नेपालगन्जन्यूज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि ५ प्रमुख दल विच प्रतिस्पर्धा रहेको छ । पछिल्लो मतगणना अनुसार, कुनै पनि दलले २ हजार मत कटाउन सकेका छैनन् । प्रतिस्पर्धा एकदमै कर्रा छ । को जित्छ भन्ने भनेर भन्न सकिने अवस्था छैन । मतगणना सुन्न बाहिर बसिरहेका राजनीतिक दलका कार्यकर्ताहरु बताउँछन् ।
जानकीका निर्वाचन अधिकृत ऋषिराम केसीका अनुसार, अहिलेसम्म अध्यक्षमा माओवादी केन्द्रका रक्षाराम कुर्मीको १७३२, एमालेका राम निवास यादवको १५९१, संघिय समाजवादी फोरमका नन्दकिशोर बर्माको १५८२, कांग्रेसका छब्बन खाँको १५३२ र राप्रपाका श्याम थापाको १२५६ मत रहेको छ ।
यसैगरी उपाध्यक्षमा एमालेका भुमिसरा धितालले १८७४, माओवादी केन्द्र पुष्पा खटिकले १५०९, संघिय समाजवादीका सुन्दरी त्रिपाठिले १४९६, कांग्रेसका रामप्यारी यादवले १३३० र राप्रपाका तारावती कुर्मीले १२५५ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत केसीका अनुसार, अहिलेसम्म वडा नं.१मा संघिय फोरम, २ मा माओवादी केन्द्र र ४ मा एमालेले वडा अध्यक्षमा विजय हासिल गरिसकेको छ भने ३ को अन्तिम परिणाम आउने तयारी रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकासंग सीमाना जोडिएको जानकी गाउँपालिकामा साविकका साईगाउँ, बेलभार, इन्द्रपुर, खजुरा खुर्द, बेलहरि र गनापुर गाविसलाई समेटिएको हो ।
कुल मतदाता १८०७८ रहेको जानकीमा १४९६४ मत खसेको थियो । यसैगरी अहिले वडा नं.५ को मतगणना भइरहेको छ । मतगणनामा संलग्न अधिकारीका अनुसार, मतगणना जारी रहेको वडा नं.५ मा करिब २४०० मत खसेको छ । यसैगरी वडा नं. ६ मा २२०० मत गणना गर्नुपर्नेछ ।
अहिले सम्मको ट्रेन्डलाई हेर्दा मतगणना हुन बाँकि करिब ४६०० मत पनि यिनै प्रमुख ५ दलहरुमा बाँडिने सम्भावना रहेको बताइन्छ ।
३ हजार ५ सय भन्दा कम मतमा नै जीतहार हुने सम्भावना रहेको छ ।
मतपरिणाम सुन्न उत्साहित रहेका मतदाताहरु झुण्ड झुण्डमा क्षेत्रिय कृषि तालिम केन्द्र खजुरा अगाढि रहेका छन् । सबैको तर्क छ, परिणाम आओस् त जानकीको जस्तो । किनकी यहाँ एउटा थ्रिलर फिल्ममा हुने सबै किसिमका रोमान्च छ ।
झुन्डमा गफिरहेका आफुलाई वडा नं.२ को बासिन्दा बताउने एक नौजवानले हामीसंग भने, मतदाताहरुले सबैलाई मत दिएका छन् । जीत्नेले नहौसिनु र हार्नेले निराश नहुनु भन्ने सन्देश हो मतदाताहरुको ।
निर्वाचन अधिकृत केसिका अनुसार सोमबार अबेर रातीसम्ममा सम्पुर्ण मतपरिणाम सार्वजनिक हुनसक्नेछ ।