महानगर गाथा

मनु स्मृतिका अनुसार कपाल फुल्दैमा कोही बुढो हुँदैन । उमेरले ५५ बर्षीय दामोदर आचार्यका कपाल र दारी पुरै सेताम्मे छन्, जोश जाँगर र विचार भने निकै तन्नेरी छ ।

 
महानगरको यात्रामा भेटिएका उनै आचार्यसँग झण्डै डेढ घण्टा गफिंदा पुष्टि भयो–‘उनको स्पष्ट सोंच, मिसन र भिजन ।’ उनीसँग अनगिन्ती सपना छन्, समृद्ध नेपालगन्जका बारेमा । त्यही भएर त कहिले संघीय निर्वाचनमा होमिन्छन्, कहिले स्थानीय तहको नेतृत्वका लागि । यी सबै नेपालगन्जकै बृहत्तर विकासका लागि हो भन्नु सायद कन्जुस्याईं नहुनुपर्ने हो । किनकी भनाइ नै छ नि ‘गुणग्राही समाजले मात्रै उन्नतिको दिशा तय गर्दछ ।’ उद्योगी व्यवसायीबीच लोकप्रिय छवि निर्माण गरेका आचार्यलाई सोध्न मन लाग्यो–‘जनप्रतिनिधि छान्ने सवालमा चाहिं किन नेपालगन्जवासीले कन्जुस्याईं गरे होलान् त?’

 
‘चुनाव जित्नु र हार्नु प्राविधिक पक्ष हो, म चाहिं जनताको सेवक नै हुँ ।’ उनी भन्छन्–‘निर्वाचित प्रतिनिधिले मलाई नसुन्नु पनि राजनीतिक संस्कार हैन, निश्चित जनमत मेरा पक्षमा पनि त छ नि ।’ निकटतम प्रतिद्वन्द्वीका विचार र मुद्दालाई पनि सम्बोधन गर्दै जानु असल राजनीतिज्ञका गुण हुन् । असल राजनीतिक संस्कार पनि हो ।
करिब दुई दशक अघि जब आचार्य व्यापारका सिलसिलामा छिमेकी मुलुक चीनको ग्वान्झाव पुगेका थिए, त्यहाँ ठुलै एक्स्पो चलिरहेको थियो । उनले त्यहाँ प्रदर्शनी स्थल अवलोकन गर्ने मौका पाए । त्यसले उनलाई निकै लोभ्यायो । स्थायी संरचनाको प्रदर्शनी स्थलमा राखिएका बिभिन्न उत्पादन आफैं ब्रान्डिङ भइरहेका थिए, एक्सपोजर पाइरहेका थिए । उनले नेपालगन्जमा यार्चागुम्बा, मार्सी चामल लगायत जडीबुटी तथा स्थानीय उत्पादनलाई सम्झिए, त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न त्यस्तै खालको प्रदर्शनी भवनको आवश्यकता महसुस गरे । त्यहीं यसको परिकल्पना गरे । त्यहीँ उनले नेपालगन्जमा यस्तै सभागृह भवनका साथै प्रदर्शनी स्थल निर्माणको सपना देखे । त्यति ठुलो परियोजना व्यक्तिगत पहलमा सार्थक हुन सम्भव थिएन ।

 


उनी जब नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भए, उनले यसका लागि नेतृत्वदायी पहलकदमी लिए । अथक प्रयासका वावजुद सुर्खेतरोड नजिक सडक डिभिजनको दश विगाहा सरकारी जमिन फेला पारे । त्यो जमिन उद्योग वाणिज्य संघले ३० बर्षका लागि भोगाधिकार गर्नेगरी सरकारबाट प्राप्त गर्न सफल भयो । त्यसअघि व्यापार मेला एक पटक न्युरोड पुर्व गणेशपुर नजिक आयोजना गरियो । अर्कोपटक वाटरपार्क नजिकै आयोजना भयो । दुवै ठाउँमा हरेक पटक माटो पटान गर्नुपर्ने झन्झट रहिरहन्थ्यो । करिब २०, २२ लाख रुपैयाँ खर्च पनि हुन्थ्यो । सडक डिभिजनको यो जमिन उद्योग व्यापार संघका लागि ढुंगा खोज्दा देउता भेटे झैं भयो । जहाँ माटो पटानको झन्झट छैन, बर्षेनी सहजै मेला आयोजना गर्न सकिन्छ । आयोजना हुँदै आएको पनि छ । यो जमिन भोगाधिकारका लागि प्राप्त गर्न पनि कम्ता कसरत परेन । आचार्य स्वयं बिभिन्न दलका नेता, मन्त्रीदेखि आवश्यक सबैका ढोका चहारे । अन्ततः जमिन प्राप्त भयो । नेपाल सरकारको मन्त्री परिषद निर्णयबाट जमिन प्राप्त भएको थियो २०६४ सालमा ।

 
जमिन त हात लाग्यो, अब काम कसरी थाल्ने ? फेरि यो झन्झट आइलाग्यो । उनले बिभिन्न दुतावास धाए । चिनियाँ दुतावास सकारात्मक भयो । अन्य दुतावासले पनि सकारात्मक रुपले लिए । यद्यपी चिनियाँ दुतावासले छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघको सिफारिश पत्र माग्यो । तत्कालीन नेतृत्व आचार्यप्रति हल्का अनुदार थियो, सिफारिश दिन कन्जुस्याईं गर्यो । उता काम रोकियो, यता संघमा आचार्यको कार्यकाल सकियो ।

 
यसैबीच उनी सक्रिय राजनीतिमा प्रवेश गरिसकेका थिए । राजनीति उनको प्यासन थियो । विद्यार्थीकालदेखि उनी राजनीतिमा थिए । प्युठानको स्वर्गद्वारी क्याम्पसको पहिलो सचिव हुन् अनेरास्ववियुमा । यो २०३७ सालको कुरा हो । २०४८ सालमा कर्मचारी आन्दोलनमा कालोपट्टी बाँधेकै कारण उनी निलम्बनमा परे । उनी सल्यान जिल्ला विकास समितिमा कार्यरत थिए । यहींदेखि उनको जीवनले फरक मोड लियो । व्यापार व्यवसाय गर्ने, आर्थिक रुपमा मजबुत हुने । अनि राजनीतिमा लाग्ने मनसाय बनाए । नेपालगन्ज आए, आचार्य इम्पोरियम सुरु गरे । सानो लगानीबाट सुरु गरेको यिनको बिजनेसले आयतन बढाउँदै लग्यो । मध्य तथा सुदुरपश्चिमका अधिकांस जिल्लामा तयारी पोशाकको व्यापार बढाए । व्यापार व्यवसायको अढाई दशकको यात्रामा उनी अझैं आचार्य इम्पोरियममै रमाएका छन् । आचार्य इम्पोरियमले तयारी पोशाकको थोक बिक्री गर्छ । सानो पसलदेखि सुरु गरेको व्यापारिक यात्राले मध्य र सुदुरपश्चिमलाई नै ढपक्क ढाक्यो एक समय । यद्यपी उनको मन चञ्चल भएन । लगानीकै सिलसिलामा अन्य धेरै क्षेत्रमा लगानीका अवसर थिए । उनले अन्य व्यवसायमा लगानी गरेनन्, छोराछोरीलाई उच्च शिक्षामा लगानी बढाए । फलस्वरुप जेठी छोरी पूनमले एमडी, माइली छोरी प्रक्रियाले लन्डनमा एमपिएच, कान्छी छोरी आकृतिले एमबीबीएस गर्दैछन् भने सबैभन्दा कान्छो सन्तान छोरा क्षितिजले बिपिएच गर्दैछन् । छोराछोरीलाई आआफ्नो रुचिबमोजिम शिक्षा दिन उनी सफल भए । अब बरु उद्योगमा लगानीका अवसर छिचोल्दैछन् ।

 
धर्मपत्नी पार्वती जिल्ला प्रशासनमा जागिरे । व्यापारको विरासतका बारेमा उनलाई चिन्ता छैन । चिन्ता छ त केवल समृद्ध नेपालगन्जको, नेपाली राजनीतिको । राजनीति पनि एक कला हो । उनले त्यो कला नेपालगन्ज उद्योग वाणिज्य संघमा देखाए । उनी भन्छन्, ‘समावेशीको अवधारण अघि सारें ।’ जुन सुरुमा नौलो थियो, कालान्तरमा मिठो लाग्न थाल्यो समावेशी शब्द । नेपालगन्ज जस्तो जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको सहरमा समावेशी अवधारणाले सार्थक रुप धारण गर्न सफल भयो । उनी निर्वाचित भए । महानगर गाथामा खुलेर प्रस्तुत भएका आचार्यले भने, ‘उत्तराधिकारी पनि समावेशी चरित्रका तयार पारें ।’

 
प्युठानबाट बसाइ झरेका आचार्यको साम्राज्य नेपालगन्जीया व्यापारी व्यवसायीका माझ फैलिएको छ । उनी एक सतिसाल हुन् । इच्छाएको उम्मेदवारलाई विजयी गराउने सामथ्र्य राख्छन् । त्यसका लागि बिभिन्न सुत्र प्रयोग गर्न जानेका छन् । उद्योग वाणिज्य संघमार्फत देशकै नीति तथा प्रक्रिया सुधार्न गारो हुने ठानेर नै उनी प्रत्यक्ष राजनीतिमा होमिएका हुन् । जहाँ उनी संघीय तथा स्थानीय दुवै निर्वाचनमा पराजय व्यहोर्न पुगे । यद्यपी उनीसँग सोंच र योजनाका चाङ छन् । प्रदेश नं. ५ को राजधानीका सवालमा रोइलो गर्नेहरुसँग उनको विमति छ । भन्छन्– ‘राजधानी हैन, विकास चाहिएको छ ।’

 
विकासका अनेक आयाममध्ये बहुउद्देश्यीय सभाहल र प्रदर्शनी स्थल पनि एक हो । जुन उनले देखेको सपना हो । सपना फक्रन नपाउँदै ओइलाउने हो कि भन्ने चिन्ता छ उनलाई । नेपालगन्ज उद्योग वाणिज्य संघले यही उद्देश्यका लागि हरेक दुई बर्षमा मेला महोत्सव आयोजना गर्दछ । त्यसवापत संकलित रकम कोषमा थुप्रिदै गएको छ । तर, निर्माणका लागि एउटा ईंटा थप्ने सवालमा भने संघ चुकेको छ । कारण सरकारले आड भरोसा दिएको छैन । कुनै पनि दातृ निकायले साझेदारीको हात अघि बढाएका छैनन् । यद्यपी आचार्य भने आफुले बिभिन्न देशका दुतावास धाएको स्मरण गर्छन् । उनीहरु यसमा सकारात्मक भएको तर प्रक्रिया पुराउने सवालमा उतिबेला मातृ संस्थाले उचित समन्वय नगरिदिएको उनको आक्षेप छ ।

 
अहिले फेरि बहुउद्देश्यीय सभागृहको चर्चा चुलिएको छ । कारण एकातिर नेपालगन्ज उद्योग वाणिज्य संघ यही उद्देश्य राखेर प्रादेशिक महोत्सव सञ्चालन गरिरहेको छ, अर्कोतर्फ नेपाल सरकार नेपाल भारत सिमा नजिकै सभागृह निर्माण गर्न तत्पर देखिएको छ । नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले ग्रामीण क्षेत्रमा सभागृहको शिलान्यास पनि गरिसकेका छन् । शहरी विकास मन्त्रालयमार्फत ५० करोड बढी बजेट विनियोजन गरी काम अघि बढाउने बताउँदै आएका छन् । यस बिषयमा आचार्य मत फरक छ, दृष्टिकोण अलग छ । नेपाल सरकारले रोजेको स्थल सापेक्ष नहुनेमा उनी दृढ छन् । उनी भन्छन्, ‘त्यो सफल हुँदैन ।’ अब्राहम लिंकनले कतै भनेका छन् –‘तिमी छोटो समयका लागि जनताहरुलाई मुर्ख बनाउन सक्छौ, केहीलाई सधैंका लागि बनाउन सक्छौ, तर सबैलाई सधैंका लािग मुर्ख बनाउन सक्दैनौ ।’ नेपाल सरकारको निर्णय पनि यस्तै हुने त हैन ? आचार्यको शंका छ । बहुउद्देश्यीय सभागृह नेपालगन्जको आर्थिक, सामाजिक तथा पर्यटन प्रवद्र्धनका हिसाबले अग्रणी हुने उनी बताउँछन् । दर्जनौं तारे होटल निर्माण हुनुले देशका उच्च निकायको आँखा यतिबेला नेपालगन्जमा छ । आवासका हिसाबले सुुविधासम्पन्न होटल व्यवसाय फस्टाइरहँदा सभागृह निर्माणले अर्को आर्थिक र सामाजिक रुप लिनेमा उनी बिश्वस्त छन् । पर्यटन प्रवद्र्धन त हुने नै भयो ।

 
उनी नेपालगन्जलाई पर्यटकीय बेस क्याम्प बनाउनुपर्ने राय दिन्छन् । नेपालगन्ज लामो समय मध्य र सुदुरपश्चिमको केन्द्र थियो । एकहिसाबले नेपालगन्जले आधा नेपाललाई प्रशासनिक, आपूर्ति र यातायातको सेवा प्रदान गरेको हो । यसले पुराएको योगदानका कारण पनि नेपालगन्ज जहिल्यै आकर्षणको केन्द्रमै रहन्छ । अहिले पनि प्रदेश नं. ५, ६ र ७ को केन्द्रमा नेपालगन्ज रहेको उनको आफ्नै तर्क छ । ‘सडक सञ्जाल र विमानस्थलका कारण नेपालगन्ज मुटु हो ।’ उनी भन्छन् –‘राजधानीको मागभन्दा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनतर्फ लागौं, अन्य विकास निर्माणका काममा चासो बढाऔं ।’ आचार्यका विचारमा नेपालगन्जलाई आकर्षणको केन्द्रका रुपमा राखिरहने आधुनिक बहुउद्देश्यीय सभागृह पनि अर्को माध्यम हो । यद्यपी यो सभागृह पुर्वनिर्धारित स्थानमै निर्माण हुनुपर्नेमा उनको जोड छ । यसबाट हुने लाभ र नोक्सानीको पनि उनले क्यालकुलेटर चलाएका छन् । नेपाल सरकारले ग्रामीण क्षेत्रमा सभागृहको शिलान्यास गरेको छ । जहाँ पञ्चायती सरकारले तालिम तथा प्रशिक्षण केन्द्र निर्माण गरेको थियो । पञ्चायतको सायद ठुलै सपना थियो, त्यो सपना अन्ततः ढल्यो । त्यही ठाउँ पेरिफेरिमा बहुउद्देश्यीय सभागृह कत्तिको प्रयोगात्मक र उपयोगात्मक हुने हो ? आचार्यलाई शंका छ ।

 
‘जहाँका बासिन्दालाई व्यवस्थित कृषि उपज भण्डारण, कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र जस्ता कुरा आवश्यक छन्, त्यसमा ध्यान नदिई सभाहल बनाउन लागिएको छ । यो वैज्ञानिक भएन भन्ने मेरो बुझाइ हो ।’ उनी भन्छन् –‘त्यस ठाउँमा त शित भण्डारदेखि स्थानीय बासिन्दाको माग बमोजिमका विकास लैजानुपथ्र्यो, सभाहल त सुर्खेतरोडसँगै सटेको नेपालगन्ज उद्योग वाणिज्य संघकै भोगाधिकार पाएको जमिनमा हुनुपर्ने हो ।’

 
विमानस्थल, तारे होटल र स्थानीय जनघनत्वलाई मध्यनजर गरी निर्माण हुने सभागृह तथा प्रदर्शनी स्थल नेपालगन्जकै आकर्षण बढाउन ठुलो भुमिका खेल्न सक्छ । यो स्थल पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुर तथा अग्रणी पालिका खजुरालगायतको केन्द्रमा पर्दछ । आचार्यको भनाइ पनि यही हो ।

 
नेपालगन्ज वा बाँके जिल्लाको विकासले डोल्पा र दार्चुलासम्मको विकासलाई सम्बोधन गर्दछ । अध्ययन, अनुसन्धान र अभिलेखीकरणका सवालमा पनि त्यत्तिकै अब्बल रहेछन् आचार्य । तर्कशील क्षमता पनि त्यस्तै रहेको अनुभुति पनि भयो । परिस्थिति आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफुलाई मजबुत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ । किनकी संसारको नियम नै यस्तो छ कि जब हावा चल्छ त्यसले बल्ल तल्ल बल्दै गरेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जंगलको आगोलाई झनै दन्काइदिन्छ । अब यस्तै पालो आचार्यको, यस्तै अपेक्षा नेपालगन्जको, सभागृहको सपना सँगै आचार्यको सक्रियता !

प्रतिक्रिया

प्रतिक्रिया