नेपाली राजनीतिका ‘धृतराष्ट्रहरु’

आज हाम्रो सनातन धर्मसँस्कृतिका रक्षकभगवान श्रीकृष्णको जन्मदिन हो ।द्वापर युगमा आजको तिथिको मध्यरात्रीमा त्यो युगलाई कर्तव्यपरायणता सम्झाउन भगवान श्रीकृष्णको जन्म भएकोले जन्मााष्टमीको दिन भनिएको हो । यो पर्व हरेक भाद्र कृष्ण अष्टमीका दिन मनाइने महान पर्व हो । आजको दिनलाई सनातन धर्मसभ्यतामा आफ्नो राजधर्मबाट च्यूतभएका राजाहरु, कर्म र कर्तव्यबाट बिचलित भारदारहरु, धर्मभक्षक भएका सिपाहीहरु, कर्म, कर्तव्य, धर्मलाई बिर्सेर अन्धा भएका धृतराष्ट्रहरुको अन्तको, धर्मसंस्था पुर्नस्थापनायर्थका लागि भगवान विष्णुको पूर्णाअवतार श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा मनाइने पर्व मानिन्छ । द्वापर युगमा जब, संसारमा अधर्मको बिगबिगी बढेको थियो । प्रजा (जनता) हरुले न्याय पाउने अवस्थाको अन्त्यप्राय भएको थियो । धर्मसंस्थाहरु र धर्मनीतिहरुको बिध्वंश भैरहेको थियो । राजाहरु धनदौलत, शासनशक्ति, परिवार र पुत्रमोहमा उन्मक्त हुँदै थिए । श्रृष्टिको चक्र नै बिथोलिने अवस्थाको निर्माण भैरहेको अवस्थामा त्यसलाई सहिमार्गमा स्थापित गर्न, आसुरी शक्तिहरुबाट धर्मसंस्थाको रक्षा गर्न, राजाहरुलाई राजधर्म सिकाउन र कर्तव्यबिमुढहरुलाई आआफ्नो कर्तव्य सम्झाउन भगवान श्रीकृष्णको प्राकट्य भएको कुरा शास्त्रहरुमा उल्लेख भएको छ ।

भगवान श्रीकृष्णको अवतार पूर्णाअवतार हो । वहाँका जन्मँदै देखि स्वधामगमनसम्म अनेकौं लीलाहरु रहेका छन् । वहाँले कुनैपनि क्षेत्रमा अलौकिक् र अदुभूत लीला देखाउन बाँकी राख्नु भएको छैन । वहाँको प्रकाट्यको प्रमुख देन श्रीमदुभगवद्गीता हो । यहि श्रीमद्भगवदुगीता भन्दा अर्को कुनै शास्त्र आज संसारको वास्तविक मार्गदशनको शास्त्र बन्न सकेको छैन ।

श्रीकृष्णजन्माष्टमीको दिनको कुरा गर्दै गर्दा आज महाभारतको प्रसङ्ग र श्रीमद्भगवदुगीताको प्रसङ्ग अनि नेपाली शासकहरुको वर्तमान प्रसङ्गको चर्चा गर्न पनि जरुरी देखिएको छ । किनपनि भने आजको पुस्ता प्राय,आज कृष्णमन्दिरमा जाने, भगवान श्रीकृष्ण अवतारको कारण खोज्ने, गीताउपदेशलाई मनन् गर्ने भन्दा पनि आफ्ना दौंतरीहरुको रुपहेर्ने, धर्म र कर्तव्य भन्दा पर रहेर गोपिनीहरुको कथासँग भगवानको अवतारलाई व्याख्या गर्नेहरुको भाष्यमा मच्चिने गरेका छन् । हाम्रा कथावाचक गुरुहरु, भगवद्वाचकहरुले पनि गोपिनीहरुसँगको लीलालाई ‘रासलीला’ मात्रैको रुपमा प्रदर्शन गरेर आजका पुस्ताको मन नै मौलो बनाउने काम गरेका छन् । यसैलाई आधार बनाएर हाम्रा राजनीतिक नेता तथा कार्यकर्ताहरुले आफ्ना कर्महरुलाई न त राजधर्मसँग जोड्न सकेका छन् न आफ्ना कार्यकर्तालाई राष्ट्रप्रतिको कर्तव्यमा बाँध्न सकेका छन् ।

आजभोली नेपाली राजनीतिमा एउटा छुट्टै महाभारत चलेको छ । भर्खरै एउटा निर्वाचन सकिएर अर्को निर्वाचनको घोषणा भएको छ । राजनीतिक पार्टीका नेतृत्ववर्गहरुलाई यसपटक आफ्नो ‘हस्तिनापुर’ ढल्ने त्राहिबाम भएको सहजै अनुमान लगाउन सकिन्छ । आजसम्म चलेको आफ्नो ‘हस्तिनापुर’ को एकलौटी अधर्मको शासन कुनै कृष्णरुपी जनताको चेतनाले सोत्तर पर्ने हो कि भन्ने लागेका ‘कौरवहरु’चुनावी युद्धको गोलबन्दीमा एउटै मोर्चा बनाउन कस्सिएका छन् ।

बर्षाैसम्म आफु र आफ्ना सन्तान, आफ्ना ज्वाईँ, सम्धी सम्धिनी, आसेपासे धुपौरेहरुकै स्वार्थमा अन्धा भएर अहंकार पालेका नेपाली सत्ताबृतका धृतराष्ट्रहरु आफ्नो हस्तिनापुरको क्षणिक वैभवता जोगाउन बिभिन्न असुरी राष्ट्रका शरणमा पुग्ने र एउटै मोर्चा बनाएर एकशुत्रीय एजेण्डा ‘जे जस्तोे गरेपनि गरौं, तर आफ्नो कुर्सी बचाऔं’ अभियानमा लागेका छन् ।

देशका जनताहरुको आज राज्य खोसिएको छ । आफ्नो धर्म खोसिएको छ । साँस्कृतिक पहिचान खोसिएको छ । आफ्नो मौलिक भाषा खोसिएको छ । आफ्नो लिपि खोसिएको छ । आफ्ना मौलिक परम्परा खानपीना खोसिएको छ । नेपाल र नेपाली अस्मिता, मौलिकता र सभ्यता नै खोसिएको छ । यतिबिध्न अन्याय र अत्याचार गरेर आफ्नै जनतालाई डस्ने धृतराष्ट्रहरु नेपाली राजनीतिमा नितान्त बेर्समीका साथ टाँसिएका छन् । अझैपनि देशलाई डुबाउन, देशको अस्तित्व नै अरुलाई सुम्पिनु परेपनि सुम्पेर देश र जनतासँग गद्दारीको प्रपञ्चमा तल्लीन छन् । यस्तै ‘धृतराष्ट्रका पथभ्रष्ट भएका सेनाहरु’ उनीहरुकै स्तुतिगानमा मस्त छन् ।

देशमा आज जुनसुकै तहमा पनि कुशासन मात्रै छ । देशको राजधानीको फोहरको ढुङ्गुरमा राजनीतिको रोटी सेक्ने काँग्रेस, एमाले र माओवादी भन्ने भष्ट्रतन्त्रका कुपात्रहरुले आफ्ना धृतराष्ट्रहरुको आदेश पालकको रुपमा काम गरेका छन् । आफ्नै बलेंसीमा फोहरका थुप्राहरु घोप्टिँदा समेत सत्तामा उन्मक्त भएका धृतराष्ट्रले ती डोबहरु छाम्न चाहेका छैनन् । राजनीतिको फोहरको थुप्रोलाई नगरको फोहरभन्दा माथि राखेर सत्ताको भर्याङ बनाउनेहरुलाई आज देश भन्दा माथि आफ्नो स्वार्थ र लूटेको सम्पतिको रक्षा भएको छ । जनताको स्वास्थ्य भन्दा माथि आफ्ना आसेपासेको सत्तारोहणको ग्यारेन्टी चाहिएको छ ।

महाभारतको युद्ध मैदानमा भगवान श्रीकृष्णले अर्जुनलाई आफ्ना भन्दा पर आफ्नो कर्तव्य हुन्छ भन्ने बोध गराउन खोज्दा श्रीकृष्णले बिराट रुपमा संसारको गति देखाउनु पर्यो । गीताउपदेशको जन्म भयो । राजा (शासक) हरुको धर्मछाडापनका कारण जन्मेका धृतराष्ट्रहरुको दशा र दिशा देखाउनु पर्यो । तर आज हाम्रा धर्मछाडा शासकहरुको दशा र दिशा देखाउन जनता नै श्रीकृष्ण बनेर उत्रिनुपर्ने भएको छ । जबजब यो संसारमा अधर्मको बृद्धि हुन्छ, संसारमा धर्म मासिँदै जान्छ, सन्त (जनता) हरु शासकको उत्पीडनमा पर्छन् । असत्यको बोलबाला हुन्छ हरेक देशभक्त, धर्मसँस्कृति भक्त जनताले आफ्नो अस्तित्वको रक्षाका लागि आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्यको रक्षा र अधर्मीको नाश गर्न उठ्नु पर्छ । यहि गीताको ज्ञान हो ।

‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।

अभ्युत्थानमधर्मस्य तदाम्मानं सृजाम्यहम् ।।

परित्राणाय साधूनां विनाशाय त दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

श्रीमद्भगवद्गीताको चौथो अध्यायको सातौं र आठौं यो श्लोकको अर्थयो युगमा आजको पुस्तालेश्रीकृष्ण मन्दिरको प्राङ्गणमा उभिएर खोज्दैन । आजको पुस्ताले जानेको भनेको नै भौतिकवाद हो । उपभोक्तावाद नै हो । पैसाले पदार्थ किन्न पाइन्छ । मान्छे पनि पदार्थ हो यसलाई पैसा भए किन्न पाइन्छ भन्ने संस्कार सिकाएको पाठले न कर्म सिकाएको छ न कर्तव्य । आधुनिक धृतराष्ट्रको पाठशालामा कुनै यस्तो सद्वाक्यको अर्थ खोजिएको देखिँदैन ।

यहाँ त कुनै कृष्णको जन्मको परिकल्पना गरिँदैन । न धर्मछाडाहरुको अन्तको कल्पना गरिन्छ । श्रीकृष्णको जन्मभन्दा पहिला पनि कंशहरुले आफ्नो अन्त्यको कल्पना गरेका थिएनन् । सीताको हरण गरेर लंका पुर्याउँदा सम्म पनि रावणहरुले आफ्नो अन्तको कल्पना गरेका थिएनन् । आधुनिक युगमा पनि हिटलरहरुले आफ्नो अन्तको कल्पना शायदै गरेका थिए । तर भगवद्गीतामा भगवान श्रीकृष्णले अन्त त अवश्यमभावी रहेको बताउनु भयो । आफु सर्वशक्तिमान र संसारको नियन्त्रक भएको बिराटरुप अर्जुनलाई देखाउँदा पनि आफुपनि सृष्टिको नियममा (कर्तव्य र धर्ममा ) बाँधिएको बताउनु भयो ।

भगवान श्रीकृष्णले आफु फेरिपनि यस्तै रुपमा अवतार लिने भन्नु भएको छैन । ‘जबजब धर्मको हानी हुनेछ, अर्धम बढ्ने छ, धर्मको रक्षाका लागि, सज्जनहरुको रक्षाका लागि, धर्मस्थापनाका लागि म पटकपटक अवतरित हुनेछु ।’ यसको अर्थलाई आज ब्यापक रुपमा लिएर केहि इतिहासका कालचक्रहरु र घटनाक्रमहरुलाई केलाएर हेर्न र बुझ्न जरुरी छ । देशको रक्षा, राजधर्मको रक्षा, जनताको रक्षा, स्वधर्म सँस्कृतिको रक्षाका लागि जनजनमा श्रीकृष्ण अवतार हुन जरुरी छ ।

सनातन शास्त्रले मात्रै बचेको छैन । शस्त्रले पनि रक्षा गर्नुपरेका उदाहरणहरु हरेकजस्तो शास्त्रहरुमा पाइन्छ । त्यसैले शास्त्रास्त्र भनिएको हो । पहिला शास्त्रकै बलमा रक्षा गर्ने हो, भएन भने अस्त्रको प्रयोग गरेर रक्षा गर्ने हो । अहिले हामीसँग शास्त्रज्ञान पुगेको छैन । शास्त्रले धर्मको रक्षा गर्न राजधर्म र कर्तव्य बुझेको शासक र जनता चाहिन्छ । अहिले जनतासँग भएको शस्त्र मतदान हो । यहि शस्त्रलाई ब्रम्हास्त्र बनाएर धर्मछाडा धृतराष्ट्रहरुलाई बनवास पठाउन जरुरी छ ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा धर्म रक्षाको भावनाको विकास होस् । सबैलाई शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया