नेपालगन्जका रहमान, जस्ले देउवाको ताला खोले

नेपालगन्जन्यूज । नेपालगन्जको एक मात्र ताला चावी बनाउने पसल हो रहमान खानको पसल । सदरलाइनको एकलैनी जाने मोडको ठिक सामुन्नेमा भट्टी टोल जाने मोडमा उनको पसल रहेको छ ।
वुवा उवेदउल्ला खानले शुरु गरेको पसलले तीन पुस्ता पाएको छ । ५२ वर्षिय रहमान अहिले सक्रिय छन् पसलमा ।
उनलाई फुर्सदमा सहयोग गरिरहेका छन् छोरा शम्शेर खानले । विविएसमा अध्ययनरत शम्शेर भन्छन्, यो चावि बनाउने कला सिकिरहेको छु । बुवा धेरै जान्नुहुन्छ ।
‘फुटपाथबाट शुरु गरेको दुकान विगत ३५ वर्ष देखि सटरमा छ ।’ रहमान भन्छन् । रहमानका बाजेको घर र जमीन थियो खजुरा भण्डारियामा । उनका बुवा उवेदउल्ला सानैमा जागिरका लागि भारत गए । भारतमा उवेदउल्लाले गोदरेज कम्पनीमा काम गरे । कम्पनीमा सिकेको सीपलाई उनले नेपालगन्जमा आजमाउन शुरु गरे बागेश्वरी मन्दिर नजिकै फुटपाथमा पसल थापेर ।
फुच्चे रहमान बुवासंग फुटपाथमा काम सिक्दै साँचो बनाउन सिपालु भए ।
‘बुवाले त्यसबेला घरको साँचोहरु बनाउने गर्नुहुन्थ्यो । मैले सबै प्रकारका साँचोहरु बनाउँछु ।’ नेपालगन्जन्यूजसंग गफिदै उनले भने, ‘मोटरसाइकल, स्कुटर, फोरहवीलर गाडिहरुका साँचो बनाउन सक्छु । यति मात्र हैन व्रिफकेस र बैंक सहकारीहरुको तिजोरी पनि बनाएको छु ।’
एक पटक प्रधानमन्त्री शेर बहादुर देउवा नेपालगन्जमा आउँदा उनको व्रिफकेशको साँचो हराएछ । भोली विहान नै उनलाई कार्यक्रममा जानु पर्ने भारतीय राजदुत केभी राजनसंगै । लगाउने लुगा सबै व्रिफकेसमा । रहमानले राती ११ वजे होटल स्नेहामा पुगेर देउवाको व्रिफकेसको साँचो खोलीदिए । उनी सम्झन्छन्, ‘त्यसबेला देउवा सारै तनावमा हुनुहुन्थ्यो ।’
रहमानलाई नेपालगन्ज बाहिरबाट समेत बोलावट आइरहन्छ, प्राय तिजोरीका साँचो बनाउन । उनी साँचो बनाउनका लागि विरगन्ज, जनकपुर सम्म पुगेको बताउँछन् । ‘चोरले साँचो तोड्छ, हामी चाहि बनाउँछौं ।’
शम्शेर भन्छन्, कहिले काँहि प्रहरीले पनि अनुसन्धानका सिलसिलामा ताला खोल्नु परेमा हामीसंग सम्पर्क गर्छ ।
नाती शम्शेरका अनुसार, उनको पसलमा दैनिक १० वटा मोटरसाइकल÷स्कुटरहरु र महिनाको करिब १० फोरह्वीलरहरु साँचो बनाउन कै लागि आउँछन् ।
साँचो बनाउने व्यवसायबाट ३ छोरा र २ छोरी सहितको परिवारलाई हुर्काएका रहमानले अब साँचोको व्यापार बढाउने बताउँछन् । ‘साँचो सम्बन्धि सबैखाले कामहरु गर्न काराकादो चोकमा आधुनिक पसल खोल्दैछु ।’ पसल छोराहरुले चलाउँछन् । नेपालगन्जन्यूजसंग रहमान खानले भने ।

प्रतिक्रिया

प्रतिक्रिया