमै पनि किन समस्या ?

चर्काे गर्मीबीच नेपालगन्जले विद्युत अनियमितताको नियमित नियति झेलिरहेको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेल भने विद्युतको खपत र वितरणबीचमा पर्याप्त सन्तुलनको दावी गर्छन् ।

सन्तुलनमात्रै किन, प्याकुरेल त नेपालगन्जमा झण्डै ४० मेगावाट विद्युत माग रहेकोमा ३० मेगावाटमात्रै खपत भइरहेको खुलाउँदै भन्छन्, ‘हामीसँग पर्याप्त विद्युत क्षमता छ ।’


अनियमित विद्युत र लो–भोल्टेज समस्याबारे चर्काे आलोचना भइरहेपछि नेपालगन्ज उपमहानगरपालिकाले मंगलवार विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुखसंग छलफल गरेको छ ।


छलफलमा नेपालगन्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयाससँगको सेरोफेरोमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले विद्युत वितरण प्रमुख प्याकुरेलसँग सोधे, ‘ अनि समस्या के हो त ?’


पत्रकारहरुको उपस्थितिका बीच भएको छलफलमा वितरण केन्द्र प्रमुख प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको भन्दै शनिबारसम्ममा सम्पूर्ण समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।

‘शनिवारसम्ममा नयाँ ब्रेकर र एअरपोर्ट फिडर जडान गरेर अहिले देखिएका सबै समस्या समाधान गर्ने हिसाबले लागेका छौं,’ प्याकुरेलले भने– ‘बत्ती गइरहने समस्यालाई समाधान गर्न हामी लागिपरेका छौं ।’ उनले अघिल्ला वर्षहरुमा जस्तो नियमित बत्ती जाने समस्या चाहिं यसपाली नभएको र नहुने दावी पनि गरिरहे । उनका अनुसार, यसपटक विद्युत खपतनै अपेक्षित छैन ।


नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलमा नगर प्रमुख विष्टले अत्यधिक गर्मी हुने सहर भएकाले विद्युतका कुनै समस्या आफ्नोतर्फबाट हल गरेर सहजीकरण गर्न सकिन्थ्यो की भन्ने चासो राखे ।


‘नेपालगन्जमा पछिल्ला दिनमा विद्युतको नियमित आपूर्तिमा भइरहेका समस्याले हामीहरुपनि दबाबमा परेका छौं,’ नगर प्रमुख विष्टले त्यसैलेपनि उपमहानगरपालिकाले गर्न सक्ने समन्वय र विद्युत प्राधिकरणले समस्या समाधानार्थ पहल थालेको जानकारी दिंदै भने, ‘नेपालगन्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरबासीलाई आक्रान्त पार्ने भएकाले विद्युतको नियमितता चासो र सरोकारका विषय बनेको हो ।’


मागमै कमी आएको बारे पनि छलफलमा चर्चा गरिएको छ । ‘बजार व्यवसायमै कमि आएकाले विद्युत खपतमा कमि आइरहेको हुनसक्छ,’ नगरप्रमुख विष्टले भने, ‘आर्थिक मन्दीका कारण उद्योगधन्दामा कमी आइरहेकाले त्यसको असर विद्युतमा परेको हुनसक्छ ।’ कतिपय सहभागीले विद्युत चुहावटका कारणपनि नियमित खपत कम देखिएको हुनसक्ने अनुमान गरे ।


छलफलमा सहभागी सञ्चार व्यवसायी निजामुद्दिन सिद्दीकीले भने एकसाता यता विद्युतमा आइरहेको नियमित समस्या र प्राधिकरणले दिएको जवाफको तालमेल पटक्कै नमिलेको टिप्पणी गरे । ‘बिद्युत सप्लाइ पर्याप्त छ भने हामी कहाँ किन आइरहेको छैन ? प्याकुरेलले केही आन्तरिक व्यवस्थापनका समस्या रहेकाले छिट्टै समाधान हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

प्रतिक्रिया