पत्रकार महिलालाई प्रोत्साहन गर्दै उपमहानगर: पत्रकारिता पुरस्कार घोषणा

नेपालगन्ज उपमहानगरपालिकाले जिल्लाका पत्रकार महिलाहरुलाई प्रोत्साहनको नीति लिने भएको छ । पत्रकार महिला संगठित संस्था, सञ्चारिका समूहले बुधबार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुसँगको अन्तक्र्रियात्मक कार्यक्रममा नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले संयुक्त रुपमा पत्रकार महिला प्रोत्साहनको नीति उद्घोष गरे ।

‘हामी बर्षेनी सञ्चारिका समूहको सिफारिसमा एक जना पत्रकार महिलालाई प्रोत्साहन स्वरुप नगर राशी सहितको पुरस्कार प्रदान गर्नेछौं’, नगर प्रमुख विष्टले छेउमै रहेका उपप्रमुखसँग सल्लाह गर्दै भने, ‘हामीलाई विश्वास छ यसले पत्रकारितामा महिलाहरुको सहभागितामा वृद्धि र निरन्तरतामा प्रेरणा दिनेछ ।’

नगर प्रमुख विष्टले त्यसो भनिरहँदा कार्यक्रमको अध्यक्षता गरिरहेकी सञ्चारिका समूहकी बाँकेकी अध्यक्ष रुपनी जिएमले नगद पुरस्कार सहितको सम्मानले पक्कै पनि हौसला पुग्ने प्रतिक्रिया दिंदै भनिन्, ‘त्यो रकम कति होला ?’ तत्कालै नगर प्रमुख र उपप्रमुख बीचमा परामर्श भयो र तोकियो, प्रारम्भिक रुपमा बार्षिक २१ हजार रुपैयाँ । ‘तपाईहरुको सहभागिता र उत्साहका आधारमा यो रकम बढाउँदै लगिनेछ’, नगर प्रमुख विष्टको त्यो कुरा सकिन नपाउँदै उपप्रमुख राईले भने, ‘सञ्चारिका समूहले भोलि नै लिखित रुपमा यो प्रस्ताव हाम्रो टेबलमा पुर्याओस्, अबको पहिलो बैठकबाट यसलाई मूर्त रुप दिनेछौं ।’

यसअघि नेपालगन्ज उपमहानगरपालिकाले नगरमा उत्कृष्ट सञ्चारकर्मी र उत्कृष्ट सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने नीति लिएको थियो । यद्यपि, पछिल्ला बर्ष यसले निरन्तरता पाउन सकेको थिएन ।

सञ्चारिका समूहले बाँकेका आठ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्वागत सम्मानसँगै जिल्लामा पत्रकार महिलाको अवस्था र महिला मुद्दा बारे अन्तक्र्रियात्मक छलफलको आयोजना गरेको हो । कार्यक्रमको महत्व र औचित्यमाथि प्रकाश पार्दै सञ्चारिका समूहका पूर्व क्षेत्रीय अध्यक्ष डा. मुना श्रेष्ठले महिलाहरुको समग्र अवस्था उजगारमा स्थानीय तहहरुले पत्रकार महिलालाई सहयोग पुर्याउन आग्रह गरिन् ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, बैजनाथ गाउँपालिकाका उपप्रमुख निर्मला रोकाय, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सञ्चारिका समूहका प्रदेश उपाध्यक्ष रुपा गहतराज, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली, सञ्चारिका समूह बाँकेका उपाध्यक्ष सरला सुवेदी लगायतले बोलेको कार्यक्रमको सहजीकरण सञ्चारिकाका सचिव पवित्रा परियारले गरेकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया