मेडिकल कलेजका डाक्टरले निकाले डेढ किलोको ट्युमर

निःशुल्क उपचार
मेडिकल कलेजका चिकित्सकहरुको एउटा टिमको सहयोगका कारण नरैनापुरका ७२ बर्षिय ज्येष्ठ नागरिकले डेढ किलो ट्युमरबाट छुटकरा पाएका छन् । बाँके नरैनापुर–६ का ओरीलाल अहिरले उपचार अभावमा बर्षौदेखि घाँटीमा झुण्डाएर हिडेको ट्युमर नेपालगन्ज मेडिकल कलेजका चिकित्सक टिमले शल्यक्रिया गरी निकालिदिएको हो । १० बर्षको उमेरमा भएको ट्युमरबाट ६२ बर्षपछि अहिरले छुटकरा पाएका हुन् ।

 
नेपालगन्ज मेडिकल कलेजमा डेढ किलोको ट्युमर निकालिएको यो पहिलो भएको आइतबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सहायक निर्देशक डा. कुमार पोखरेलले जानकारी दिएका छन् । ‘सञ्चारमाध्यमबाट आर्थिक अभावमा डेढ किलोको ट्युमर लिएर ज्येष्ठ नागरिक हिड्न बाध्य रहेको थाहा पाएपछि निःशुल्क उपचारको निर्णय गरेका थियौं’, डा. पोखरेलले भने, ‘गते चैत्र ८ गते शल्यक्रिया गरी ट्युमर निकालिएपछि अहिलेको अवस्था सामान्य छ ।’ उनको सम्पूर्ण उपचार खर्च अस्पतालको टिमले नै बेहोरेको छ ।

 
‘एक साताभित्र अहिर घर फर्कन सक्छन्’, अस्पतालका निर्देशक डा. एम किदवाईले भने । पत्रकार सम्मेलनमा उनले आर्थिक रुपमा विपन्न वर्गको उपचारमा अस्पतालले सघाउँदै आएको जानकारी दिए । अहिरको डेढ किलोको ट्युमर डेन्टल सर्जन डा. द्वारिका प्रसाद बजगाई, डा. अरुण कुमार महत र नाक, कान, घाँटी रोगका डा. अन्सु शर्मा, एनेस्थेटिक डा. नविन रेग्मी, डा. कपिल पोखरेल लगायतको चिकित्सक तथा प्राविधिक टोलीले निकालेको थियो ।


ट्युमर शल्यक्रियामा सहभागी चिकित्सक डा. द्वारिका प्रसाद बजगाईले ट्युमरका विरामी धेरै हुने गरेपछि यति ठूलो ट्युमर विरलै हुने गरेको बताए । ‘अहिरको उपचारमा जोखिम र जटिलता दुवै थियो’, डा. बजगाईले भने, ‘ट्युमर पुरै काटेर निकालिएको छ ।’ उनले ट्युमरको केही अंश हिस्टो प्याथोालेजीको लागि प्रयोगशालामा पठाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया