किरण ढकाल / नेपालगन्जन्यूज
नेपालगन्ज उप महानगरपालिका वडा नं.१ का नवनिर्वाचित वडा अध्यक्ष प्रमोद रिजाललाई भ्याइनभ्याइ छ फोन
उठाउन । हामी उनको घरमा पुग्दा अनुहार भरि अविरले रंगिएका उनी फोनमा बधाइ थापिरहेका थिए । भन्दै थिए, धन्यवाद । तपाईको तिर आउने कार्यक्रम छ । सायद कसैको बधाइको रिप्लाइ गर्दै थिए उनी ।
प्रमोद रिजालले नेपालगन्जको मुटु मानिने वडा नं.१ बाट वडा अध्यक्षमा विजय हासिल गरे । विहानै जसै उनको विजयको खबर फैलियो । नेपालगन्ज उपमहानगरपालिकाको मतगणना भइरहेको भेरी प्राविधिक शिक्षालयको बाहिर धम्बोझिका मतदाताहरुको भिड लाग्यो । आधिकारीक घोषणा हुन लगभग २ घण्टा बेशी समय लाग्यो ।
उनका साथीहरुले व्याण्ड बाजा बन्दोबस्त गरिसकेका थिए । व्यान्डबाजाको धुनसंगै विजयी जुलूस धम्बोझि गाउँ भित्रियो उनको घर हुदै ।
आर्शिवचन दिन घरघरबाट प्रौढहरु निस्किरहेका थिए । उनको विजय यात्रामा सबै धम्बोझिबासीको उत्तिकै खुसि थियो । उत्साह थियो । सबैले शुभकामना दिइरहेका थिए । मव क्याम्पसमा लामो समय प्राध्यापन गरिरहनुभएका धम्बोझिका अग्रज बखत बहादुर मल्लले जब नेपाली ढाका टोपी पहिराउनुभयो । उहाँ र उहाँ जस्ता सबै प्रौढहरुको सम्मान गर्नु मेरो पहिलो प्राथमिकता हो, उनले हामीसंग भने ।
विहानै आफ्नो फेसबुक अकाउन्टबाट सबै मतदाताहरुलाई हार्दिक नमन गर्दै कृतज्ञता ज्ञापन गरेको स्टाटस अपडेट गरेका उनले कोण सभामा त्यहि दोहराए । ढाका टोपी र खादा अनि अनुहार भरि अविरले पोतिएका उनले सबैलाई धन्यबाद दिए र भने मलाई गर्नुभएको विश्वासमा खरो उत्रन्छु ।
धम्बोझिमा उनी खास हुन् । उनको वडामा जम्मा मत २ हजार ४ सय ५७ मत खस्यो । सदर मत २१५७ । प्यानल मत जम्मा करिब २ सय ७० मात्र रहेको थियो । उनले ८ सय १७ मत ल्याएर चुनाव जिते । प्रतिद्धन्द्धि भन्दा ३ सय १ मत अगाढि । अर्थात प्रत्येक ४० प्रतिशत मत ल्याएर विजयी भए । यसभन्दा अगाढि हामीसंगको कुराकानीमा उनले भनेका थिए, मुटु स्वस्थ बनाउने हो । म नेपालगन्जको मुटुलाई स्वस्थ बनाउँछु ।
अब के गर्ने ? तत्काल त मतपरिणाम कुर्ने हो । अर्को सातासम्ममा मतगणना सकिन्छ । कार्यभार त्यसपछि सम्हाल्ने हो । अनि काममा जुट्ने उनले नेपालगन्जन्यूजसंग भने । ‘आगामी १ सातामा म वडा नं.१ का सबै मतदाताहरुको घरघरमा पुग्छु । उहाँहरुलाई बधाई दिन्छु । र अब के गर्ने भनेर उहाँहरुसंग छलफल चलाउँछु ।’
गैससमा काम गरेको अनुभवका आधारमा उनी भन्छन्, कन्टेक्स्ट म्यापिंगका लागि हो मेरो घरदैलो ।
ताकि कार्यभार सम्हालेको एक साता भित्र नै विस्तृत कार्ययोजना बनाउन सकौं ।
उनी थप्छन्, मतदाता रिजल्ट ओरियन्टेड छन् । मैले घोषणा गरेको ४६ बुँदे प्रतिवद्धता अनुरुपको कार्ययोजना बनाइहाल्नुपर्ने छ ।
धम्बोझिले एउटा युवालाई पत्याएको छ । अर्थात अब सिंगो वडा नं. १ ले युवा जोश र जाँगरको साथ पाएको छ भन्छन् विजयी र्यालीका युवाहरु ।
हुनपनि के प्रौढ, के युवा सबैको मुखमा हाइहाइ प्रमोदको नारा गुन्जायमान थियो । उनले नेपालगन्जन्यूजसंग भने, काम गरिएन भने बाइबाइ प्रमोद पनि यिनै मतदाताहरुले भन्ने हुन् । त्यसैले काम गर्नु त्यो पनि सक्रियतापुर्वक र योजनामुलक ढंगले । मेरो ध्याउन्न त्यतै छ ।
प्रमोद आफ्नो विजयले जिम्मेवारी बदलिएको भन्छन् । हिजो सम्म वडाको विकासमा लाग्ने अभियन्ता मात्र थिए, अब कार्यकारी पनि भए ।
उनको सक्रियतापुर्वक गर्ने कामको सूचना प्रवाह गर्ने मौका मिलोस् भन्दै हामी बाहिरिदै गर्दा उनको मोबाइलको घण्टि बजिरहेको थियो र उनी दोहराउदै थिए धन्यबाद तपाईलाइ पनि बधाइ छ ।