रहेनन् व्यवसायिक अगुवा दामोदर आचार्य

व्यवसायिक नेता दामोदर आचार्यको शनिबार विहान निधन भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य आचार्य क्यान्सरका कारण विगत लामो समयदेखि अस्वस्थ रहेका थिए ।

५९ बर्षीय आचार्यको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएपछि व्यवसायिक क्षेत्रले अभिभावक गुमाएको प्रतिक्रिया दिएका छन् । हालै भारतको दिल्लीमा उपचार गराएर फर्किएका उनको अवस्था बिग्रेपछि अस्पताल लगिएको थियो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका आचार्यको निजी निवास तथा नेपालगन्ज उद्योग वाणिज्य संघमा श्रद्धाञ्जलीका लागि राखिएपछि राप्तीनदीमा शोक सभा गर्दै धार्मिक परम्परापछि अन्येष्टि गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्मा सहितका विशिष्ट व्यक्तित्वहरु आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको निधन प्रति नेपालगन्ज उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ति मार्फत दुःख व्यक्त गरेको छ । आचार्यको धर्मपत्नी पार्वती आचार्य संघ कार्यसमिति सदस्य समेत हुन् । उनको एक छोरा र तीन जना छोरी रहेका छन् ।

२०१९ साल कात्र्तिक १७ गते प्युठानमा जन्मिएका आचार्य सरकारी सेवा हुँदै २०४९ सालमा नेपालगन्जको व्यवसायीक क्षेत्र लागेका थिए । उनले आफुलाई नेपालगन्जको आर्थिक, सामाजिक एवं राजनीतिक आन्दोलनको सशक्त अगुवाकारुपमा स्थापित गर्न सफल भएका थिए । २०६३ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भई यहाँको व्यवसायिक हकहित र संघलाई नयाँ उचाईमा पुर्याउन उनले खेलेको भूमिका महत्वपूर्ण रहेको संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवि ओलीले व्यवसायिक नेता आचार्यको निधनबाट संघले एउटा सशक्त र भरपर्दो नेतृत्व गुमाएको बताएका छन् । आचार्यको निधनको शोकमा शनिबार नेपालगन्ज बजार बन्द गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया