विद्युतलाई सेवा सुधारको ‘अल्टिमेटम’

विद्युत सेवा प्रवाहमा भइरहेको लापरबाही र अनियमितताविरुद्ध सेवाग्राहीहरु आन्दोलित भएका छन् ।


जिल्लामा रहेका ६ हजारबढी घरेलु तथा साना उद्योग सञ्चालनमा मार पर्नेगरि विद्युत सेवा अनियमित भएपछि उद्योगी व्यवसायीहरु आन्दोलित भएका हुन् ।


नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अगुवाइमा शुक्रवार नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जमा विद्युत नियमित गर्न शुक्रवार ७२ घण्टे अल्टिमेटम सहित ध्यानाकर्षणपत्र बुझाइएको छ ।


महासंघका जिल्ला शाखा अध्यक्ष मधु खड्का र महासचिव जीआर भुसालले संयुक्त हस्ताक्षर गरि बुझाएको ध्यानाकर्षणपत्रमा विद्यमान विद्युत समस्याले उजागर गरेको मानवीय तथा औद्योगिक उत्पादनमा पारेको असर उल्लेख छन् ।


ध्यानाकर्षणपछि नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका पदाधिकारी तथा व्यवसायीहरुले प्राधिकरणमा धर्ना पनि दिएका थिए । धर्ना प्रदर्शनका क्रममा महासंघका महासचिव भुसालले दैनिक नेपालगन्जसँग भने, ‘निद्रामा रहेको प्राधिकरणको आँखा खोल्न आन्दोलनको बिकल्प देखिदैन ।’

उनले विद्युत प्रशारणको अनियमितताले अहिलेको अवस्थामा उद्योग चल्नै नसक्ने औल्याउँदै उत्पादन गर्दा नोक्सानी अत्यधिक हुने गरेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया