सोह्र श्राद्ध : पितृहरुको श्रद्धा गर्ने समय


कविशिरोमणि लेखनाथ पौड्याले काल महिमा शिर्षकको कवितामा लेख्नु भएको छ । भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो, आयो टप्प टिप्यो,लग्यो मिती पुग्यो, टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो । थुप्रोमा उधिनी मिठो र नमिठो छुट्टयाइ छान्दैन त्यो, खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।….. कवि लेखनाथले भने जस्तै कालले कसैको विन्ती, दया, ममता केहि नमानी आउछ, लैजान्छ । फेरि काललाई कसैले देखेको पनि छैन । कस्तो हुन्छ कसैसगं कल्पना पनि छैन । यसको प्रकृया छ । मानिस जन्मन्छ र मृत्यु हुन्छ । आखीर जीवनको सत्यनै त्यहि काल बनेको हुन्छ ।

मृत्युसँग कुनै वार्ता र सहमति हुनसक्दैन । सम्झौता हुँदैन । मृत्युुसँग कसैको पनि दोहोरो सम्वाद हुन सक्दैन । मृत्यु पूरै निरंकुश र अधिनायक हुन्छ । कस्तो विचित्रको हो यो मृत्यु । मृत्युसँग कोही पनि सामना गर्न चाहँदैन । जो पनि यसबाट परपरै भाग्न खोज्छ । मृत्यु एक्लो हुन्छ । मृत्यु जीवनको अन्तिम र सबैभन्दा दुःखद सत्य हो । यसपछि जीवितहरुसँग मृतकको याद बाहेक केही रहन्न । आफ्नो प्रिय आफन्त सदाका निम्ति हराउनुले मृतकका आफन्तलाई विचलितसमेत बनाइदिन्छ । विछोडको पीडाबाट ध्वस्त भएको मनोदशा बीच मृतकको निम्ति केही गर्ने देखि जे पनि गर्ने सम्मको इच्छा प्रकट हुन्छ । समाजमा मानिसको मृत्युपछि गरिने अनेकन संस्कार छन । त्यसमध्ये ब्रÞमनालमा सुताउने, दागबत्ती दिने, जलाउने, किरिया बस्ने, ढिकुरो खडा गर्ने र काट्टो खाई शुद्धयाइँ गर्ने, गाईदान, बर्खी बार्ने र वार्षिकी गर्ने मुख्य छन् । त्यसपछि प्रत्येक बर्ष श्राद्ध गरेर पितृहरुलाई संझने गरिन्छ ।

यो बर्ष सोह्र श्राद्ध शुरु भएको छ । सोह्र श्राद्धमा पितृहरुको उद्दारका लागि घरघर र तीर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि अर्थात दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । सोह्र श्राद्धमा दिवंगत आफन्तको तिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दसै र तिहार जस्ता ठूला चाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिन्छ ।

श्राद्ध भनेको श्रद्धा अर्थात बिश्वास हो । आफ्ना दिवंगत पितृहरुको कार्य हामीले दिएको पाउनु हुन्छ भनेर श्रद्धा र बिस्वासले उहाँ प्रति ब्राम्हण, गाई, अग्नि, नदि, दुखि, गरिव, असहायमा समर्पण गर्नु श्राद्ध हो । देखिएको वा नदेखिएको कुनैपनि आदर्श गुण, विशिष्ट कुराहरुको महत्व र शक्ति आदिबाट मनलाई प्रभावित गरी त्यसप्रति उत्पन्न हुने आदर्शपूर्ण भावना, इश्वर र धर्म आदि आफ्ना पूज्य तथा मान्यता प्रतिको सदभाव, आस्था, निष्ठा, विशवास, भक्तिभावलाई नै श्रद्धा भनिन्छ । त्यहि मान्यता अनुसार शास्त्र तथा कुलहरुको बिधी आचरण अनुसार पितृहरुले प्राप्त गर्ने गरि श्रद्धापूर्वक गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने कार्यलाई सोह्रश्राद्ध भनिन्छ ।

चाडपर्व आउनु भन्दा अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिन सनातन हिन्दू शास्त्रीय परम्परा हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । जसलाई आफ्ना परिजनहरुको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरु निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरुको आत्मालाई शान्ति प्राप्त हुन्छ । श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट बुझने र भन्ने गरिए पनि पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नुनै श्रद्धा हो । जीवित हुँदा मातापिता प्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरुको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञात स्थलमा पुगेका पितृहरुको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य हुन्छ ।

पितृकार्य अन्य कार्यको तुलनामा श्रद्धापूर्वक गर्नुपर्ने भएकोले पनि पितृहरुको उपासना गर्ने कार्यलाई श्राद्ध भनिएको हो । पितृहरुको स्मरण गर्दै ब्राह्मणहरुलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नैं हो । पूर्वजहरुलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धर्म सम्प्रदायलाई पनि रोकावट छैन । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पितामाताबाट नै आफ्नो शरीर पैदा भएको र लालन पालन, शिक्षा दीक्षा समेत प्राप्त हुने हुँदा उनीहरुको निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दुधर्मले दिएको छ ।

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ लगाए पनि यसको अर्थ पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नु हो । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु सबैको कर्तव्य हुन्छ । अर्को तर्फ मृत्यु हुँदा शरीरलाई दाह संस्कार गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरुको सम्झना गर्दै श्राद्ध गर्नु पनि उसको कर्तव्य मानिएको छ । हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वाद्र्धको पूरै पन्ध्र दिनलाई पितृपक्ष भनी दिवगत भएका आफन्तको श्राद्ध गर्ने परम्परा छ । यस अवधिलाई सामान्य बोलीचालीमा सोह्रश्राद्ध भन्ने गरिन्छ । श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध र सोह्र श्राद्ध, आभ्युदयिक श्राद्ध र तीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परि रहने श्राद्ध हुन । एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्धलाई एकोद्दिष्ट भनिन्छ । धेरै पितृको सम्झनामा गरिनेलाई पार्वण वा महालय श्राद्ध भनिन्छ । विवाह व्रतबन्ध आदि मागलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध र वृद्धि श्राद्ध भनिन्छ । यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थ श्राद्ध भन्ने गरिन्छ ।

श्राद्धको प्रमुख कार्यमा तर्पण, सिधादान, पिण्डदान र ब्राह्मण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन । अन्य कार्य पनि त्यति नै महत्वपूर्ण छन् । पिण्डदानको अगाडी पितृसूक्त पाठ गर्ने नियम छ । यसमा भूखण्डका बहुविधासँग मात्र नभई स्वर्गका देवता, पातालका नागजाति, पितृलोकका पितृहरुसँग भावनात्मक सम्बन्ध जोडिएको छ । त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई ब्रह्मादेखि किरा पतगसम्मको तृप्तिको कामना गरिएको हुन्छ । सामान्य अर्थमा पिण्ड भनेको डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राख्छ । गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ ।

श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन गरी एक छाक मात्र खानुपर्दछ । यो कर्मलाई एकभक्त (हविश्य) पनि भनिन्छ । केशमुण्डन गर्न समय, फुर्सद, अवस्था नमिलेमा कुशपानीले टाउको नुहाई पवित्र हुने चलन छ । शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने उल्लेख छ । यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राह्मण पनि सदाचारी हुनुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ ।

तर हामीकहा आजभोली मानिसको मृत्यु भएपछि मात्र श्रद्धा अर्थात श्राद्ध गर्ने प्रचलन हावी भएको छ । बाचुन्जेल उसलाई आवस्यक पर्दा केहि सहयोग नगर्ने मानिसले पनि मृत्यु पस्यात समवेदना दिने प्रचलन सुरु भएको छ । ‘जिउँदा पितृलाई माड छैन मरेको पितृलाई खिर’ भन्ने आख्यान पनि हामीकहाँ छ । जीवित छँदा पितामातालाई अत्यन्त कष्ट दिएर मरेपछि बडो पितृमातृ भक्त भएर पिण्ड तर्पण गर्ने व्यक्ति पनि समाजमा छन् । जिउँदो र मरेपछि पनि पितृहरुप्रति श्रद्धा भक्ति नभएका पितृ द्रोही युवा युवती हाम्रो समाजमा प्रशस्त छन् ।

केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो । उनीहरुलाई घर,परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे, ठूलो आदर हुन्थ्यो । बृद्धबृद्धाले आ–आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि अर्ती उपदेशको रुपमा ठूला मार्ग दर्शन बन्दथे । समाज प्रायः संयुक्त घर,परिवार प्रणालीमा चलेको थियो । एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बसेका हुन्थे । छुट्टी भिन्नभै अलग बस्ने कुरा धेरैपछि आएरमात्र लागू हुन्थ्यो । त्यसबखतका घरमुली बृद्धको स्थान अत्यन्त ओजस्वी, उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ठूलाघर का रुपमा हेरिन्थ्यो । यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो समाजिक सदभाव एवं सौहाद्रता र मर्यादित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रुपमा अत्यन्त सुन्दर ढंगबाट विकसित हुँदै आएको थियो । त्यस बेलामा गरिने श्रद्धा र मृत्यु भएपछि गरिने श्राद्धको महत्वनै भिन्न थियो ।

तर अहिले हाम्रो समाजमा विकसित मुलुकको प्रभाव र आकर्षणले नेपाली समाजमा पनि छुन थालेको छ । घरभित्र रहेका परिवारका अधिकांश सदस्यहरु, दाजुभाइहरु वयस्क उमेरमा पुग्नासाथ आफ्ना आमाबुवासँग आपसमा अलग भइ छुट्टै बस्न रुचाउने हुन थाले । समाजमा घरधुरि बृद्धि हुने अवस्था र जमिनको स्वामित्वमा विखण्डन हुने क्रम निरन्तर बढन थालेको छ । संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घटदै गएको छ । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भएका छन । जसले गर्दा श्रद्धा पूर्वक मायाँ ममता र हेरचाह गर्नु पर्ने बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने परिस्थिति हुन थालेको छ । यसको लागि सबै क्षेत्रमा कार्यरत सरोकारवालाहरु सबै निकायबीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ । यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धाप्रति संमानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगी उनीहरुमा हौसला र जाँगरको सुमधुर वातावरणको सृजना हुन जान्छ ।

संमान गर्नु पर्ने बृद्ध नागरिकको संख्या बर्षेनी बढदै गएको छ । ता पनि उनीहरुको संमान र संरक्षणका लागी सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसक्दा अप्ठेरोमा परेका बृद्धबृद्धाहरु झनै जोखिममा पर्ने गरेका छन । बृद्ध नागरिक राष्ट्रका धरोहर र जिउदा इतिहास भए पनि घर परिवार र राज्यले उचित जिम्मेवारी बहन नगरि दिदा कयौ बृद्ध बृद्धाहरु हेला र तिरस्कारको शिकार हुन पुगेका छन । नया पीढिको ब्यस्त र स्वछन्द जीवनशैली, र आधुनिकताका नाममा आत्मकेन्द्रित र स्वार्थीपना बढदै गएको कारण आफुलाई जन्म दिने आमा–बाबुलाई समेत हेला गर्ने, कुटपिट गर्ने र घरैबाट निकाली दिने सम्मका घटनाहरु हुने गरेका छन । यस्ता परिवारका सदस्यहरुले सोह्र श्राद्धमा गरेको श्राद्धलाई के भन्ने ? परिवारमा कचकच गरेको, बोझको रुपमा परिणत भएको आरोप कतिपय बृद्ध नागरिकलाई लगाईने गरिन्छ । शारिरीक आर्थिक तथा सामाजिक हैसियत कमजोर हुदै गएका कारण परिवार र समाजबाट बढी माया ममता स्याहार र सम्मान पाउनु पर्ने समयमा तिरस्कार हेला र घृणाको पात्र बन्नु पर्दा कल्पना गरौ त कति रुन्छ होला ति बृद्धको मन ?

तर पनि पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नु राम्रो कुरा हो । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य भित्र पर्दछ । मरेपछि श्राद्ध गर्नु भन्दा बाचुञ्जेल आफ्ना मातापितालाई संमान पूर्वक सेवा गर्ने बानीको बिकास गरौ अनि मात्र मरेपछि श्राद्ध गरेको सार्थकता होला ।

प्रतिक्रिया

प्रतिक्रिया