रुपा गहतराज/नेपालगन्जन्यूज
बाँके खजुरा गाउँपालिकामा एमालेबाट उम्मेदवार एकमाया विकलाई सोमबार दिउसो खजुरामा भेट्न जाँदा उनलाई सर्बसाधारणले बधाई दिंदै थिए । कोही हात मिलाउँदै त कोही संग अंकमाल गर्दै त्यहाँका सर्बसाधारण संग भेट्दै थिइन् एकमाया ।
अति व्यस्त, एक महिनाको चुनावी प्रचारप्रसारले पनि उनको अनुहारमा मंगलवार सम्म पनि कुनै थकान देखिएको थिएन । बिहान देखि साँझ अबेरसम्म उनी एक महिना सम्म घरदैलो ब्यस्त रहिन् । जसको परिणाम बुधबार निस्कियो । उनको हातमा बिजय प्राप्त भयो । ‘यो एक महिनाको प्रतिफल चाहिं होइन,’ मुस्कुराउँदै एकमायाले
भनिन् । हुन पनि एकमाया सजिलै नेता भएकी होइनन् ।
एकमायाका पति प्रहरी सेवामा थिए । सशस्त्र द्वन्द्वका क्रममा उनका पति भिडन्तमा मारिए । खजुरा गाउँ वरपर राज्य र विद्रोही माओवादीबाट पीडित महिलाहरू प्रशस्तै देखेपछि उनले संगठित गर्ने योजना बुनिन् । उनीहरुका लागि आय आर्जनको बाटो खोजिन् । ‘धेरै संघर्ष गरेर यहाँसम्म आएकी हँुं,’ उनले भावुक हुँदै दैनिक नेपालगन्ज सँग भनिन ‘मैले जित्दा म मात्रै होइन, सबै द्वन्द्वपीडित एकल महिलाको जीतका रुपमा लिएकी छु ।’
१० वर्षे सशस्त्र द्वन्द्वका थुप्रै पीडितले धेरैसम्म आफ्ना दुःख–व्यथा लुकाएर बसे । त्यो बेला पीडितले न्यायका लागि आवाज उठाउनु पनि ठूलै आँट मानिन्थ्यो । ‘रुँदै कराउँदै संगठित भएर अहिलेको स्थितिसम्म आएका छौं,’ एकमायाले भनिन्,‘यत्तिले मात्र मेरो मात्र होइन, द्वन्द्व प्रभावित समुदायको मनोबल बढाएको छ ।’ उनले बाँकेमा पहिलोपल्ट राज्य र विद्रोही माओवादीबाट पीडित एकल महिलालाई एकै ठाउँ ल्याउने अभियान सुरु गरेकी थिइन् ।
प्रेम विवाह दश बर्षको अवधीमा सकिंदा कम पीडामा थिइनन् एकमाया । तर शोकलाई शक्तिमा परिणत गर्दै उनले आफ्नो यात्रा अघि बढाउदै गरिन् । बिगतलाई सम्झँदा भाबुक बन्ने गरेकी एकमायाले भनिन्, ‘पहिले छोरीहरुका लागि बाँचे, पछि सिंगो समुदायका लागि लडें ।’
एकल महिलाको सवालमा हरेक कार्यक्रममा आवाज उठाउदै आएकी एकमाया द्वन्द्व पीडित एकल महिला सञ्जालमा सचिव, उपाध्यक्ष हँुदै अहिले अध्यक्ष छन् । सामाजिक अभियानले जब एकल महिलाका मुद्दा समाधान भएनन्, उनलाई लाग्यो राजनीतिनै समाधानको मुल आधार हो । ‘अनि पार्टीमा लाग्ने निर्णयमा पुगें,’ एकमायाले त्यसका लागि नेकपा एमालेनै उपयुक्त लागेको बताउँदै भनिन् ।
सामाजिक अभियानबाट राजनीतिमा होमिएकी एकमाया २०५९ सालमा अनेमसंघको चौथो सम्मेलनबाट जिल्ला सदस्य हुँदै२०६० सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भइन् । पार्टीका बिभिन्न बिभागमा रहेर काम
गरिन् । राजनीतिमा पनि कम हण्डर खानु परेन । संविधानसभाको निर्वाचनमा समानुपातिकमा उनको नाम चर्चा भयो । अवसर नपाएपनि उनीमा कत्ति विचलन आएन । एकमायाले भनिन्, ‘राजनीतिमा धैर्यता राख्नुपर्छ, क्षमताको मुल्यांकन पक्कै हुन्छ ।’ त्यही धैर्यताले उनलाई चुनौतीलाई पार गर्ने साहस जुटाएको छ । एकल भएर
बाँच्नु कम चुनौतीपूर्ण थिएन । ‘महिलालाई सधैं परीक्षा दिइरहनु पर्ने ?’ आक्रोशपूर्ण स्वरमा एकमायाको पीडा बोल्यो, ‘चरित्रमाथि को प्रश्न सधै लाग्थ्यो ।’ तर, उनको खुट्टा कहिले कमजोर बनेन । उनी भन्छिन्, ‘अहिले त लाग्छ ति सबै भोगाइले मुटु त चट्टान नै भएको छ ।’ यसबाट झल्कन्छ, उनले जीवनमा हरेश कहिले खाइनन् । पढने अधुरो सपना पुरा गर्न उनले छोरीकै स्कुलबाट २०६६ सालमा एसएलसी दिइन् । जहाँबाट उनकी जेठी छोरीले एसएलसी दिएकी थिइन् ।
‘छोरीलाई समय दिन नसकेकोमा कहिलेकाही नमजा लाग्छ,’ दुइ छोरीकी आमा एकमायाले छोरीहरुका लागि कहिले समय दिन नसकेको ठान्छिन् । हुनपनि जब उनी घर पुग्थिन् छोरीहरु निदाएका हुन्थे । ‘जब बिहान घरबाट निस्कन्थें छोरीहरु निद्रामा हुन्छन्’, उनले भनिन्, ‘रातीमा ३ घण्टामा निन्द्रा घरका कामहरु पुरा गर्थें ।’ यतिबेला एकमायाका छोरी उच्च शिक्षा हासिल गर्दैछन् । कान्छी छोरी त प्रचारमा सहयोग गरेर एक महिना पछि काठमाडांै फर्किसकेकी छन् । ठुली छोरी बिएन दोस्रो तहमा अध्ययन गर्दै छिन् । ‘निकै दुःखले दुई छोरीको लालनपालन गरेकी छु,’ बाबुको समेत दायित्व पुरा गरिरहेकी आमाको माया बोल्छ, ‘उनीहरुको भविष्य प्रति सधैं चिन्ता लाग्छ ।’
आफ्नो समय र उर्जा एकल महिला र सामाजिक अभियानमा लगानी गरेकी एकमायाले त्यो क्रियाशीलताले आफ्ना पीडालाई समेत भुल्ने मौका पाइन् । जब उनी एकल महिलाका मुद्दा लिएर प्रहरी प्रशासन पुग्थिन् उनलाई लाग्थ्यो, यसको समाधान राजनीतिले दिनसक्छ । मिलनसार स्वभावकी एकमाया व्यावहारिक छन् । जसका कारण उनी खजुराका मान्छेको मुटुमा बस्छिन् । वृद्ध देखि युवा महिला उनको स्वभावका कारण नै उनलाई मत दिएको
बताउँछन । उनी भन्छिन् ‘अब मैले उनीहरुको मुटुमा चोट पुर्याउनुहुन्न ।’