कहिले संचालनमा आउने नौवस्ता क्षेत्रीय कारागार ?

वसन्त गौतम

क्षेत्रीय कारागारका लागि भनेर बाँकेको नौबस्तामा बनाईएको सुबिधा सम्पन्न भौतिक संरचना खाली छन् । तर बाँके कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन् । जिर्ण अवस्थामा रहेको बाँके कारागारको क्षमता ३५० हो तर त्यहाँ हाल ८५८ कैदीबन्दी राखिएको छ ।

नौबस्ताको क्षेत्रीय कारागारमा नबनिर्मित भौतिक संरचना प्रयोग बिहिन हुँदा बाँकेमै कैदीबन्दीले कोचाकोचको स्थितिमा कष्टकर बसाई बस्नु परेको छ । अचम्म लाग्छ करौडौ खर्चेका भवन प्रयोगमा ल्याउन र कारागार ब्यवस्थापनमा सम्बन्धित पक्षको ध्यान नपुगेको देख्दा ।

बाँके जिल्लाको नौवस्तामा करिव नौ बिगाहको क्षेत्रफलमा तिन हजार क्षमताको क्षेत्रीय कारागारको भौतिक संरचना निर्माण कार्य पुरा भएको महिनौ भैसकेको छ । तर बिडम्बना दशै पछि संचालनमा ल्याउने भनीएको उक्त कारागार कहिले संचालनमा आउने हो यसै भन्न सकिने अवस्था छैन ।

दैशैभरिका कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेको बेला यो कारागार संचालन आए यस क्षेत्रका कैदीबन्दीलाई धेरै राहत हुने थियो । कैदीबन्दैले पहिलेको तुलनामा केही सुबिधा पाउने थिए । तर देशका राज्य संचालक र राजनेतालाई यसको कुनै मतलव छैन । आफु थुनामा बस्दा जेल सुधारको चर्को भाषण गर्ने नेताहरू छुटे पछि यस बिषयलाई मतलबै राख्दैनन । यस बिषयलाई प्राथमिकता दिर्दैनन ।

बाँकेको नौबस्तामा क्षेत्रिय कारागार भौतिक संरचना त्यसै खेर गए जस्तै बाकेँकै गनापुरमा बनाईएको खुल्ला कारागारको भौतिक संरचना पनि त्यतिकै खेर गएको छ । दण्डको सुधारात्मक शिद्धान्त अनुसार यहाँ सानातिना मुद्दाका थुनुवालाई राख्ने लक्ष्य राखिए पनि आवश्यक कार्यबिधि नबन्दा त्यहाँका भौतिक संरचना बिग्रने भत्कन थालेका छन् ।


बाँकेको पुरानो कारागारमा थुनुवालाई राख्ने कोठा साना भएकोमा नौबस्ता क्षेत्रीय कारागारका कैदीबन्दी राख्ने कोठा तुलनात्मक रूपमा ठुला र घामहावा छिर्ने खालका बनाइएका छन् । उक्त कारागारमा राखिने कैदी बन्दीका लागी प्रर्याप्त शौचालय र स्थानकक्ष बनाईएको छ । तुलनात्मक रूपमा भान्साकोठा पनि ठुला छन् । थुनुवा बस्ने भवन ढलान गरिएको छ भने भान्सा र स्नान कक्ष, शौचालयमा अग्लो गरि टिनको छाना लगाईएको छ ।

कारागारलाई सुधार केन्द्रका रूपमा बिकाश गर्ने उदेश्य नया संरचना निर्माण गरिएको हो । यो कारागारमा कैदीबन्दीले तालिम लिन मिल्ने ठुला हलको ब्यवस्था गरिएको छ । जहाँ शिपमुलक तालिम लगायत अन्य तालिम दिन सकिने छ । कारागारको नियम उल्लघंन गर्नेलाई कष्ठकर सजाय दिन अलग्गै दुई वटा अध्यारा साघुरा कोठा पनि तयार पारिएको छ ।
हाल संचालनमा रहेको जिल्ला कारागार कार्यालय बाँके जीर्ण अवस्थामा छ । यहाँ क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन् । बन्दीलाई बस्न, सुस्तका लागि प्रर्याप्त स्थान छैन । जसका कारण कैदीे बन्दीले अवस्था दयनिय छ । उनीहरूले कष्टकर दैनिक बिताउनु परेको छ । भवन भित्र कोठा नपुग्दा उनीहरू बाहिर बस्नु पर्दछ । क्षमता भन्दा बढी थुनुवा हुँदा हाल भवन बाहिर ५० बढी कैदीबन्दी बस्नु परेको छ । जसका कारण गर्मी हावापानी र बर्षातमा कैदीबन्दीलाई बस्नमा समस्या हुने गरेको छ ।

बाँकेमा पर्याप्त ठाउँ नभएपछि बरण्डा, खुला आँगन, भान्सामा समेत कैदी बन्दी सुत्न बाध्य छन् । वि.सं. २००० सालमा बनेको नेपालगन्ज कारागार जीर्ण छ । खुला आकाश, बरण्डा र छतमा समेत कैदीबन्दी सुत्ने गरेका छन् । कैदी बन्दीहरूलाई गर्मीयाम संगै स्वच्छ खानेपानी र शौच गर्दा लाइनमा बस्नु पर्दा निकै कष्टकर दैनिकी बिताउनु परेको बताउछन् । बाँके कारागारमा कैदीबन्दीलाई पर्याप्त बस्ने ठाँउ र खेल्ने मैदानको अभाव छ ।

बाँके मात्रै होईन लुम्बिनी प्रदेशका सबै कारागारहरूमा क्षमता भन्दा बढी कैदीबन्दी रहेका रहेको बेला यो कारागार संचालनमा आए पनि यस क्षेत्रका कैदीबन्दीले केही राहत पाउने थिए । दशैभरिका कारागारमा कैदीबन्दी राख्न सकिने क्षमता १०४३३ हो । तर अधिराज्य भरका कारागारमा क्षमता भन्दा बढी नै कैदीबन्दी रहेका छन् । कारागार ब्यवस्थापन बिभागको गत चैत्र मसान्तको रेकर्ड अनुसार कारागारमा रहेका कैदीबन्दीको संख्या २७३८६ रहेको छ ।

बाँके कारागार लगायत यस क्षेत्रका कारागारमा क्षमता भन्दा बढीकैदीबन्दी भए पछि नेपाल सरकारले २०७३ सालमा बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा अत्याधुनिक क्षेत्रीय कारागार निर्माण प्रक्रिया अघि बढाएको थियो ।

७ बर्षअघि शुरू भएको कारागार भवन निर्माण प्रक्रिया कार्य पुरा भए पनि अर्थ मन्त्रालयले फाईल अड्केको कारण संचालनमा समस्या भएको हो ।अर्थले आवश्यक बजेट र कर्मचारीको दरवन्दी स्वीकृती नगरि दिदा संचालनमा समस्या भएको बताईन्छ । क्षेत्रीय कारागारको आठवटा ठूला भवन, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यारेक तथा भान्सा, तीन तले प्रशासनिक भवनसहित २५ बढी भौतिक संरचना निर्माण भएका छन् ।

०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइए पनि समयमा निर्माण सम्पन्न हुन नसक्दा संचालन त्यसै ढिलाई भयो । तर, उक्त समयमा कामपुरा नहुँदा पप्पु कम्पनी कालोसूचीमा परेकाले अर्को कम्पनीले कामको जिम्मेवारी लिएको थियो ।

यस क्षेत्रकै ठुलो मानिएको यो कारागारमा तीन हजार कैदीबन्दी राख्न सक्ने क्षमता राख्ने बताईन्छ । यो कारागार संचालनमा आए पछि बाँके कारागारमा क्षमता भन्दा बढी राख्नु पर्ने समस्या समाधान भई यस क्षेत्रका कैदीबन्दीलाइ केही सहज हुने थियो । तर सरकारी उदासिनताले बनेको भवन त्यसै खेर जादा कैदीबन्दीले सास्ती ब्यहोर्नु परेको हो ।
मुद्धा फैसला भैसकेका कैदीलाई नौवस्ता कारागार र अपराधको प्रकृती अनुसार खुला कारागारमा राखिने भनिएकोमा दुवै कारागार संचालनमा आउन सकेका छैनन । नौवस्ताको कारागार संचालनमा आए पछि पनि मुद्धा फैसला नभएका मुद्धा सुनुवाईका लागी अदालत लैजानु पर्ने थुनुवा, उपचार गराउनु पर्ने बिरामी, बद्ध थुनुवाहरूलाई नेपालगंज स्थित पुरानै कारागारमा राखिने लक्ष्य राखिएको छ ।

नेपालमा कारागार (जेल) को इतिहास वि.स १९७१ बाट शुरु भएको हो । नेपालको पहिलो कारागार “सदरजेल“ हालको कारागार कार्यालय काठमाण्डौ जगन्नाथदेवल हो । २०१९ सालमा कारागार सम्बन्धी व्यवस्था गर्न कारागार ऐन २०१९ निर्माण भै उक्त ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली २०२० तर्जुमा भै लागू भएको छ । कारागार व्यवस्थापन तथा प्रशासन सम्बन्धी कार्यलाई प्रभावकारी एवं सवल बनाउन २०५० साल श्रावण १ गते देखि गृह मन्त्रालय अन्तर्गत केन्द्रिय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भै सञ्चालनमा आएको हो । नेपालको ७७ जिल्लाहरू मध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी ५ जिल्ला बाहेकका ७२ जिल्लामा ७४ कारागार कार्यालयहरू रहेका छन् । दाङ जिल्लामा घोराही र तुल्सीपुर गरी दुई ठाउँमा तथा काठमाण्डौं जिल्लामा जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) मा गरी दुई ठाउँमा रहेको छ । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था रहेको छ । कारागारमा कैद भुक्तान गरी रहेका कैदीबन्दीहरूको उपचारका लागि काठमाडौं जिल्लामा केन्द्रीय कारागार अस्पताल र ललितपुर जिल्लामा मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल संचालनमा रहेका छन् ।

बाँके लगायतका पुराना कारागार भवनहरू जिर्ण र टीनको छानो हुने र गर्भिमा बिजुली बत्तिको बैकल्पीक ब्यवस्था नहुदा कैदीबन्दीको बसाई कष्टकर रहने गर्दछ । उनहिरूको लागी शुद्ध खानेपानी, सरसफाई, आर्थिक उपार्जन गर्ने खालका शिपको ब्यवस्था, मनोरञ्जन खेलकुद, शिक्षा, स्वास्थ्य, खानपान लगायतका आधारभुत कुराका साथै कारागार संचालनका मापदण्ड पुरा गरि कारागार संचालन सकेमा मात्र उनीहरूले आधारभुत मानव अधिकार उपभोग गर्न पाउछन् ।
कारागार कार्यालय बाँकेमा क्षमता भन्दा बढी कैदी, थुनुवाहरू राख्ने गरिएको छ । क्षमता भन्दा बढी कैदी थुनुवाहरू एकैसाथ राख्ने गरिएका कारण कैदी, थुनुवाहरूको सम्मानपूर्वक बाँच्न पाउने, स्वच्छ वातावरणमा स्वस्थ रहन पाउने संवैधानिक तथा कानून प्रदत्त हकअधिकारबाट वन्चित भईरहेका छन् । बन्दीहरूको हकअधिकारको संरक्षण गरी थुनुवा, बन्दीहरूलाई प्रवाह गरिनुपर्ने सेवा सुविधा सरल, सहज र प्रभावकारी बनाउनका लागी पनि नौबस्ताको क्षेत्रीय कारागारलाई सिघ्र संचालमा ल्याईनु पर्दछ ।

मुद्धामा कैदसजाय भोगका भए पनि कैदीबन्दीले हिडडुल गर्न पाउने ब्यक्तिगत स्वतन्त्रताको हक बाहेक अन्य सबै अधिकारहरू उपभोग गर्न पाउछन् । तर नेपालका कारागारमा रहने कैदीबन्दीले आधारभुत मानव अधिकारको सम्म उपभोग गर्न पाएका छैनन । नया बनेको नौवस्ता कारागारमा मानबोचित ब्यवहार र आधारभुत मानव अधिकार उपभोग गर्न पाउने पर्ने ब्यवस्था सहित संञ्चालनमा ल्याउन अव ढिलाई गरिनु हुदैन । सरकार र सम्बन्धित पक्षको यसमा सिघ्र ज्यान जान जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया