राप्तीसोनारी गाउँपालिका कार्य सञ्चालन गर्न १२ बुँदे प्रतिवद्धता घोषणा

नेपालगन्ज, पुस १४

बाँकेको राप्तीसोनारी गाउँपालिकाको कार्य सञ्चालनका लागी विभिन्न १२ बुँदे महत्वपुर्ण प्रतिवद्धता घोषणा गरिएको छ । नेपालगन्जमा बिहीबार र शुक्रबार (दुई दिन सम्म) चलेको ‘स्थानीय सरकारः कार्य सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीले प्रतिवद्धता जनाउँदै तोकिएकै समयभित्र कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

 
घोषणा गरिएको प्रतिवद्धताहरुमा गाउँपालिका र वडापालिकामा मुस्कान सहितको सेवा प्रवाह गर्ने, गाउँपालिका र वडापालिकामा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गरी नेपालकै सुन्दर एवम् नमुना गाउँपालिकाको रुपमा विकास गर्ने, प्रत्येक वडामा बृक्षारोपन नदीनाला वन तथा वातावरण र ऐलानी जग्गाको संरक्षण तथा सम्र्वद्धन गर्ने रहेका छन् ।

 
यस्तै गाउँपालिकाभित्र रहेका बिद्यालयसँग समन्वय गरेर बिद्यालयमा नागरिक शिक्षा लागु गराउन पहल गर्ने, संविधान प्रदत्त महिला हकको व्यवस्थालाई पुर्ण रुपमा कार्यान्वयन गराउने, छाडा गाईबस्तु एकठाउँबाट अर्को ठाउँमा छाड्दा समस्या सिजना भएको देखिएकाले जिल्ला समन्वय समितिले समन्वय गरेर बैठक बोलाई समस्या समाधानका लागी समन्वय समितिलाई अनुरोध गर्ने प्रतिवद्धता पनि घोषणा गरिएको छ ।

 
त्यस्तै राप्तीसोनारी गाउँपालिकाले योजना तर्जुमा गर्दा जनसहभागिताबाट सुझाव संकलन गर्ने र त्यसका आधारमा प्राथमिकता निर्धारण गर्ने, यसरी प्राथमिकता निर्धारण गर्दा आर्थिक विकास, गरिवी, निवारण, छिटो प्रतिफल प्राप्त गर्ने योजनालाई प्राथमिकता राख्ने, साथै महिला, बालबालिका, पिछडिएका क्षेत्र समुदायलाई प्रत्यक्ष लाभ पु¥याउने खालका योजना कार्यान्वयन गर्ने रहेको छ ।

 
त्यसैगरी कानुनको अधिनमा आधार कारण खोलेर निर्णय गर्ने, एक महिनाभित्रमा राजपत्र प्रकाशित गर्ने, तीन महिनाभित्रमा प्रत्येक वडाको अभिलेख अध्यावधिक गर्ने, जनप्रतिनिधि तथा कर्मचारीको अधिकार प्रत्यायोजनलाई कानुन सम्मत गर्ने र अव्यवस्थित जग्गा प्लटिङ खण्डित गर्नमा रोक लगाउने प्रतिवद्धता घोषणा गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना, ईन्रुडेक तथा साझेदारी विकास परियोजनाको सहयोगमा सम्पन्न अभिमुखिकरण’ कार्यक्रममा संविधान एवम् कानुनविद् काशिराज दाहालले जनप्रतिनिधि तथा कर्मचारीलाई संघिय प्रणाली र स्थानीय सरकार, स्थानीय सरकारको प्रशासनिक र न्यायिक अधिकार, स्थानीय सरकार र आर्थिक कार्यप्रणाली, स्थानीय सरकारको योजना तर्जुमा र कार्यान्वयन, स्थानीय सरकार र कार्यसञ्चालन लगायत विषयमा सहजिकरण गर्नु भएको थियो ।

 
नेपालगन्जमा शुक्रबार अभिमुखिकरण कार्यक्रम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कानुनविद् दाहालले जनप्रतिनिधिको काँधमा ठुलो जिम्मेवारी आएको बताउँदै पुरा गर्न हृदयमा ईमान्दारिता हुनुपर्ने बताउनु भयो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले स्थानीय सरकार सञ्चालनका लागी भएका कानुनी व्यवस्थालाई पुर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘आफ्नो ठाउँको विकास हामी आफैले गर्ने हो, त्यसकारण हामी जिम्मेवार हुनेछौं र व्यवहारमा लागु गराउन प्रतिवद्ध हुनेछौं ।’ गाउँपालिका उपाध्यक्ष धनिकुमारी खत्रीले आफुहरुले गर्ने काम, कानुन सम्मत हुने प्रतिवद्धता जनाउँदै भन्नुभयो, ‘यस अभिमुखिकरणबाट हामीले धेरै कुरा सिकेका छौं, यसलाई व्यवहारमा लागु गर्ने ठुलो जिम्मेवारी काँधमा आएको छ ।’

 
सहभागिका तर्फबाट बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्वर ७ का वडाअध्यक्ष रामलखन थारुले अभिमुखिकरण पश्चात आफुहरुको काम, कर्तव्य र अधिकारबारे प्रष्ट भएको बताउनुभयो । ‘सिकेका कुरालाई व्यवहारमा लागु गरी जनतालाई सुलभ र गुणस्तरिय सेवा प्रदान गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ,’ उहाँले भन्नुभयो । राप्तीसोनारी गाउँपालिका वडा नम्वर ५ की महिला सदस्य धनी ओलीले जनप्रतिनिधिका रुपमा आफु निर्वाचित काम, कर्तव्य र अधिकारबारे अन्यौलता छाईरहेका बेला यस्तो प्रशिक्षणबाट उपलब्धी मिलेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया