बाँके बजार नेपालगन्ज बन्यो


अहिलेको नेपालगन्ज कुनै बेला बनजङ्गल बीचको बाके बजारको नामले चिनिन्थयो । बाँके गाउँको उत्तर तर्फ संरचनागत रूपमा ग्रामीण बजारमा दैनिक उपयोग्यका सामग्री विक्री वितरण हुने र त्यस बजारमा धेरै जसो वस्तु विनिमय हुने गर्दथ्यो । मुख्य रूपमा खानेवस्तु, मरमसला, पशु र बनजन्य उत्पादनको कारोवार हुने गथ्र्यो । त्यस बजारमा धेरै जसो व्यवसाय गर्न दक्षिणको कनोज, बरेली र बलरामपुर जस्ता बजारका व्यापारीहरु हिउँदयाममा कपडालत्ता, सुर्तीजन्य पदार्थ, गरगहना र जनावर बेच्न आउँथे भने यताबाट जडीबूटी, गाँजाभाँग, घ्यू र खाद्यान्न बैलगाडामा ल्याउने लैजाने गर्ने गरेका थिए ।
ऐतिहासिक दृष्टिकोणले यसलाई मध्यकाल (सन १२०० देखि १८५७) भनेर चिनिन्छ । यो बेला यस क्षेत्रमा धेरैजसो आदिवासी थारू समुदाय र राजभर जातीको बहुल्यता थियो । बाँके बजारको मुख्य चहल–पहल हिउँदयाम मैं हुने गथ्र्यो । चारैतिर बगैचाहरु भएकाले धेरैजसो व्यापारीहरु खुल्लामैदानमा आ–आफ्नो पसल थापेर बसेका हुन्थे । बर्षा लाग्न साथ बजार उठेर जान्थ्यो ।

आजभोलिको हाटिया बजार जस्तै बाँके बजार थियो । व्यापारीहरुले आफ्नो माल–समान बेच्ने र अर्को वर्ष पैसा पाउने गरि उधारो पनि बेचेर जाने गर्दथे । तर यस अघि बौद्धकालीन दस्तावेजहरु (६०० ईसा पूर्व देखि ईस्वी सन १२००) मा पनि यो क्षेत्र गुलजार थियो । कोशल राज्य अन्तर्गत श्रावस्ती गणराज्यमा यो क्षेत्र रहेको मनिन्छ । अट्ठकथाचार्य बुद्धघोषका अनुसार श्राबस्तीको कुल क्षेत्रफल ३०० योजन थियो र यस क्षेत्रमा ८० हजार गाउँमा करीब १८ करोडको बसोबास थियो । यो क्षेत्र सालको जंगल प्राकृतिक रुपले सुशोभित पवित्र स्थल र तप–ध्यान र अनुसन्धानका लागि उपयुक्त स्थल मन्निथ्यो । पाली साहित्यमा श्राबस्तीमा रहेका नगरका दूरीहरू उल्लेख रहेका छन् । जस अनुसार श्राबस्ती देखि तक्षशिला १९२ योजन, मच्छिकासेंड ३० योजन, उग्गनगर १२ योजन, चिनाव नदी १२० योजन, राजगृह ४५ योजन टाढा थिए । एक योजन बराबर करीब १४ किलोमिटर भनिन्छ अहिलेको श्राबस्तीलाई केन्द्र बिन्दु मानेर उग्ग नगरको दूरीलाई हेर्ने हो भने १६८ किलोमिटर टाढा रहेको सम्भावता अहिलेको नेपालगन्ज हुनुपर्छ । उहिलेको उग्ग नगर राप्ती नदीको छेउमा रहेको जसलाई त्यसबेला अचिरावती नदी भनिथ्यो । यो शहर सम्भवत अहिलेको डुढवा गाउपालिकाको बालापुर कम्दी क्षेत्र हो कि अनुमान गर्न सकिन्छ तर केही इतिहासकारहरूले यो क्षेत्र श्रावस्ती हो र अहिले भनिएको श्रावस्ती तत्कालीन उग्ग नगर हो भने मत मतान्तर रहेको पाइन्छ । यो विषय खोज, अनुसन्धान र अन्बेषण रहयो । तर जे होस बौद्धकालमा पनि यो क्षेत्र अन्तराष्ट्रिय व्यापार केन्द्र थियो । दक्षिणका नागरिक उत्तर तिब्बतसम्म आवत–जावत गर्दा राप्ती नदीको तिरैतीर पहाडी बाटो लाग्ने गरेको पाइन्छ ।

बाँके बजार कसरी भयो नेपालगन्ज

भारतमा अंग्रेजहरू विरुद्ध अवध राज्यले विद्रोह सुरु गरेको थियो । गदर विद्रोहको नामले परिचित उक्त विद्रोहलाई दबाउन र अंग्रेजलाई सघाउन जंग बहादुरले निर्णय गरे । त्यो वेला जंग बहादुर बेलायत भ्रमण गरेर नेपाल फर्केर अंग्रेजहरू संग राम्रो सम्बन्ध बनाई सकेका थिए । सन् १८५७ जुलाई २ मा उनले कर्णेल मदन मान सिंह बस्नेतको नेतृत्वमा सिपाही पठाए सो टोली बुटबलबाट भारतीय क्षेत्रमा प्रवेश गर्यो । नेपाली सिपाहीहरु अंग्रेजको योजना अनुसार सघाउँदै बढीरहेका थिए तर चन्द्रापत्तीमा विद्रोहीको आक्रमणमा परि नेपाली कामान्डर मृत्युवरण गरे । त्यसपछि अंग्रेज भायसराय लर्ड क्यानिङ्गले नेपाल सरकार संग थप सहयोग माग गरे । दोश्रो पटक जंग बहादुरले आफ्नै नेतृत्व मा वि.स. १९१४ मंसिर २७ गते ठूलो काफिला लिएर विभिन्न स्थानमा आक्रमण गर्दै उनको टोली तीन महिना पछि वि.स १९१४ फागुन २७ गते लखनऊ पुग्यो । अंग्रेज सैनिक र नेपाली सिपाहीको संयुक्त टोलीले अवधमा आक्रमण गरे जसलाई लखनऊ लूटको नामले इतिहासमा यो घटना दर्ज छ । यो लडाईमा केही नेपाली सिपाही मृत्युवरण गरे भने केहीलाई विद्रोहीले कब्जामा लिएका थिए । अवध नवाबको प्रमुख दरबार कब्जा भए पछि त्यहाँ रहेका आभूषण जवाहरात धन सम्पनि लूट गरि ल्याइएको थियो ।

लखनऊको लडाईमा नवाब की रानी बेगम हजरत महल र उनका छोरा विरंजिस कद्र भागे । जंग बहादुर लखनऊको लड़ाई सकेपछि इलाहाबाद गए । त्यही वेला उनलाई बेलायत सरकार सन १८१६ को सन्धि अनुसार गोर्खाली सरकारबाट लिएको जमिन फिर्ता गर्न चाहेको जानकारी गराइएको थियो ।

जंगबहादुर इलाहाबादबाट बनारस हँुदै वि.स. १९१५ वैशाख २३ गते काठमाडौँ फर्केका थिए । अंग्रेज सरकारले बि.स.१९१७ कार्तिक १७ गते सीमा सन्धी अनुसार बाँके, बर्दिया, कैलाली र कंचनपुर भू–भाग नेपाललाई सुम्पेका थिए । जंगबहादुरले यही नयाँ मुलुकमा रहेको बाँके बाजारलाई नयाँ नाम दिई नेपालगन्ज शहर ब्यास्थित गर्न बडाहाकिम सिद्धिमान सिंह राज भण्डारीलाई पठाएका थिए । वि.स.१९१७ साल मै दुई वर्ष भित्र व्यवस्थित शहर बनाउन निर्देशन दिएका थिए । गदर आन्दोलनबाट भागेका विद्रोहीहरुको केही समूहहरू पनि लुकेर यहि नेपालगन्जमा बसोवास गरे भने दक्षिणबाट आउने व्यापारीहरु समेतको सहभागितामा यो बजार अहिलेको आधुनिक शहरको रूप लिदैछ ।

यसरी ऐतिहासिक कालखण्ड बौद्धकालीन अचिरावती सभ्यताको प्रचीन उग्गनगर–श्राबस्ती हुंँदै तुल्सीपुर राज्यको बाँके बजार बि.स.१९१७ कार्तिक ३१ गते जंगवहादुरको निर्देशनमा नेपालगन्ज नामाकरण भयो । यो दिनलाई नामाकरण दिवस भन्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया