सुरु भए, खजुराका सपना

बाँकेको खजुरा गाउँपालिकाको पहिलो गाउँसभा शुरु भएको छ । केन्द्रिय संसदको झल्को आउने गरी बनाइएको सभामा अध्यक्ष किस्मत कुमार कक्षपतीले आर्थिक बर्ष २०७४ । ०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष एकमाया विक मन्चको मध्य भागमा रहेको कुर्सीमा बसेर सभामुखको भूमिका निर्वाह गरिरहेकि थिइन ।

 

 

प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई पारित गर्न हुन्छ भन्ने सभासद्हरुको संख्या धेरै देखिएकोले यो नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्दछु भनेर उनले पारित भएको घोषणा गरेकि थिइन् ।
जिल्ला समन्वय समितका संयोजक अजय मिश्रा, माओवादी केन्द्रका नेता आइपी खरेल, एमाले जिल्ला सचिव रत्न खत्री, कृषि विकास बैंक खजुराका प्रमुख, ज्ञानोदय माविका प्रअ ऋषिराम सापकोटा, आदर्श माविका प्रअ राजेन्द्र सापकोटा लगायतका अतिथिहरु दर्शक दिर्घामा रहेका बेला स्थानीयहरु टिप्पणी गरिरहेका थिए, साँच्चै संसद चलिरहेको छ ।

 
आगामी ५ वर्षमा नमूना गाउँपालिका बनाउने लक्ष्य लिएर चुनाव जितेका अध्यक्ष किस्मत कुमार कक्षपतीले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी २ बर्षमा गाउँपालिकालाई साक्षर बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले अगाढि भने, यस ऐतिहासिक गाउँसभा मार्फत खोक्रा आश्वासनले हैन, योजनासम्मत विकास दृष्टिकोणले जनताको मुहारमा हाँसो ल्याउने कुरामा विश्वस्त रहदै खजुरा गाउँपालिकालाई नेपाल कै नमूना, सुविधायुक्त, व्यवस्थित र सम्वृद्ध बनाउने दृढ लक्ष्य लिईएको छ ।

 

 
१२ बुँदे मुलनीति सहितको नीति तथा कार्यक्रममा गाउँपालिकाको दिर्घकालीन योजना बनाउने, समाबेशी र सहभागीतामूलक योजना तर्जुमा पद्धती अवलम्बन गर्ने, स्थानीय श्रोत साधनको पहिचान र अधिकतम उपयोग गर्ने, रोजगारीको अधिकतम अवसर सिर्जना गरी ग्रामिण जनताको गरिवी न्यूनीकरण गर्ने, योजना कार्यान्वयनमा जनताको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने लगायत रहेको छ ।

 

 
गाउँसभाल योजना तर्जुमा र कार्यान्वयनमा अधिकतम जनताको सहभागीता गराउने नीति लिने भएको छ । यसैगरी सम्पन्न भएका योजनाहरुको सामाजिक परिक्षण, सार्वजनिक सुनुवाइ गरेर मात्र भुक्तानी गर्ने छ । इ–गर्भनेन्स अवधारणा बमोजिम कार्यालयको कामलाई कम्प्यूटराइज्ड प्रणालीमा आवद्ध गरिने छ । साथै कार्यालयको काममा कम्प्यूटरको प्रयोगमा जोड दिने नीति लिने बताइएको छ ।

 

 
गाउँपालिकाको यथार्थ अवस्था झल्कने प्रोफाइल  निर्माण गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी सबै किसिमका लगतहरुलाई अद्यावधिक र्ने र व्यक्तिगत घटना दर्तालाई कम्इयूटराइज्ड प्रणालीमा आवद गर्ने भएको हो ।

 
सहभागीतामुलक योजना तर्जुमा प्रकृयाको माध्यामबाट योजनाहरुको छनौट गरी प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने नीति लिइनेछ । गाउँपालिकाका सबै बस्ती तथा चोकहरुमा सौर्य बत्ती जडान कार्यलाई शुरु गरिने छ ।
स्वास्थ्य संस्थाहरुमा २४ सै घण्टा सूचारु राख्ने नीति लिइएको छ । यसै बर्षबाट स्वास्थ्य विमाका लागि पहल गरिने भएको हो । खजुरा क्यान्सर अस्पतालको सेवा छिटो सूचारु गर्ने र खजुरा गाउँपालिकाका जनतालाई क्यानसर उपचार सेवा निशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गर्भवती महिलाहरुको स्वास्थ्य जाँचमा सेवा उपलब्ध गराउने र ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाका लागि गाउँगाउँमा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

 
राजस्व तथा करका दरहरुलाई समसायिक र दायरालाई फराकिलो बनाइ सबैलाई करको दायरामा समेटने नीति लिइने नीति लिइएको छ । सबै करदाताहरुको विवरणलाई डिजिटलाइज्ड गरी अद्यावधिक गरिने छ । सबैभन्दा बढी कर तिर्ने करदाताहरुलाई प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

 
महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिबासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिका लागि वजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयन गर्ने नीति लिइनेछ ।महिलाहरुका लागि स्वरोजगार तथा आयमुलक तालिम संचालन गरी व्यवसाय संचालनका लागि विउपूजी उपलब्ध गराउने नीति लिइनेछ । बालक्लवहरु गठन गरी तीनको भुमिका लाई प्रभावकारी बनाउने नीति लिइनेछ । ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई प्रोत्साहन स्वरुप बार्षिक निश्चित रकम थप गर्ने व्यवस्था मिलाइनेछ । खजुरा गाउँपालिकालाई बाल विवाह निषेधित क्षेत्र घोषणा गरि बाल विवाहमा पुर्ण बन्देज लगाउने नीति बनाइ कार्यान्वयन गरिने समेत नीतिमा उल्लेख गरिएको छ ।

 
विपद् जोखिम नक्सांकन गरि यसैका आधारमा विपद् जोखिम न्यूनिकरण योजना निर्माण गरिने, विपद् तथा जोखिममा परेकाको तत्काल राहत र उद्दार गर्नका लागि विपद् राहत तथा उद्दार कोषको स्थापना गरिने भएको हो ।
प्लाष्टिक मुक्त खजुरा अभियान संचालन गरिने छ । आगामी ५ वर्षमा प्लाष्टिक रहित खजुरा कार्यान्वयन गर्ने गरी कार्ययोजना निर्माण गरिने छ । ताल तलैया, खोला नालामा विष, विद्युतीय यन्त्र प्रयोग गरी माछा मार्न पुर्णत प्रतिवन्ध लगाइने छ ।

 

 
गाउँपालिकाको भौगोलिक नक्सांकन गरी भू उपयोग नीति निर्माण गरिने छ । साथै खेतीयोग्य जमिन बाझो राख्न नपाइने नीति लिइनेछ । कृषिमा आधुनिकीकरण र व्यावसायिकरणका लागि कृषकहरुलाई प्रोत्साहन गरिनेछ । मल, विउ, विद्युत महशुलमा अनुदानको व्यवस्था गरिने नीति लिइने कार्यक्रम तय गरिएको छ ।
सहकारीको प्रबद्र्धनबाट वस्तु र सेवाको उत्पादन, वितरण र बजारीकरणलाई व्यवस्थित गरिने छ । टोलटोलमा सहकारी, घरघरमा रोजगारी नारालाई अवलम्वन गरिने छ ।गाउँपालिकामा दर्ता हुने घरेलु तथा मझौला उद्योगहरुको दर्ता प्रक्रियालाई सरलीकृत गर्दै व्यवसायी अनुकुल वातावरण निर्माण गरिने छ ।

 

 
खजुरा गाँउपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने गरी शिक्षा क्षेत्रमा बजेट परिचालन गर्ने नीति लिइनेछ । साक्षर खजुरा अभियान अन्तर्गत आगामी दुई वर्ष भित्र खजुरा गाउँपालिकालाई पूर्ण रुपमा साक्षर बनाइने छ । िवद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था मिलाइनेछ । स्वयंसेवक शिक्षकहरुलाई विद्यालयहरुमा परिचालित गरिने छ । सामाजिक संघसंस्थाहरुले विद्यालयमा अध्यापन गराउनका लागि विदेशी स्वयंसेवकहरुलाई ल्याउने प्रयासलाई प्रोत्साहित गरिने छ ।

 
सेतु विक स्मृति गाउँपालिका स्तरिय रनिंग शिल्ड प्रतियोगिताको आयोजना गर्ने नीति लिइनेछ । खेलकुदको विकासको लागि सबै विद्यालयहरुलाई खेलकुदका सामाग्रीहरु प्रदान गर्ने नीति लिइनेछ । सबै विद्यालय, वडा तथा समग्र गाउँपालिकाको विद्यालय क्षेत्र विकास कार्यक्रम बनाइ लागु गरिने छ । शैक्षिक पात्रोको निर्माण गरि कार्यान्वयन गरिने छ । शिक्षा क्षेत्रमा काम गर्ने संघ संस्था तथा दातृ निकायहरुको सहयोगलाई विद्यालय क्षेत्र विकास कार्यक्रम अनुसार बास्केट फन्ड बनाई परिचालन गर्ने व्यवस्था मिलाइने छ । राष्टिय स्तरका खेलहरु आयोजना गर्न सकिने क्षमताका कभर्ड हलसहितको खेल मैदान सहित अन्य खेलमैदानको निर्माण र स्तरउन्नती गर्ने नीति लिइनेछ । खजुरा गाउँपालिकाका सबै खेलकुद क्लबहरुको क्षमता अभिवृद्धिका लागि खेल सामाग्री सहितको सहयोग उपलब्ध गराइने छ ।

 

 
न्यायिक समिति मार्फत छिटो छरितो र सबैको पहुँचमा पुग्ने गरी न्याय दिनका लागि आवश्यक श्रोत र साधनको व्यवस्था गरिने छ । गाउँपालिकाको आफ्नो सेवा प्रवाह र विस्तारका लागि आवश्यक पर्ने कानून, ऐन, नियमावली, कार्यविधि, मापदण्ड, निर्देशिका तयार गरी लागु गरिने छ । गाउँपालिका भित्र आवश्यकता अनुसार प्रहरी चौकी स्थापना गर्नुका साथै गाउँपालिकाका सबै प्रहरी चौकिको भौतिक सुविधा सम्पन्न गर्दै स्तरोन्नतीको पहल लगायतको नीतिहरु प्रस्तुत गरिएको थियो ।

 

 
यसका लागि करिब ५३ करोड रुपैंयाको बजेट रहेको अध्यक्ष किस्मत कुमार कक्षपतिले बताएका छन् ।
गाउँसभामा अब विषयगत समितिहरुको बैठक बस्ने र ति बैठकहरुमा नीति तथा कार्यक्रममा दफावार छलफल भइ बजेट विनियोजन गरिने बताइएको छ ।
उपाध्यक्ष एकमाया विकले आगामी भदौ २ गते गाउँ सभाको दोश्रो बैठक बस्ने नेपालगन्जन्यूजलाई बताइन् ।

जानकीमा पनि गाउसभा
जानकी गाउपालिकाको प्रथम गाउसभा मंगलबार गाउ“पालिका प्रमुख राम निवास यादवले शुभारम्भ गरे ।
गाउसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख, पत्रकार, नागरिक समाजका प्रतिनिधि समेतको उपस्थितिमा प्रथम गाउसभाको शुभारम्भ गरिएको हो ।

 

‘प्रस्तावित नीति तथा कार्यक्रमहरुको व्यापक छलफल पछि पारित गरिनेछ’, गाउपालिका प्रमुख यादवले दैनिक नेपालगन्जसग भने, ‘त्यसका लागि बुधबारदेखि नै बन्द सत्र सञ्चालन गरिनेछ ।’ जिल्लाका छिमेकी गाउपालिकाहरुमा बाढी र बर्षात्को कहर भएकाले त्यसमा सहयोग पुर्याउने सहमति जुटाइएको प्रमुख यादवले जानकारी दिए ।
‘छिमेकमा दुःखको अवस्था भएकाले गाउसभाको उद्घाटनलाई धेरै तामझाम गरिएन’, यादवले नीति तथा कार्यक्रम, कर नीतिको पुनरावलोकन, गाउपालिका भित्र सम्भावित स्रोतको खोजी लगायतका विषयमा बन्द सत्रले गम्भीरतापूर्वक छलफल गर्ने जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया