टीएस ठकुरी
मान्छे सफल वा असफल भाग्यले होइन, कर्मले हुन्छ । यदि कोही भाग्यले केही कुरा प्राप्त गर्छ भने पनि त्यो क्षणिक हुन्छ । अतः सफलता भाग्यको खेल होइन कर्मको प्रतिफल हो । धर्मशास्त्र एवं नीतिशास्त्रहरुमा प्रस्टरुपमै भनिएको छ कर्म बिना गति छैन । सनातन धर्म भाग्यवादीहरुको धर्म होइन । कर्मबाटै भाग्यको जन्म हुन्छ । हाम्रा महान ग्रन्थ वेद, उपनिषद र गीता तीनवटैले कर्मलाई कर्तव्य बताएका छन् र कर्मकै महत्व बखान गरेका छन् । कर्म नै पुरुषार्थ हो । श्रेष्ठ एवं निरन्तर कर्म गर्नाले वा उचित मार्गमा सक्रिय बनिरहनाले पुरुषार्थ फलित हुन्छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको सफलतालाई भाग्यको खेल भन्नेहरु पनि छन् । महानगर यात्रामा गफिंदा मैले उनलाई सोधें–‘तपाईंको सफलता भाग्यको खेल कि कर्मको प्रतिफल?’ ‘कर्मको प्रतिफल’ उनले सटिक जवाफ दिए–‘मेरो मेहनत, संघर्ष र निरन्तरता नै सफलताको राज हो ।’
बहुप्रतिक्षित आठौं राष्ट्रिय खेलकुदमा चार खेल आयोजनाको जिम्मेवारी खजुरा गाउँ पालिकाले पाएको छ । जुन हालसम्मको नेपालको राष्ट्रिय खेलकुद इतिहासमा दुर्लभ अवसर हो । यी र यस्तै अवसरले पनि उनलाई भाग्यमानी सम्झनेहरु धेरै छन् । प्राय खेलउत्सव जिल्ला सदरमुकाम केन्द्रित हुनेगर्दछन् । आठौं राष्ट्रिय खेलकुदको मुख्य भेन्यु नेपालगन्ज हो । जहाँ उद्घाटन र समापन समारोह हुनेछ । लामो समय साविक मध्य तथा सुदुरपश्चिमको नेतृत्वदायी सहर नेपालगन्जलाई केन्द्र बनाएर प्रदेश नं ५ का दाङ, बर्दिया, कपिलबस्तु र रुपन्देहीमा ३५ खेल सञ्चालन गरिंदैछ । त्यसमा भलिबल(पुरुष तथा महिला), बक्सिङ(पुरुष तथा महिला), हक्की(महिला) र फुटबल खजुरामा सञ्चालन गरिनेछ । यसका लागि शुक्र भलिबल स्टेडियम(सितापुर, खजुरा) तयारी अवस्थामा छ । बक्सिङका लागि ज्ञानोदय नमुना उच्च माविको परिसरमा बक्सिङ रिङ खडा गरिसकिएको छ । उता शुक्र माविको मैदान महिला हक्कीका लागि तयार गरिएको छ । डिगाउँस्थित फुटबल मैदान पनि आठौंको पर्खाइमा छ । ‘खजुरालाई दुलही झैं सिंगारिनेछ ।’ प्रमुख कक्षपति भन्छन्–‘हामी साँच्चिकै उदाहरणीय गरेर देखाउने तयारीमा छौं ।’ आठौंको आयोजनालाई सार्थक बनाउन खजुराले प्रमुख भुमिका खेल्नेमा उनी बिश्वस्त छन् । यसका लागि उनले बिभिन्न पेशा, व्यवसाय सम्बद्ध व्यक्ति तथा संघसंस्थाको समन्वय बैठक डाकेर तयारी थालिसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र दर्जन खेल सञ्चालन हुनेछन् । छिमेकी कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुरुष क्रिकेट हुनेछ भने कोहलपुर र बैजनाथ रुटमा साइक्लिङ हुनेछ । नेपालगन्जको गर्मीलाई कतिपयले चुनौति देखिरहेका छन् । यसमा उनको आफ्नै तर्क छ–‘सेना, प्रहरी र खेलाडीलाई जुनसुकै मौसममा पनि दौडन र कुद्न तयार पारिएको हुन्छ, न जाडो न गर्मी ।’
उनको यो तर्कमा सहमत हुन सकिने आधार छ । किनकी आलोचकहरुले सोचेजस्तो मध्यान्हको गर्मीमा खेल पक्कै खेलाइदैन । खेल विज्ञहरुले बिहान र साँझपखको समय चयन गरेका छन् । आउटडोर खेलहरु चैत २७ गतेदेखि नै सुरु गरिनेछ, गर्मी बढेसँगै इन्डोर खेल सञ्चालन गर्ने तयारी छ । यसरी नै विज्ञहरुले खेलतालिका बनाएका छन् । खेलाडीलाई गर्मीको महसुस हुन नदिने त्यस्तो केही बिशेष तयारी पनि छ? मैले पालिका प्रमुख कक्षपतिलाई सोधेको थिएँ । ‘यहाँ(खजुरा)को आतिथ्यता, सरसफाइ र भव्यताले खेलाडीलाई गर्मीको अनुभुति हुनेछैन, उनीहरु आफ्नो प्रदर्शनमा मात्र ध्यान दिनेछन् ।’ उनले भने–‘आठौं सकिएपछि खेलाडीहरुले गर्मी हैन, खजुराको माया मनभित्र लिएर जानेछन्, हाम्रो तयारी यसरी नै भएको छ ।’
खजुराले यसअघि यस्ता कैयन दृष्टान्त पेश गरिसकेको छ । २०६७ सालमा नेपाल भलिबल संघले दोस्रो राष्ट्रिय बिच भलिबल खजुराकै गौघाट(सितापुर)मा आयोजना गरेको थियो । सिंगो खजुराले अपनत्व लिएको उक्त प्रतियोगिता ऐतिहासिक बनेको खजुरावासीको बुझाइ छ । सायद त्यही बिच भलिबलले समग्र खजुरावासीलाई खेलकुदको महत्व दर्शाइदिएको थियो । त्यसपछि नेपाल एथलेटिक्स संघको आयोजनामा दोस्रो जुनियर एथलेटिक्स च्याम्पियनसीप पनि खजुराकै सितापुरस्थित शुक्र माविको मैदानमा भयो । ‘सो आयोजनाबाट एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहदेखि खेलाडी, प्रशिक्षक र अफिसियलको मुहारमा जुन खुशी देखें, मलाई थप उत्साहित बनायो ।’ कक्षपति भन्छन्––‘त्यसपछि त मलाई लाग्यो, खेलकुदमा त नयाँ केही गर्नैपर्छ ।’
खेलकुदले समाज जोड्छ, देश जोड्छ । खेलकुदले जात र धर्म चिन्दैन । यसको एउटै भाषा हुन्छ । कक्षपतिले यो सब राम्रोसँग बुझेका छन् । त्यसैले त विद्यालयस्तरीय मेयर गेम्स सुरु भयो खजुरामा यसैबर्षदेखि । सबै विद्यालयलाई अनिवार्य सहभागिताको उर्दी जारी गरेर कक्षपति मिनी ओलम्पिकको झल्को दिनेगरी गत महिना फागुन ३ देखि ७ गतेसम्म जनसेवा मावि गिजरामा भव्य मेयर खेलकुद आयोजना गराए । भलिबल, एथलेटिक्स, कबड्डी, चेस र जुडो समावेश गरी मेयर खेलकुदको यात्रा आरम्भ गरियो । त्यसले पालिका अन्तर्गतका सबै ६६ विद्यालयले भाग लिए । यसले सबै खेलका प्राय सबै खेलाडी एउटै मैदानमा एकैपटक भेट गर्ने अवसर जुरायो । यसले दिने सन्देश कक्षपतिले राम्रोसँग बुझेका छन् । जुनसुकै खेलकुद कार्यक्रम आयोजना गर्दा उनी समन्वय बैठक डाक्छन् । विज्ञहरुका सल्लाह लिन्छन् । यो नै उनको बिशेषता हो । सायद पालिकामा विज्ञ समुह गठन गर्ने पनि जिल्लामा उनी नै पहिलो हुन् । ‘सहभागितामुलक निर्णय नै दिगो हुन्छ, प्रभावकारी हुन्छ ।’ उनी भन्छन्–‘लोकतन्त्रमा छलफल, बहस जरुरी छ । निर्णय र कार्यान्वयन गर्ने जिम्मा पो नेतृत्वको । छलफलमा सबैलाई सहभागि गराउँदाको नतिजा फलदायी हुन्छ ।’
उनले यो सब लामो समयको मेहनत र संघर्षबाटै सिकेका हुन् । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ३ मा जन्मिएका किस्मत २०३३ सालतिर स्थानीय महेन्द्र हाइस्कुलमा निमावि स्थायी शिक्षक थिए । बुटवल क्याम्पसमा प्रविणता तह अध्ययन गर्थे । त्यतिबेला २०३६ सालको विद्यार्थी आन्दोलनमा भाग लिए । २०४० सालमा त्रिभुवन बहुमुखी क्याम्पस(पाल्पा)मा स्नातक तह(बिकम) अध्ययन गर्दैथिए । राजनीति चेतना बढ्दै थियो । २०४६ सालमा बहुदलीय प्रजातन्त्र प्राप्तिको जनआन्दोलन सुरु भयो । त्यसमा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको नेतृत्वदायी भुमिकामा रहेको उनी बताउँछन् । लगत्तै जर्मनीको फ्रयाङ्फर्ट पुगे । करिब ६ बर्ष उतै बिताए । त्यसपछि २०५३ सालमा खजुरामा कक्षपति राइस मिल खोली व्यवसायिक यात्रा थालेका कक्षपति व्यवसायिक सफलता हासिल गर्दै अघि बढे । व्यवसायिक क्षेत्रमा कक्षपति राइस तथा आयल उद्योग र बिज्ञान ट्रेडिङ सञ्चालनमा छन् । यी दुवै व्यवसाय छोराहरु बिज्ञान र बिश्वासले हेर्छन् । अष्ट्रेलियामा रहेको छोरालाई नेपाल बोलाएर आफु पुर्णकालीन राजनीतिमा होमिएका थिए । त्यसअघि नै सामाजिक कार्यहरुमा पनि उनको सक्रियता बढ्दै गएको थियो । खजुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा दुई कार्यकाल निर्वाचित अध्यक्ष भएर काम गरे । ज्ञानोदय नमुना उच्च माविको व्यवस्थापन समितिमा चार कार्यकाल(१२ बर्ष) बिताए । यसले पनि उनलाई सबैसँग सम्पर्क बढाउन सघायो । उता व्यापारिक कामले पनि सम्बन्ध बिस्तार गराएकै थियो । लायन्स क्लब अफ नेपालगन्ज खजुराको संस्थापक अध्यक्ष कक्षपति प्रखर परोपकार मिसन नेपालका पनि संस्थापक अध्यक्ष हुन् । २०६२ सालमा स्थापित प्रखर परोकार मिसन नेपालले नेपाल क्यान्सर अस्पताल जन्माएको हो । जुन अहिले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका नामले नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित छ । ‘अस्पतालको नामाकरण र स्वामित्वका सवालमा पनि धेरै बहस र विवाद भए, तर मैले त्यस्ता कुरा सुनिन । अहिले साढे सत्र करोडको टेन्डर प्रक्रिया तयारीमा छ, किमो सेवा सुरु भइसकेको छ ।’ उनी भन्छन्–‘विकास र सेवामा दलगत गन्ध हुनुहुँदैन भन्ने मेरो मान्यता हो, अस्पताल लगायत सामाजिक संघसंस्थामा मैले कहिल्यै यस्तो आभाष हुन दिएको छैन ।’
क्यान्सर अस्पताल देशकै नमुना बन्नेमा उनी आशावादी छन् । वास्तवमा क्यान्सर अस्पतालले उनमाथि जनताको भरोसा बढाएको मान्नेहरु पनि छन् । उनको लगाव र निरन्तरताको प्रतिफल हो क्यान्सर अस्पताल ।
मानिस निरन्तर कर्म गरी नै रहन्छ । सुतेको व्यक्तिले पनि कर्म गरिरहेको हुन्छ । कर्मको सम्बन्ध हाम्रो शरिर, मन, मस्तिष्क एवं चित्तको गतिसँग छ । गति कहिल्यै पनि रोकिंदैन । रोकिनुमा पनि एक किसिमको गति छ । यसै कर्म गतिबाट नै पछिल्लो कर्मको गति निर्मित हुन्छ । केही कर्म त्यस्ता छन् जसको फल चमत्कारको रुपमा देखा पर्छन् । सायद क्यान्सर अस्पताल, त्यसपछि उनको राजनैतिक यात्राको सफलता कर्मका फल हुन् ।
उनी खजुरालाई नमुना पालिका बनाउने अभियानमा दृढ छन् । संघीय सरकारको २५ बर्षीय र प्रदेश सरकारको १५ बर्षीय अद्यावधिक योजनालाई मध्यनजर गर्दै पालिकाको गुरुयोजना तयार गरिसकेका छन् । शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदका क्षेत्रमा साँच्चिकै नमुना बनाउने उदघोषका साथ अघि बढिसकेका छन् ।
चारवटै वेदको उद्घोष छ, समयले तिमीलाई बदल्नुपुर्व नै तिमी आफैंले स्वयं वा समयलाई बदल, यही नै कर्मको मुल सिद्धान्त हो । अन्यथा तिमीले प्रकृति वा अरुका अनुसार नै जीवन बिताउनुपर्ने हुन्छ । वेदले राजा(शासक)देखि नागरिकसम्मलाई आफ्नो बुद्धि विवेक र तहअनुसारको कर्म गर्न निर्देश गरेको छ । पालिका प्रमुख कक्षपतिले यो सब आत्मसात गरेका छन् ।
कर्म गरेर खाने वर्गलाई वैदिक हिन्दुशास्त्रले गुणगान गरेकै छन् । रुपमा श्रम, तपस्या वा कर्मशीलताको महत्व बिभिन्न प्रसंगमार्फत दर्शाइएको छ । भाग्यको भरमा आलस्य गरेर बस्नेको निन्दा गरिएको छ । सुतिरहने सिंहको मुखमा आहार आफैं आएर पस्दैन । आहारका लागि मिहिनेत गर्नुपर्छ, त्यसैगरी उद्योगी वा कर्मशील मानिसलाई मात्र लक्ष्मीले पत्याउँछिन् भन्ने हितोपदेशको भनाइ छ । अरुमाथि अन्याय हुने कर्म, अन्यायपुर्ण तरिकाले आर्जन हुने धन, यसरी आर्जित गरिने मोजमस्तीको पक्ष वा कुकर्मको विरोध गरिएको छ ।
भाग्य कर्महरुको फल हो, कुनै ईश्वर इच्छित वस्तु होइन । हामी नित्यप्रति केही न केही कार्य गर्छौं र त्यसको परिणाम पनि हामीलाई प्राप्त हुन्छ । यही परिणाम नै हाम्रो भाग्य हो । भाग्यलाई मनुष्य स्वयंले बनाउँछ, ईश्वरले होइन ।
किस्मतको किस्मत उनी स्वयंले निर्माण गरेका हुन्, उनको निरन्तर कर्मले नै उनको किस्मत बलियो बनाएको हो । उनी कर्मशील मनुष्य हुन् । आठौं राष्ट्रिय खेलकुदका यी चार इभेन्टले पनि उनको किस्मत निर्धारण पक्कै गर्नेछ । आठौं सफल होस ।