सहकारी अनुगमन गर्दै उपमहानगरपालिका

नगरमा रहेका सहकारीहरुको अनुगमन थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको जानकारी दिएको हो ।

त्यसक्रममा नेपालगन्ज उपमहानगरपालिकाकोे सहकारी शाखाको अनुगमन टोलीले विहिबार दुई वटा सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ ।

सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको जानकारी दिंदै उपमहानगरपालिकाले सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रुटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिँदै आएको जनाएको छ ।

सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिए । कार्य क्षेत्रभित्र रहेका सहकारीहरुको नियमित अनुगमन गर्दै आएको पनि उनको भनाइ छ ।

सहकारी शाखाले दिएको जानकारी अनुसार, अनुगमन टोलीले नेपालगन्ज–१२ बेलासपुर स्थित पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था र नेपालगन्ज–१८ कारकाँदोस्थित पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आर्थिक मन्दीका बीच पनि कुशल व्यवस्थापनका साथ सहकारीहरु सञ्चालन भइरहेको पाइएको रानाको भनाइ छ । विहीवारको अनुगमनमा शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रबन्ध संचालक नवराज उपाध्याय, नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित थिए ।

ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनुपर्ने प्रक्रिया लगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले जानकारी दिए ।

४२० शेयर सदस्य रहेको पूर्णिमाले स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आएको छ । शेयर सदस्य र विपन्न बर्गलाई लक्षित गरी आफ्नै प्रयोगशालासहित नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको उपाध्यक्ष लता शर्माले बताइन् । प्रबन्धक बामदेव भट्टराईले आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पौरखीले पनि विपन्नलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला लगायत वितरण गर्दै आएको छ । बेला बेलामा स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए । पौरखीमा १३०० शेयर सदस्य रहेको कोषाध्यक्ष पूर्णदेव गिरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया