मो. इस्तियाकलाई आफ्नै सहकर्मीको चुनौती

बाँके निर्वाचन क्षेत्र नं. २ को टिकट वितरणलाई लिएर जनता समाजवादी (जसपा)मा किचलो देखिएको छ ।

बाँकेमा टिकट दावीसम्म गर्न नदिएको भन्दै युवा नेता समसुल राईले पार्टी प्रदेशमार्फत केन्द्रमा आकांक्षाको पत्र पठाएपछि किचलो सार्वजनिक भएको हो ।


जसपा बाँकेले बाँके क्षेत्र नम्बर २ मा मो. इस्तियाक राईको एकल दावी परेको र उनकोमात्रै नाम सिफारिस गरिएको बताउँदै आएको छ । तर, वर्तमान सरकारमा मन्त्रीसमेत रहेका राईका पूर्व स्वकीय सचिव समसुल हक राईले आफुहरुलाई सूचनानै नदिएर एकलौटी रुपमा नाम सिफारिस गरिएकाले आफुले प्रदेशमार्फत केन्द्रमा नाम सिफारिस गराएको दावी गरेका छन् ।


२०६३ को मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका समसुलले इस्तियाक राईलाई पटक–पटक सांसददेखि मन्त्रीसम्म बनाउन भूमिका खेलेकाले अब उनीबाट आफुले सहयोगको अपेक्षा गरेको बताए ।

‘सधैं ममात्रै सांसद, मन्त्री बनिरहन्छु भन्ने हुनु भएन नि ! ,’ युवा नेता समसुलले दैनिक नेपालगन्जसँग भने, ‘अब उहाँ (इस्तियाक)ले आफुलाई जीवनभर साथ दिनेहरुलाई पनि मौका दिनुपर्यो, योगदानको कदर गर्नु प¥यो ।’
उनै युवा नेता समसुल राईसँग दैनिक नेपालगन्जले गरेको कुराकानीको अंश आजको विशेष


जिल्लाबाट एउटै नाम सिफारिस भएको थाहा भयो, अहिले तपाईको दावेदारी थाहा भयो, के भएको हो ?
जिल्लाबाट एउटै नाम गएको हो । जिल्लामा उम्मेदवारी छनोट गर्दा मलाई सहभागीनै गराएनन् । जिल्लाका साथीले मलाई खबर नै गरेनन् त मैले जिल्लामा आफ्नो दाबी कसरी पेश गर्ने ?
म प्रदेश कार्यसमितिको सदस्य भएको नाताले प्रदेश समितिको मिटिङमा गएको थिएँ । मैले त्यहाँ दाबी पेश गरे । मैले दाबी पेश गरेपछि प्रदेशले मेरो निवेदन केन्द्रमा पठायो । प्रदेश कमिटिले जिल्लाबाट सिफारिस भएको मन्त्रीजी र मेरो नाम सिफारिस केन्द्रमा गरेको छ ।
जिल्लाको बैठकबारे जानकारी नै नदिएकाले मैले आफ्नो दाबी पेश गर्न पाएको थिएन ।

किन खबर गरिएन होला जिल्लामा तपाईलाई ?
मैले उम्मेदवारी दाबी गर्छु भनेर नै मलाई जिल्लाको बैठकमा नबोलाएका हुन् । मैले दुई÷चार दिन अघि नै जिल्ला अध्यक्षलाई भनेको थिएँ, मैले दाबी गर्छु मेरो नाम पनि पठाउनुस् भनेर ।


तपाई त इस्तियाक जीको नजिकको मान्छे, अनि यो दावेदारीलाई के बुझ्ने ?
होइन, त्यसो । मैले पनि २० बर्षदेखि यही पार्टीमा लागेर काम गरिरहेको छु । मलाई पनि पार्टीले कहीँ न कही ठाउँ दिनु पर्यो नि ! पार्टीमा स्थापनाकाल देखि म, इस्तियाक राई र कमरुद्दिन जी ती जना मात्रै पुरानो हो । बाँकी नयाँ साथी जोडिनुभएको छ ।


पुरानो मान्छे मध्ये कमरुद्दिनजीले आफ्नो ठाउँ पाउनु भयो । मन्त्रीजीले दुई पटक सांसद जित्नुभयो । दुई पटक मन्त्री बनिसक्नु भयो । मलाई पनि त पार्टीले कहीँ न कहीँ स्थान दिनु पर्यो नि !


मैले स्थानीय तहको जानकी गाउँपालिकामा दाबी गरेको थिए । तर पछि हट्नु पर्यो पार्टीको आन्तरिक कारणले ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मन्त्री राईलाई नरुचाएर तपाईलाई टिकट दिने सिग्नल दिएपछि दाबी गर्नुभएको भन्ने पो छ त ?
यो कुरामा सत्यता छैन । मेरो दाबी गर्ने अधिकार हो मैले दाबी गरँे । मूल्यांकन गर्ने पार्टीले हो । पार्टीले मूल्यांकन गर्छ भन्ने पूर्ण विश्वास छ ।

मन्त्री राईको आफ्नो प्रभाव छ, तपाईको जित्ने आधार के टिकट पाएमा ?
मैले टिकट पाएँ भने मन्त्री राईले पनि मेरो सपोर्ट गर्नुहुन्छ नि उहाँ पनि पार्टीकै सिनियर लिडर हुनुहुन्छ । मैले पनि उहाँका लागि काम गरेको छु, १५/२० बर्षदेखि । उहाँले मेरा लागि काम गर्नुहुन्छ एकपटक ।

सल्लाह गर्न सकिन्थ्यो नि ! संवादहीनता हो र मन्त्री राईसँग तपाईको ?
दाबेदारीका सन्दर्भमा मन्त्री राईज्यूसँग मरो कुरा भएको छैन । पार्टीका नेतालाई थाहा भएपछि उहाँलाई पनि थाहा नै होला । उहाँ केन्द्रीय नेता भएकाले जुनसुकै ठाउँबाट चुनाव लड्न सक्नुहुन्छ, बाँकेमै लड्नु पर्छ भन्ने होइन, प्रदेश र देशभरी जहाँबाट पनि चुनाव लड्न सक्नुहुन्छ ।
मलाई आशा के हो भने ठूला लिडरहरु ठाउँ फेरि फेरि चुनाव लडिरहेका छन् । मलाई बाँके क्षेत्र नं. २ दिएर मन्त्रीज्यू अन्तबाट चुनाव लड्न सक्नुहुन्छ ।

प्रदेशतिर दावेदारीको बार्गनिङ हो की ?
होइन । मेरो दाबी प्रतिनिधिसभाको हो, प्रदेशतिर मेरो दाबीनै छैन ।

प्रतिक्रिया

प्रतिक्रिया